तेह्रथुम – पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन्।
परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ। पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन्।
अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो हुने गरेको अलैँची ब्लक कार्यक्रम फेदाप–आठराई गाउँपालिकाका अध्यक्ष सिर्जना लामा फोम्बोले बताए।
गाउँमा किसानले ढुङ्गा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउने गरेका छन्। त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउँदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ।
किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान नरहेको अध्यक्ष फोम्बोले बताए। प्राविधिक ज्ञान नभएकै कारण तेह्रथुममा आधुनिक भट्टीको प्रयोग शून्यजस्तै रहेको छ। केही वर्षअघि तेह्रथुम उद्योग वाणिज्य सङ्घले १०० वटा आधुनिक भट्टी अनुदानमा वितरण गरेको थियो।
अहिले किसानले ती भट्टी प्रयोगमा निरन्तरता दिन सकेका छैनन्। किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताए। परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुँवा र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन्।
परम्परागत भट्टीमा सुकाएको अलैँचीले बजारमा समेत कम मूल्य पाउने गरेको छ। अलैँची गुणस्तरवृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिकटन अर्थात रु ४६ करोड २० लाख बढीको अलैँची उत्पादन भएको थियो।
अकबरे खुर्सानी निर्यात
यहाँको कोसेलीको रूपमा परिचित अकबरे खुर्सानी दशैँ तिहारलगायत चाडपर्व तथा विभिन्न काम विशेषमा जिल्ला आउनेजानेले कोसेलीको रूपमा लैजाने चलन बढेको छ। छथर गाउँपालिका–६ सुदापकी कृषक शिवमाया खड्काले रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खोर्सानी छथरकै सबैभन्दा लोकप्रिय कोसेली बनेको बताए।
गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले अकबरेसहित अन्य उत्पादनको बजारीकरणका लागि छथरको शुक्रबारेमा कोसेलीघर नै स्थापना गरिएको जनाउँदै किसानलाई व्यावसायिक र अग्र्यानिक खेती गर्न विभिन्न गैरसरकारी संस्था र सरकारी निकायले तालीम र बिउ पूँजीमा सहयोग गरेका जानकारी दिए।
जिल्लामा उत्पादित अकबरे खोर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात हुने गरेको छ। तर विशेषगरी कोसेलीको रूपमा विदेशतिर धेरै जाने गरेको छ। जिल्लामा वार्षिक रु १२ करोड बढीको अकबरे खुर्सानी उत्पादन हुने गरेको छ। रासस