काठमाडौंं – तिहारमा प्रयोग हुने आगो तथा विजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा साबधानी अपनाउन, काठमाडौंमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।
महानगरको विपद् व्यवस्थापन समितिको अगुवाईमा काठमाडौं, ललितपुर र भक्तपुरका बारुण यन्त्र कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपद व्यवस्थापन महाशाखाहरू, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद व्यवस्थापन समितिसहित स्थानीयहरूको सहभागितामा शुरु भएको कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी प्रवाह गराइनेछ।
सचेतना कार्यक्रमको शुरुवात गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आगो मानव श्रृजित विपत्ति भएकोले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्नु पर्ने खाँचो देखाए। ‘कुनै कारणले आगो नियन्त्रणबाहिर आयो भने त्यसलाई निभाउन दमकल छिटो पठाउने प्रयास हुन्छ । त्यसलाई थप प्रभावकारी बनाउन, हामीले वडा ६ को रामहिटीमा दमकलको अर्को स्टेशन पनि बनाउँदैछौं,’ उनले भने, ‘हामीसँगै ललितपुर र भक्तपुर बारुण यन्त्र कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको दकमल र जनशक्ति खटिने गरेको छ । संयन्त्र बनाउने एउटा कुरा भयो तर आगो लाग्नै नदिन सजग हुनुपर्छ।’
कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पर्वमा रमाइलो गर्दा आगोको प्रयोगमा लापर्वाह गर्न नहुने बताइन्। सानो गल्तीले जीवनभर बिर्सन नसकिने क्षति पुग्न सक्ने भएकाले आगोको प्रयोगलाई सामान्य ठान्न नुहने उनको भनाइ थियो ।
व्यक्तिगत सजगताले सम्भावित ठूला दुर्घटनाबाट बच्न सकिन्छ। यस प्रकारका विपत्ति न्युनीकरण गर्न महानगर वडास्तरीय विपद् व्यवस्थापन समितिको अगुवाईमा विद्यालय तथा समुदाय स्तरीय सचेतना कार्यक्रममार्फत अघि बढिरहेको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए।
सचेतना कार्यक्रमको शुरुवात्मा निकालिएको र्याली जुद्ध बारुण यन्त्र कार्यालयबाट निस्किएर धर्मपथ, सिद्धिचरण चोक, लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेवल, भीमसेनस्थान हुँदै बसन्तपुरको मरु गणेश पुगेको थियो । त्यसपछि प्याफलबाट यट्खा, टेङ्गाल, बाङ्गेमुढा, इन्द्रचोक हुँदै जुद्ध बारुण यन्त्र कार्यालय आइपुगेको थियो।
तिहारमा अत्याधिक आगलागीका घटना हुने गरेका छन् । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका अनुसार आ. व. २०७४/०७५ मा १९४ वटा आगलागीमा दमकलको प्रयोग गरिएको थियो । यसबाहेक आफ्नै पहलमा नियन्त्रण गरिएका थुप्रै आगलागी भए ।