काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा तपोवनको ३७ रोपनी वन फिर्ता शिर्षकमा समाचार छापिएको छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले ओशो तपोवनलाई दिएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले वनक्षेत्र फिर्ता गरिएको पत्र बिहीबार तपोवनलाई बुझाइएको जानकारी दिए ।
‘तपोवनले मध्यवर्ती धार्मिक वनभित्र वातावरणमा प्रतिकूल असर पर्ने गरी सडक, पुल र भवन निर्माण गरेकाले फिर्ता लिएका हौं,’ चिफ वार्डेन कुँवरले भने, ‘धार्मिक वनलाई व्यापार केन्द्रका रूपमा विकास गर्नु नियमविपरीत हो ।’
पत्रमा धार्मिक वनका रूपमा प्राप्त गरेको वनक्षेत्रलाई अन्य प्रयोजनमा लानुका साथै वन विनाश तथा रुख कटानबाट जलाधार क्षेत्रमा भूक्षय हुन सक्ने गरी कानुनविपरीत कार्य गरेकाले फिर्ता लिइएको उल्लेख छ ।
वनक्षेत्रमा परापूर्वकालदेखि कुनै धार्मिक स्थल वा त्यस वरिपरिको वन क्षेत्र नभएको र ओशो तपोवन कुनै धार्मिक निकाय, समूह वा समुदाय नभई एक गैरसरकारी संस्था रहेकाले नियमावलीको नियम २२ (४) मा भएको व्यवस्थाअनुसार फिर्ता लिइएको पत्रमा उल्लेख छ ।
त्यस्तै प्रदूषणले बसिनसक्नु दिल्ली शिर्षकमा सुरेश न्यौपानेको समाचार छापिएको छ । आकाश धुम्म । वरपरको हावा यति धेरै प्रदूषित छ कि श्वाससमेत लिनै गाह्रो । श्वासप्रश्वास र मुटुसम्बन्धी विभिन्न समस्याको उस्तै जोखिम । वायु प्रदूषणका कारण सिर्जित यिनै समस्याका कारण भारतको राजधानी नयाँदिल्ली बस्नका लागि दुष्कर बन्दै गएको छ । प्रदूषणकै कारण दिल्लीबासीमा फोक्सो र मुटु रोगको जोखिम बढेको छ ।
वातावरणसम्बन्धी विभिन्न निकायको मापनले यहाँको हावाको प्रदूषण स्तर ‘निकै जोखिमपूर्ण’ छ । बुधबार दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स ९एक्बूआई० ३५८ थियो । जब कि जनस्वास्थ्यका हिसाबले त्यस्तो इन्डेक्स सयभन्दा तल हुनुपर्छ । पछिल्लो समयमा हावामा पनि हानिकारक पदार्थको मात्रा पनि मापदण्डभन्दा निकै नै बढी पाइएको छ ।
बुधबार राति दिल्लीको इन्डियागेटमा हावामा पीएम १० मात्रा ७०५ मापन गरिएको थियो । जुन सामान्य मापदण्डभन्दा सात गुणाले बढी हो । त्यसैगरी पीएम २।५ को मात्रा २७२ थियो जब कि सामान्य मापदण्ड ६० मात्र हो । दिल्लीका सबभन्दा प्रदूषित स्थान भनेर चिनिने आनन्द विहार क्षेत्रमा पीएम १० को मात्रा ८४९ र पीएम २।५ को मात्रा २७२ थियो । अझै यहाँको वायु प्रदूषण तथा मौसम अनुमान अनुसन्धान केन्द्रले आगामी दस दिनभित्र राजधानी दिल्लीको वायु गुणस्तर थप बिग्रने जनाएको छ ।
नागरिक
–आजको नागरिकमा उपत्यकाका खाल्डा पुराइ झारा टार्ने खालको शिर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ । काठमाडौं उपत्यकाका सडकका खाल्डाले धेरैपल्ट दुर्घटना निम्त्याइसकेको छ । सरकारी निकायको लापरवाहीको हदका कारण सर्वसाधारणले अनायासै ज्यान गुमाएका छन् । पैदलयात्रु र सवारी चालकको ज्यान गएपछि ती विषय केही दिन चर्चामा आउँछन् ।
त्यसमा सरकारी निकायले केही चासो देखाएजस्तै गर्छन् । कतै–कतै काम भइरहेको जस्तो पनि देखिन्छ । तर, केही दिनमै सेलाउँछ सरकारी काम । पछिल्लो पटक यस्तै भयो, काठमाडौं उपत्यकाका खाल्डा पुर्ने कार्यमा पनि । सडकमा रहेका खाल्डा झारा टार्ने किसिमले पुरिएको पाइएको छ । जसका कारण पुरिएका खाल्डा पुनः खाल्डामा परिणत भएका छन्।
