Thursday, November 7, 2024

पत्रपत्रिकामा आज : रिसाउँछन् भीरमौरी, महानगरका धराप सडक

काठमाडौँ – आजकाे पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ।

कान्तिपुर
– आजको कान्तिपुरमा रिसाउँछन भीरमौरी शिर्षकमा आश गुरुङको समाचार छापिएको छ। पारिपट्टि छंगाछुर भीरमा गाउँले मह काढ्दै छन् । वारिपट्टि हेर्नेको भीड । एक्कासि भीरमौरी आएर चिल्न थाल्छ, हेर्नेहरूको भागाभाग हुन्छ । स्याँगे झरनानजिकै छोवली भीरमा शुक्रबार मह काढ्न जम्मा भएका मिप्रा गाउँका ६० घरका स्थानीयलाई मौरीले लखेट्यो । २५ वर्षदेखि मह काढ्दै आएका ५५ वर्षीय डिलबहादुर गुरुङलाई हिजोआज मौरीको हूल रिसाएको देख्दा अचम्म लाग्छ । ‘हाम्रो बानी बिग्रेकाले रिसाएका होलान्,’ उनले भने, ‘आजकल जथाभावी मह काढ्न थालिएको छ । आधुनिक औजार प्रयोग गरिएको छ । भीरमै गएर घनछिनोले कोपेर जाने बाटो बनाइएको छ ।’

सिकारी पनि सादा पोसाकमै गएर मह काढ्थे । हिजोआज बाक्लो लुगा, पन्जा र अनुहार ढाकिने जाली लगाउँदा पनि टोक्ने गरेको छ । ‘अचेल किन हो कुन्नि, मह काढ्न थालेपछि मौरीले लखेटेर हैरान पार्छ,’ मस्र्याङ्दीगाउँपालिका ४, ताघ्रिङ मिप्राकी चन्द्रकुमारी गुरुङले भनिन्, ‘पहिले–पहिले यस्तो गर्थेन ।’

मह काढ्दा परम्परागत रूपमा प्रों (निगालोको चोयाबाट निर्मित डोरी) प्रयोग गर्ने र मौरीलाई अघिपछि नचलाउने गर्दा पहिला केही सजिलो थियो । ‘चिसो स्याउलामा धूवाँ निकालेर मौरीलाई विस्तारै पाखा लगाउनुपर्छ,’ उनले भने, ‘चोखोनितो गरी सिमेभूमे (प्रकृति) पूजापाठ गरेपछि काढ्ने विधि सबैले मानिदिए नरिसाउलान् कि!’

गाउँलेले शुक्रबार परम्परागत ढंगबाटै भीरमह निकालेका हुन्। ४८ वर्षीय राजकुमार गुरुङले धूप बालेर भीरको कुनामा पूजापाठ गरेपछि परम्परागत तवरबाट भीरमह काढ्ने कार्यक्रम सुरु भएको समाचारमा उल्लेख छ।

त्यस्तै ठडिँदै क्षतिग्रस्त सम्पदा शिर्षकमा अर्को समाचार छापिएको छ । भूकम्पले क्षतिग्रस्त भक्तपुरका मुख्यमुख्य सम्पदाहरूले पुनर्निर्माणको गति लिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत तथा अन्य मुख्य सम्पदाहरू स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुर र भक्तपुर नगरपालिकाले मौलिक शैलीमा पुनर्निर्माणलाई गति दिएको हो ।

पुरातत्त्व विभागले बहुवार्षिक योजना अन्तर्गत क्षतिग्रस्त मुख्य सातवटा सम्पदा पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये हालसम्म विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, सूर्यविनायक नगरपालिकास्थित दक्षिण बाराही मन्दिर, दरबार स्क्वायर परिसरको मल्लकालीन सिद्धिलक्ष्मी (सिद्धिबत्सला) मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ । भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त सिलु महादेव (फसिदेवल) मन्दिर, दरबार स्क्वायर परिसरकै तव सत्तल, राष्ट्रियकला संग्रहालय(लाल बैठकबाहेक) सिंह ढोकाको पछाडीको भाग, सूर्यविनायक नगरपालिकास्थित अनन्तलिंगेश्वर मन्दिर पुनर्निर्माणको चरणमा रहेको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए । विभागले चालु आर्थिक वर्ष ०७५/७६ भित्र पुनर्निर्माण थाल्ने गरी काभ्रे र भक्तपुरका २२ सम्पदा पुनर्निर्माणका लागि बजेट विनियोजन भएको समेत जनाएको छ ।

