काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा २५० मिटर सडक बनाउन ६ वर्ष शिर्षकमा समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाको व्यस्त ठाउँमध्ये एक हो कालीमाटी । तरकारी बजार नपुग्दै सालिक छ, जहाँबाट टंकेश्वर जाने सडक छुट्छ । ६ वर्षदेखि यो सडकमा कि धूलो हुन्थ्यो कि त हिलो । सडककै कारण स्थानीयको व्यापार पनि खस्किएको थियो, धुवाँ र हिलोको सास्ती भनिसाध्य थिएन । स्थानीय सरकार आए पनि वडाध्यक्षको धेरै प्रयासपछि मात्र झन्डै अढाई सय मिटरको यो सडक पिच हुन लागेको छ ।
वडानम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार सडक विस्तारक्रममा ६ वर्षअघि यो सडक फराकिलो बनाउने भन्दै भत्काइयो । त्यसपछि न स्थानीयले प्रस्तावित १४ मिटर फराकिलो बनाउन दिए, न भत्काइएको सडक पिच भयो । महेन्द्ररत्न क्याम्पससम्मको सडक चौडा पार्ने भनिए पनि त्यसमा प्रभावित ५३ घरधनी संरचना भत्काउन सहमत भएनन् । महेन्द्ररत्नदेखि टंकेश्वरसम्म पिच भए पनि बीचको भाग पिच नगरिएको समाचारमा उल्लेख छ ।
त्यस्तै विद्युतीकरणका लागि वन कटान शिर्षकमा ठाकुरसिंह थारूको समाचार छापिएको छ । राप्तीपारिको विकट क्षेत्रका गाउँमा विद्युत् लाइन विस्तार गर्न सामुदायिक वनभित्रका रूख काट्न थालिएको छ । राप्तीपीडित र समय भवानी सामुदायिक वनको २.२ हेक्टर क्षेत्रफलभित्र पर्ने २ सय १४ रूख काट्न लागिएको हो ।
कोहलपुर–धामपुर–तीन घरवा–अलिनगर ३३ केभी विद्युत् प्रसारण लाइन विस्तार हुँदै छ । ५.३ किलोमिटर प्रसारण लाइन सामुदायिक वन क्षेत्रभित्र परेको छ । वन मन्त्रालयले वनक्षेत्र भोगाधिकार दिएपछि विद्युत् विस्तारको काम सुरु भएको हो । यसअघि करिब दुई दशकदेखि विद्युत् विस्तारको काम सुरु गरिए पनि अलपत्र पर्दै आएको थियो ।
बाँकेका संघीय सांसद महेश्वर गहतराज र प्रदेश सांसद कृष्णा केसीलगायत सरकारी अधिकारीको रोहबरमा सोमबार सामुदायिक वनका रूख काट्न सुरु गरिएको हो । ‘आउने वैशाख महिनाभित्रै बाँकेको विकट राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा विद्युत् पुग्ने गरी काम थालिएको छ,’ संघीय सांसद गहतराजले भने, ‘त्यस क्षेत्रका सबै गाउँमा बिजुली पुर्याउने लक्ष्य छ ।’ उनले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनका अनुसार संघीय सरकारले विद्युत् विस्तारका लागि ९० प्रतिशत लगानी गर्नेछ । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख गणेशबहादुर खड्काले मन्त्रालयले विद्युतीकरणका लागि भोगाधिकार गर्न दिएपछि रूख कटानको काम सुरु भएको बताए । उनका अनुसार विद्युतका लागि कटान हुने एक रूख बराबर २५ बिरुवा वन कार्यालयले तोकेको क्षेत्रमा प्राधिकरणले रोप्ने सहमति भएको छ । उक्त बिरुवा दुई वर्षभित्रै रोपिसक्नु पर्नेछ । रूख कटान चैतभित्रै सकिनेछ । त्यसलगत्तै मुख्य विद्युत लाइन विस्तार गरिनेछ । राप्तीपारिका दुई गाउँपालिकाका सर्वसाधारण हालसम्म बिजुली बत्तीबाट वञ्चित भएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा सडकले जोडिँदै नेपाल–सिक्किम शिर्षकमा गिरिराज बाँस्कोटाको समाचार छापिएको छ । नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।
पुष्पलाल ९मध्य पहाडी ० लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम्म सडक बनाउन लागिएको हो। डिसेम्बरभित्र यो सडक उद्घाटन गर्ने गरी काम भइरहेको झाँक्रीढुंगाका समाजिक अगुवा अशोक क्षेत्रीले जानकारी दिए। करिब ७० प्रतिशत काम सकिएको उनले बताए। सीमा राजमार्गको गुणस्तरमा काम भइरहेको उनले बताएको समाचारमा उल्लेख छ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा कोसी राजमार्ग चीन जोडिन २३ किमि बाँकी शिर्षकमा नवीन गुरुङको समाचार छापिएको छ । दक्षिणमा भारतसँग जोडिएको कोसी राजमार्ग अब उत्तरी सिमाना चीन जोडिन २३ किमि बाँकी छ । मोरङको रानीबाट सुरु भएको यो सडक उत्तरमा संखुवासभाको किमाथांकासम्म पुग्नेछ ।
जम्मा तीन सय ९० किमिमध्ये तीन सय ६७ किमि ट्र्याक खोलिसकिएको उत्तरदक्षिण ९कोसी० सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए । ०६५ मा खाँदबारीमा स्थापना भएको उत्तर–दक्षिण ९कोसी० सडक योजनाले खाँदबारीदेखि किमाथांका नाकासम्मको सडक मात्रै हेर्छ । खाँदबारीसम्म सार्वजनिक सवारी चलिरहेको छ । खाँदबारीबाट ८० किमि उत्तर वरुण नदीसम्म पनि यातायातका साधन सञ्चालनमा छन् ।
खाँदबारी–किमाथांकाको दूरी एक सय ६२ किमि छ । त्यसमध्ये १ सय ४४ किमि ट्रयाक खोलिसकिएको ज्ञवालीले जानकारी दिए । प्रमुख इन्जिनियर ज्ञवालीका अनुसार वर्षा सकिएसँगै चाडपर्व आएकाले तीव्र गतिमा काम हुन सकेको छैन । उनले भने, ‘अब चाडपर्व सकिएपछि कामले गति लिनेछ ।’
वरुण नदीभन्दा उत्तर ३४ किलोमिटर सडक पनि ग्राभेल भइसकेको छ । तर, यातायात सञ्चालन खुला गरिएको छैन । बरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चार खण्डमा बाँडेर काम अगाडि बढाइएको ज्ञवालीले बताएको समाचारमा उल्लेख छ ।