उपत्यकामा सडक बनाउने, ढल निर्माण गर्ने, खानेपानीका पाइप ओछ्याउने नाममा सडक डोजरले उधिनेर बडेमानका खाल्डा पारिन्छ । एक–दुई दिनमै खनेर व्यवस्थित गर्न सकिने खाल्डा सरकारी निकायका कर्मचारीले महिनौसम्म पुर्दैनन्। जसका कारण पैदलयात्रु र सवारी चालक खाल्डामा जाकिन्छन्।
त्यस्तै संरक्षणमा प्रशासन उदासीन : हराउँदै सीमास्तम्भ शिर्षकमा निर्मल घिमिरेको समाचार छापिएको छ। सीमास्तम्भ अनुगमनका लागि सोमबार प्रतिनिधिसभा सदस्य विमला विक, बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङ, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइराला र प्रहरी उपरीक्षक तिलक भारती लटकनिया गाउँ पुगे। भारतीय सीमासँग जोडिएको यो गाउँमा पहिलेदेखि रहेको सीमास्तम्भ अनुगमन टोलीले भेटेन। सीमास्तम्भ बाढीले बगाएको अनुमान गर्दै टोली फर्कियो।
बर्दियाको ८० किलोमिटर सीमा भारतसँग जोडिएको छ भने सीमामा रहेका स्तम्भ क्रमशः हराइरहेका छन् । गुलरिया नगरपालिका १० मा पर्ने नेपाल–भारत दसगजा क्षेत्रमा रहेका सीमास्तम्भ बर्सेनि बबई नदीको कटानमा पर्ने गरेका छन्। सीमा भएर बग्ने कर्णाली नदीको समेत कटानका कारण सीमास्तम्भ जोखिममा छन् तर सीमास्तम्भ जोगाउनेतिर दुवै देशका अधिकारीको चासो नदेखिएको स्थानीय बताउँछन् । ‘हाम्रो जग्गा भारतीयले जोत्न दिँदैनन्, सीमाको यकिन सरकार गर्न सक्दैन’, स्थानीय रामकृष्ण यादवले भने । बर्दियामा भारतसँग जोडिएको सीमाक्षेत्र मानखोलापूर्व रहेको ४१ नम्बरको पिलरदेखि कतर्नियास्थित मुख्य पिलर नं.९७ सम्म पर्छ।
राजधानी
–आजको राजधानीमा टाहाखेल–टीकाभैरव खण्डमा १९ सय रुख काटिने शिर्षकमा नवीन लुईटेलको समाचार छापिएको छ। ललितपुरको बहुप्रतीक्षित सडक आयोजना कान्ति लोकपथको टाहाखेल–टीकाभैरव सडकखण्ड निर्माणका क्रममा करिब १ हजार ९ सय १ रुख काटिने भएका छन् । सडक विस्तारका क्रममा पोल साइजका उक्त संख्यामा रुख काटिने भएको डिभिजन वन कार्यालय ललितपुरले जनाएको छ।
चारघरे भागावन सामुदायिक वनको १ हजार ७ सय ५८ र राष्ट्रिय वनका १ सय४३ वटा रुख काट्न लागिएको सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए। उनका अनुसार काट्न लागिएका रुखहरु खोटेसल्ला, मसला, चिलाउनेलगायत प्रजाती छन् । ससाना विरुवा, झाडी, बुट्यान भने यसमा गणना नगरिएको जोशीको भनाई छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा धराप सडकको खाल्डाखुल्डी शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ। काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ।
धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो।
कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको थियो । कामपा शहरी पुर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले मंसिर अन्त्य सम्ममा कामपाको स्वामित्वमा रहेको सबै सडकको खाल्डाखुल्डी पुरी सक्ने जानकारी दिनुभयो। उहाले भन्नुभयो–महानगर क्षेत्रमा कामपाको स्वामित्वमा एक हजार किलोमिटर सडक रहेका छन्।
१ हजार ४ सय किमि सडक मध्य सडक विभागको स्वामित्वमा ४ सय किमि ठुला सडक छन् । उहांले अधिकांस मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागको रहेको जानकारी दिनुभयो । उहांले भन्नुभयो–ठुला खाल्डा सडक विभागको स्वामित्वमा रहेका सडकमा छन् । ती खाल्डाखुल्डी विभागले पुर्न थालिसकेको छ।