नागरिक
–आजको नागरिकमा गुनासो गर्दागर्दै चार बर्खा बिते तर अनुदान पाइएन शिर्षकमा समाचार सरिता श्रेष्ठको छापिएको छ। गजुरी गाउँपालिका–८, किराञ्चोकका सहदेव जमरकट्टेलको घर तीन वर्षअघि गएको भूकम्पले बस्न नमिल्ने गरी भत्कियो। तर निजी आवास निर्माणका लागि सरकारबाट उपलब्ध हुने अनुदानका लागि उनको घर अयोग्य ठहरियो । उनले गुनासोमा फारम भरे तर पनि अनुदान पाउने सूचीमा नाम निस्केन।

अनुदान उपलब्ध गराउन अनुरोध गर्दै आफू वडा तथा गाउँपालिका कार्यालय कैयौंपटक धाएको जमरकट्टेल बताउँछन्। तर अहिलेसम्म वास्तविक भूकम्पीडितले अुनदान पाउन नसकेको उनको गुनासो छ। निराश हुँदै उनले भने, ‘यो बर्खा पनि टहरामै बित्यो, अब सरकारको आश पनि मेटियो।’ सुरक्षित बास नहुँदा बर्खामा बाढीपहिरो र हिउँदमा चिसोले सताउने गरेको जमरकट्टेलले बताएको समाचारमा उल्लेख छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा महानगरका धराप सडक शिर्षकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ । प्रधानमन्त्री भएलगत्तै केपी ओलीको घोषणा थियो–‘खाल्डाखुल्डीमा परेर अब कसैले ज्यान गुमाउनुपर्ने छैन।’ प्रधानमन्त्री ओलीले हरेकजसो भाषणमा खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्छन्। यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उपत्यकाभित्रका सबै खाडल पुर्न पटकपटक निर्देशन दिएका थिए।

शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुला मंगालमा परी डल्लुका ३८ बर्से श्यामसुन्दर श्रेष्ठको ज्यान गयो। अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। उनको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको ‘भल्भलिंक’ निकालिएको स्लाबबाट खसेर गएराति मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी अनिलकुमार खड्काले बताए।

स्थानीयले खबर गरेपछि बिहान ६ बजे पुगेर प्रहरीले श्रेष्ठको शव खाडलबाट निकालेको थियो। ‘हामीले बिहान ६ बजे मात्रै घटनाबारे थाहा पायौं, त्यहाँ पुग्दा श्रेष्ठको मृत्यु भइसकेको थियो’, डीएसपी खड्काले भने।

केयूकेएलको लापरवाहीले यस्तो घटना भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए। ‘खानेपानीको पाइप लाइनको चाबी बेलाबेला खोल्नुपर्ने रहेछ, तर काम सकेपछि खाल्डो नपुर्दा दुर्घटना भयो’, महर्जनले भने। घटनालाई नगरपालिकाले गम्भीर रूपमा लिएको पनि उनले बताए। ‘अहिलेलाई त त्यो खाल्डो छोपियो। फेरि भोलि त्यस्तो घटना नहोस् भन्नेमा गम्भीर छौं। यो विषयमा नगरपालिकाले भोलि नै छलफल गर्छ’, उनले भने।

मेलम्ची र केयूकेएलका पाइप अव्यवस्थित रहेका कारण जोखिम बढ्दो छ। खानेपानी, ढल निकास, विद्युत् र टेलिकमले खनेका खाडल त्यसै छाड्दा घटना हुने गरेका सडक विभागले गुनासो गरेको छ।

मेलम्चीको काम पूरा नभएसम्म खाल्डा पुर्ने काम नसिकिने समेत विभागले जनाएको छ। गत २०७४ असार ३० गते तारकेश्वर नगरपालिका–१० नेपालटारमा ढलमा परेर ११ वर्षीया विनीता फुयाँलको ज्यान गएको थियो। सोही समयमा सामाखुसीको खुला ढलमा खसेकी १३ बर्षिया सत्या सापकोटालाई स्थानीयले उद्धार गरी बचाएका थिए। समयमै काम नसक्दा उपत्यकाका सडकमा खाल्डाखुल्डी धराप बनेर रहेका छन्। ढल मात्र नभई इनार र खानेपानीका भ्वाङसमेत खुलै छन्।

राजधानी
–आजको राजधानीमा पर्यटकको पहिलो रोजाइ बन्दै रारा ताल शिर्षकमा शुभाकर विश्वकर्माको समाचार छापिएको छ । कर्णाली प्रदेशको मुगुमा रहेको पर्यटकीय गन्तव्य रारा ताल आउने पर्यटकको संख्या बढेको छ । देश तथा विदेशका पर्यटक प्रदेश राजधानी सुर्खेत, कालिकोट, जुम्ला हुँदै रारा जाने गरेका छन् ।

दशैँअघि सुरु भएको रारा भ्रमणको क्रम मंसिरसम्म रहने होटल व्यवसायी बताउँछन् । अहिले जुम्लामा स्तरोन्नतिका लागि हवाई सेवा बन्द भए पनि गाडी रिजर्भ गरेर आउने पर्यटक बढेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार