काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा उप्किए रबर सोल शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ। दुर्घटना हुन सक्ने सम्भावित स्थल र विभिन्न मोडहरूमा सवारी साधनहरूका गति नियन्त्रण गर्न सडकमा जडान गरिएका ‘रबर सोल’ (स्पिड ब्रेकर) हरू उप्किएका छन् । पृथ्वी राजमार्गका सबैभन्दा बढी दुर्घटना भएका जोगीमाराको हुग्दी खोला पुलको मोड र गजुरीस्थित घाटबेंसीको बांगेमोडमा दुई साताअघि सडकमा रबर सोल जडान गरिएको थियो ।
गैरआवासीय नेपाली संघको आर्थिक सहयोगमा लाखौं रकम खर्च गरेर जडान गरिएका रबर सोल एक हप्तामै उप्किएका हुन् । फूलपातीको अघिल्लो दिनमा गजुरीस्थित जिल्ला ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने योजना जडान गरेको एक हप्तामै उप्किएपछि हस्तान्तरण कार्यक्रम स्थगित गरिएको जिल्ला ट्राफिक इन्चार्ज हेमराज घिमिरेले बताएको समाचारमा उल्लेख छ ।
त्यस्तै सडक धुलाम्यै शिर्षकमा कृष्ण थापाको सदरमुकामको सडकमा धुलो उठेर बस्न नसक्ने भएपछि स्थानीयवासी प्रशासन गुहार्न पुगेका छन् । विदुरदेखि साततल्ले दरबारसम्मको ६ किमि सडक खण्ड ठेकेदारले समयमा निर्माण नगर्दा सदरमुकामबासी र यात्रुले धुलो खानुपरेको हो । ‘बुङबुङती धुलो खाएर सहेर बस्दासमेत सुनुवाइ भएन,’ विनपा ४ का सरोजजंग थापाले भने, ‘सीडीओलाई संयुक्त निवेदन बुझाएका छौं ।’
बस, मालबाहक गाडी गुडेपछि स्थानीयवासी धुलोबाट बच्न मास्क लगाएर बस्ने गरेका छन्। ‘धुलोले बस्नै सकिएको छैन,’ स्थानीय क्षेत्रकुमार घलेले भने, ‘धुलोका कारण बटुवाले समेत सास्ती खेप्नुपरेको छ । ठेकेदारले पानीसमेत छर्केको भए पनि त राहत मिल्थ्यो । त्यो पनि गरेन ।’ धुलोले जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी, अदालत, बाल कल्याण समिति लगायतका कार्यालयमा जाने कर्मचारीले समेत सास्ती व्यहोर्नुपरेको छ ।
स्थानीयवासी मात्र नभई पुरानो सदरमुकाम नुवाकोट डाँडामा रहेको पुरातात्त्विक साततल्ले दरबारलगायत अवलोकन भ्रमण गर्न आउने पर्यटकसमेत धुलो खान बाध्य छन् । उक्त सडकमा साना ठूला गरी दैनिक ५ सय सवारी गुड्छन् । यही सडक विदुरचोकदेखि पुरानो सदरमुकाम नुवाकोट साततल्ले दरबार, नुवाकोट भैरवी, कालभैरव देवस्थल, फलाँटे, चोगते, लच्याङ, उर्लेनी र रसुवाको सरमथलीसम्म जाने मूल सडक हो ।
त्यसैगरी बजारका फोहोर टुकुचामा शिर्षकमा बागबजार हुँदै बग्छ टुकुचा। खोलासँगै रहेको पीपलबोट मुन्तिर हेर्दा ठूलो हिमपाइपबाट फोहोर सिधै खोलामा मिसिएको देखिन्छ । टुकुचा खोलामा यस्ता हिमपाइप टन्नै छन्, जहाँबाट फोहोर सिधै खोलामा झरिरहेको देख्न सकिन्छ । नजिकैको टुकुचा तरकारी बजारको फोहोर पनि त्यहीँ मिसिन्छ । खोलामा फालिएका कुखुराको दानादेखि कुखुरा काटेपछिका रहलपहल मासु खान खोलामा काग र अन्य जीवजन्तुको हुलै आउने गर्छ । पुलको अर्कोपट्टि भृकुटीमण्डप साना बजारको फोहोर पनि टुकुचामै मिसिइरहेको हुन्छ । टुकुचा तरकारी बजार मात्र होइन, धेरैजसो तरकारी र फलफूल बजार नदी छेवैमा छन् । तिनका तरल र कतिपय अवस्थामा ठोस फोहोर पनि नदीमा पुग्ने गरेका छन् ।
टुकुचा वरपर निकै घना बस्ती भएकाले फोहोर निकै उत्पादन हुन्छ । सबै फोहोर त्यहीँ मिसाइन्छ । ठूला भवन र बजार नदी छेवैमा भएकाले सफा गर्ने ठाउँ पनि छैन । खोलासँगै टाँसिएर निर्माण गरिएका संरचनाले सरसफाइमा समस्या खडा गर्नुका साथसाथै ती घरका फोहोर खोलामा मिसाउन सहज भएको छ । त्यही टुकुचा खोला थापाथली हुँदै बागमतीमा मिसिन्छ । त्यससँगै मिसिन्छन् सर्जिकल हाउसका फोहोर पनि। थापाथलीदेखि त्रिपुरेश्वर जाने सडकमाथि पुलबाट हेर्दा तल सेतो फोम, कार्टुनलगायतका फोहोरले खोला ढाकिएको देखिन्छ । घर पसल सबैतिरका फोहोर बोकेर टुकुचा बागमतीमा मिसिन्छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा ७ सय रोपनी वनक्षेत्र अतिक्रमित शिर्षकमा रविन्द्र गौतमको समाचार छापिएको छ । दोलखा जिल्लाको ७ सय रोपनीभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डिभिजन वन कार्यालय दोलखाको बेवास्ता, अन्य सरोकारवाला निकायको गैरजिम्मेवारी र वन अतिक्रमण गर्नेलाई राजनैतिक संरक्षण दिँदा जिल्लाको ७ सय रोपनीभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो।
जिल्लाका विभिन्न सामुदायिक वनलाई हस्तान्तरण गरिएका तामाकोशी, चर्नावती क्षेत्र, सुनखानी, सोती तथा स्याउली बजार, कुरी, घ्याङडाँडा, चरिकोट देउराली, जिरी हाटडाँडा, भीमेश्वर नगरपालिका(९ को लाकुरीडाँडा तथा आहालडाँडा, शैलुङ गाउँपालिकाको शैलुङ, भैंसेडाँडालगायतका स्थानमा ७ सय रोपनी वन अतिक्रमण गरी गैरकानुनी बस्ती बसालिएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ।
दोलखाका सहायक वन अधिकृत चन्द्र थापाले नयाँ अतिक्रमण भएको ठाउँमा डिभिजन वन कार्यालयले सोझै हस्तक्षेप गरी वनक्षेत्र जोगाउने काम गर्न सक्छ तर पुराना अतिक्रमण भएका ठाउँको सम्वन्धमा भने प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको कार्यदलको निर्णयबाट मात्र केही गर्न सकिने बताए।
वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका ६ ओटा इलाकामध्ये सिंगटी इलाका वन कार्यालय अन्र्तगत पर्ने झरेनी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने कालिञ्चोक आसपास टुटान, घ्याङडाँडालगायतका क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण परेको छ।
डिभिजन वन कार्यालयका नायब सुब्बा राजेन्द्र सुवेदीले जिल्लाको विभिन्न स्थानमा ३ पटकसम्म बल प्रयोग गर्दा पनि परिणाम नआएको स्वीकार गरेका छन्। हालै तामाकोशी नदीको दुबै किनारा छुने सामुदायिक वन क्षेत्रबाट गैरकानुनी रुपमा नदिजन्य पदार्थको उत्खननको विषयमा विवाद भएपछि आमदोलखालीमा विभिन्न क्षेत्रको अतिक्रमित वन क्षेत्रबारे निक्कै चासो बढेको पाइएको छ। अतिक्रमित वन क्षेत्रमा राजनीतिक संरक्षण लिएर पाखुरे बलको भरमा गैरकानुनी बस्ती बसाली विभिन्न सामुदायिक वनका पदाधिकारीले आर्थिक लाभ लिइरहेको वन उपभोक्ताकै आरोप छ ।
गैरकानुनी बस्तीबाट असुलिएको रकमको भागबण्डा नमिलेको कारण केही महिना अघि झगडा परेर सो विषय प्रहरीसम्म पुगेको थियो र पछि मिलापत्रमार्फत सल्टाइएको घटना सार्वजनिक भएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा फेरि तातोपानी नाका जोड्दै चीन शिर्षकमा ध्रुव दंगालको समाचार छापिएको छ । चीनले बिनासकारी भूकम्पपछि साढे तीन वर्षदेखि बन्द उत्तरको मुख्य व्यापारिक नाका तातोपानी जोड्ने सडक बनाउन थालेको छ। चीन सरकारकै सहयोगमा तातोपानीको लार्चामा सुख्खा बन्दरगाह बनाइरहेको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त अरनिको राजमार्गको नाका खण्ड कोदारी–लिपिङ सडक बनाउन थालेको हो। नाका रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चिनियाँ कम्पनीले तीन दिनयता सडक बनाइरहेको बताए। ‘कोदारीबाट नयाँ ट्रयाक खन्दै अघि बढेको कम्पनी बिहीबार लिपिङ बजार प्रवेश गरेको छ,’ उनले नागरिकसँग भने। पौडेलका अनुसार कोदारी क्षेत्रमा करिव २ सय मिटर नयाँ सडक ट्रयाक खोलिएको छ। योसँगै नाकाको अन्तिम बजार लिपिङ सडक ट्रयाकले जोडिएको छ।
२०७२ वैशाख १२ को भूकम्प र लगत्तै अर्को वर्ष २०७३ असारको भोटेकोसी बाढीले तातोपानी–लिपिङ खण्डको चार किलोमिटर सडक ट्रयाक नै हराएको थियो। गाउँपालिका र सम्वन्धित वडाको पहलमा दसैँअघि कोदारी तलको झण्डै डेढ किमी सडक खोलिएको थियो। चिनियाँ कम्पनीले सबैभन्दा क्षतिग्रस्त र जटिल खण्डमा सडक खोल्ने काम थालेको हो। कोदारी–लिपिङ खण्डमा भूकम्पले खसालेको चट्टाने पहाड थुप्रिएको छ भने भोटेकोसी बाढीले जगैदेखिको राजमार्गको बगाएको छ।
‘नेपाल–चीन सीमा छुट्याउने मितेरी पुल दुई दिनभित्र सडक ट्रयाकले जोडिन्छ,’ सडक खुलाउने कामको नेतृत्व गरिरहेका चिनियाँ कम्पनी सिआरसिसीका साइट मेनेजर मिष्टर हुको भनाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘यो तत्काललाई स्थानीयको आवतजावत सहज बनाउने अस्थायी संरचना मात्र हुनेछ।’
तिहार सकिएपछि लिपिङदेखि बन्दरगाह रहने लार्चासम्मको झण्डै ६ किमी सडक स्थायी बनाउने काम थाल्ने चिनियाँ प्रतिनिधि हुले जानकारी दिएको पौडेलले बताए। बाढीले बगाएको भोटेकोसी किनारको जगदेखि नै उठाएर पक्की सडक बनाउने योजना रहेको हुले बताए।
त्यस्तै बढ्न थाल्यो प्रदूषण सम्मेलनमा जुट्दै मेयर शिर्षकमा खिलक बुढाथोकीको समाचार छापिएको छ। वर्षातको समयमा सरकारले तोकेको मापदण्डभन्दा तल झरेको उपत्यकाको वायु प्रदूषण वर्षात सकिएसँगै बढ्न थालेको छ। वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा माथि पुगेको हो।
विश्व स्वास्थ्य संगठनले उपत्यकाको हावामा पार्टीकुलेट म्याटर(पिएम) २.५ को मात्रा २५ र नेपाल सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने मापदण्ड छ । वर्षभरी डब्लुएचओ र सरकारको मापदण्डभित्रै रहेको वायु प्रदूषण मनसुन सकिएसँगै उच्च हुन थालेको हो । वातावरणविद्का अनुसार मनसुन हुँदा धुलोका कण गह्रौ भएर जमिनमा बस्छन्।
मनसुन सकिएसँगै धुलोका कण हावामा गएर प्रदूषण बढ्ने गरेको छ । उपत्यकाका विभिन्न १७ ठाउँको वायु प्रदूषण मापन गरिरहेको दृष्टी काठमाडौँले उपलब्ध गराएको तथ्यांकअनुसार असोज २८ गते १० बजे उपत्यकाको वायु प्रदूषण अत्यधिक थियो । त्यस दिन पिएम २.५ को मात्र ३७ माइक्रोग्राम प्रतिघनमिटर रहेको समाचारमा उल्लेख छ।