Friday, November 8, 2024

धरहराको पुनर्निर्माण सामग्री टुँडिखेलमा राखिने

काठमाडौँ – ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा धरहरा पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्री टुँडिखेलमा राखिने भएको छ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ध्वंश बनाएको धरहराको पुनर्निर्माणको जिम्मा पाएको जीआर्ईटिसी कम्पनीलाई निर्माण सामग्री टुँडिखेलको दक्षिणी भागमा राख्न नेपाली सेनाले स्वीकृति दिएको हो।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहराको पुनर्निर्माणका लागि सरसफाइ गर्ने, बिजुली तथा टेलिफोनकोे तार, खानेपानीको पाइप डाइभर्ड गर्ने लगायतका काम भइरहेको छ।

यसका साथै धरहराको पुनर्निर्माणको शिल्यान्यासका लागि साइत हेर्ने तथा पूजा सामग्री संकलन गर्ने कार्य समेत भइरहेको छ। हाकाहाकीसँग कुरा गर्दै मानन्धरले भने, ‘प्रधानमन्त्रीज्यूबाट शिल्यान्यास गराउने तयारीमा छौँ, त्यसका लागि सरसफाइ लगायतका अन्य कार्यहरू भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक हुनासाथ उचित साइत जुराइ शिल्यान्यास गराउने छौँ ।’

यसका साथै धराहरा वरपरको बाटो बन्द गराउने तथा टहरा भत्काउने काम समेत भइरहेको उनको भनाइ छ।
बाहिर ९ तला देखिने तर, भित्री भागमा २२ तला रहने धरहरा पुनर्निर्माणको लागत ३ अर्ब ४५ करोड रहेको छ। २२ तलामध्ये दुई तला अन्डरग्राउन्ड हुनेछ। भर्याङ भएर अन्डरग्राउन्डमा जानुपर्नेछ। र, अन्डरग्राउन्डबाट लिफ्ट चढेर धरहरा टपमा पुगिनेछ। धरहरामा बैकल्पिक समयका लागि भर्याङको समेत व्यवस्था गरिने भएको छ।

धरहराको टपमा एकैपटक ५६ जना अटाउने खाली ठाउँ बनाइने भएको छ। जहाँबाट दृश्यालोकन गर्न सकिनेछ। एक पटकमा सो लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था गरिनेछ।

२९ रोपनी क्षेत्रफलमा फैलने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरू रहनेछन्।

२०७२ वैशाख १२ गतेको भूकम्प अघि धरहरा ९ तलाको थियो। १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो। तर, भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित धरहरा २०७२ को भूकम्पमा पूरै ढलेको थियो। धरहरा विक्रम सम्वत १८८२ मा भिमसेन थापाले बनाएका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार