Friday, November 8, 2024

पत्रपत्रिकामा आज : काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग, पाइप फुट्दा सडक जीर्ण

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा पाइप फुट्दा सडक जीर्ण शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । गौशाला–चाबहिल खण्डमा बीच सडकमै भल बग्ने गरेको छ। वर्ष दिन नपुग्दै पिच उप्केर सडक उस्तै भइसकेको छ।

तिहार लागिसक्यो तर पनि राजधानीका सडक बर्खामा झैं हिलाम्मे छन् । बीच सडकमै पानी निस्कँदा सवारी चालक र यात्रुले सास्ती व्यर्होनुपरेको छ।

पिच गरेको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी बढेका छन्। पिच उप्किएको छ। सबभन्दा बढी समस्या गौशाला–चाबहिल खण्डमा छ। जयवागेश्वरी, मित्रपार्क र चाबहिलको मुख्य सडकमा भल बग्ने गरेको छ।

गौशाला ट्राफिक वृत्तका प्रमुख प्रहरी निरीक्षक सुनीलजंग शाह पानीले आवतजावत प्रभावित भएको बताउँछन् । ‘कतै मेलम्चीको पानी परीक्षण गर्दा त कतै पुराना पाइप फुटेर समस्या भएको हो,’ उनले भने, ‘पानी निस्किएको ठाउँमा खाल्डाखुल्डी बढी छन्, त्यस्तो ठाउँमा गाडीको गति घट्छ, जसले गर्दा जाम हुने गरेको छ ।’

उनका अनुसार यस्तो समस्या निम्तिएको दुई साताभन्दा बढी भयो। ‘पानी निस्किएको ठाउँमा खाल्डाखुल्डी बढी भएकाले दुर्घटनाको खतरा हुन्छ,’ शाहले भने, ‘सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं, समाधान भइसकेको छैन।’

यो खण्ड भएर दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्छन्। पशुपति मन्दिर पुग्ने धार्मिक पर्यटकले प्राय यही सडक प्रयोग गर्छन्। छठ नजिकिँदै जाँदा चाप अझ बढेको छ। पिच गरेको ठाउँमा पानी निस्किएपछि सडक पहिलेजस्तै जीर्ण बनेको छ।

नागरिक
–आजको नागरिकमा ५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा शिर्षकमा बटुकराज गिरीको समाचार छापिएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाइसेन्स दिने गरी काम थालेको छ। ‘५ लाख स्मार्ट लाइसेन्स ४५ दिनमा सकिने गरी काम भइरहेको छ,’ विभागका प्रवक्ता उपाध्यायले नागरिकलाई बताए। लाइसेन्स छपाइको सम्पूर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भइरहेको छ।

लाइसेन्स छपाइको सम्पूर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई दिइएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए। यसअघि विभागले दैनिक २५ सयदेखि ३ हजारसम्म लाइसेन्स छाप्ने काम गर्दै आएको थियो जसका कारण सेवाग्राहीले लाइसेन्स पाउनका लागि एक वर्षभन्दा बढी समय कुर्नुपर्ने बाध्यता थियो। छपाइ मेसिनको अभावका कारणले गर्दा सेवाग्राहीले लाइसेन्स पाउन लामो समय लाग्ने गरेको थियो।

अबको दुई महिनाभित्र ५ लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमति पत्र पाउने प्रवक्ता उपाध्याय बताउँछन्। यसअघि सेवाग्राहीले ट्रायल दिएको एक वर्षभन्दा बढी समयसम्म पनि लाइसेन्स नपाउने समस्या रहेको थियो जसका कारण सेवाग्राहीहरु लामो समयसम्म लाइसेन्सको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको थियो। अबको केही महिनापछि यो सबै समस्या समाधान हुने विभागका प्रवÏा उपाध्यायले बताए।

यातायात व्यवस्था विभागको निर्देशनअनुसार मालिका इन्कर्पोरेट कम्पनीले लाइसेन्स छपाइको काम सुरु भइसकेको जनाएको छ। हामीले लाइसेन्स छपाइको कार्यलाई तीव्रता दिएका छौं। विभागले दिएको समयअवधि अघि नै लाइसेन्स छापिसक्ने लक्ष्य छ,’ मालिका इन्कर्पोरेट कम्पनीका प्रबन्धक निर्देशक सुरेन्द्र ढकालले भने।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग शिर्षकमा समाचार छापिएको छ । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौदेखि धुलो र धुवाँबाट आजित छन् ।
धुलोका कारण बच्चादेखि वृद्धवृद्धासमेत प्रभावित भएको चिकित्सकहरूको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमले नयाँ पत्रिकासँग भने, ‘धुलोले जनताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’

केही वर्षअघिको तुलनामा अस्पताल आउने श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या अत्यधिक बढेको डा. बमले बताए । ‘जुनसुकै अस्पतालमा जानुहोस्, श्वास–प्रश्वासका रोगीको संख्या अत्यधिक पाउनुहुनेछ,’ पूर्व स्वास्थ्य सचिवसमेत रहेका बमले भने । त्यस्तै, धुलो धुँवाबाट उपत्यकावासी मात्र होइन, केही दिनको कामका लागि राजधानी आउने मानिससमेत प्रभावित रहेको उनले सुनाए ।

बच्चालाई अरू नै समस्स्या भएर उपचारका लागि काठमाडौं ल्याउँदा यहाँको धुलोले थप विरामी भएकाको संख्या पनि धेरै रहेको उनको भनाइ छ । त्यसैगरी, उद्योग, कलकारखानामा काम गर्ने, सिमेन्टको काम गर्ने कम उमेरकै मजदुर पनि श्वास–प्रश्वासको समस्याबाट पीडित रहेको डा. बमले जानकारी दिए । ‘म कहाँ २०र२५ वर्षका भाइबहिनीहरू पनि दम, निमोनियाको समस्या लिएर आउँछन्,’ उनले भने, ‘उनीहरू निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन्छन् ।’

ताजा समाचार

सम्बन्धित समाचार