Thursday, November 7, 2024

लोप हुँदै पश्चिम नेपालका रैथाने धान

नेपालगञ्ज – पश्चिम तराईमा उत्पादन हुँदै आएको मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेको छ। किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थाले पछि स्थानीय जातका धानहरू हराउँदै जान थालेका हुन।

स्थानीय जातको धानको बजार भाउ अन्य धानको तुलनामा धेरै छ। तर, उत्पादन कम हुने भएकाले बाँके र बर्दियाका किसानहरूले स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातका धानको खेती गर्न छाडेर बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेका छन्।

मसिनो, बास्नादार र स्वादिलो भएका कारण स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताहरू बीच लोकप्रिय छ। पछिल्लो समय नेपालको तराई भेगमा ७४, मध्यपहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुँदै आएको छ।

कालानमक धान

वर्षेनी नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जातहरू संकटनमा पर्ने खतरा बढ्दै गएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक रामदास चौधरी बताउँछन्।

पछिल्ला दिनहरूमा किसानका खेतमा कालो रंगका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बालाहरू झुलेको देखिन छाडेको छ। अन्य जातका पहेला धान जताततै झुलेको देखिन्छ। जनसंख्या बढ्दै गएका कारण मिठो मसिनो भन्दा पनि परिवारका सबै सदस्यहरूले पेटभरी खानु पर्ने भएकाले कम स्वादिलो भए पनि उन्नत र हाइब्रिड जातका धानखेती गर्नुपर्ने अवस्था आएको बाँके खजुराका किसान गोब्रेप्रसाद बर्माले बताए।

उनका अनुसार मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानकाे भन्दा धेरै पानी चाहिन्छ । उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ।

कृषि वैज्ञानिक चौधरीका अनुसार रैथाने जातका ती धानहरूलाई तयार हुनका लागि १ सय ३५ देखि ४० दिन लाग्छ भने नयाँ उन्नत तथा हाइब्रिड जातका धानहरू १ सय २० देखि २५ दिनमा तयार हुन्छन्। बाँकेमा करिब ३६ हजार ५ सय हेक्टरमा धानखेती हुँदै आएको भए पनि खेतीयोग्य जमिन मध्ये करिब ३० प्रतिशत क्षेत्रमा मात्रै सिचाईको सुविधा छ।

करिब ७० प्रतिशत क्षेत्रमा सिचाईको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिरा जस्ता स्थानीय जातका धानहरू खेती गर्न छाडेर सुख्खा सहन सक्ने राधा ४, सुख्खा १ देखि सुख्खा ६ सम्मका उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्।

रैथाने जातका धानहरू प्रति हेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुन्छ।

पश्चिम तराईमा खेती हुँदै आएको बासमती, कालानमक र स्यामजिरा जस्ता स्थानीय जातका धानहरूलाई लोप हुन नदिन नेपाल कृषि अनुसन्धान परिषद्ले ती जातका बिउहरूलाई संकलन गरेको छ।

पछिल्लो समय पश्चिम नेपालमा लामो समयदेखि किसानहरूले खेती गर्दै आएका लोपोन्मुख अवस्थामा रहेको रातो अनदी, गर्रा , कराङ्गी मेघादूत, तिल्की, घिनुवा, मानसरा, अन्जना, लगायत २९ वटा स्थानीय जातका धानका बिउहरू संकलन गरी ती धानहरूमा रहेको जीन बैँकमा सुरक्षित रुपमा राखिएको छ।

त्यसैगरी, राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र धनुषाले अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रको सहयोगमा नेपालका रैथाने जातका धानहरूको गुणहरू भएका नयाँ उन्नत धानको जात तयार पार्नका लागि अध्ययन अनुसन्धान गरिरहेको कृषि वैज्ञानिक चौधरीले बताए।

धानबाली अनुसन्धान केन्द्रले रैथाने जातका धानहरूमा भएका रोग सहन सक्ने क्षमता, सुख्खा तथा डुबानको अवस्थामा खेती गर्दा देखिने समस्याका अतिरिक्त बास्ना तथा स्वाद लगायतका विशेषताहरूका बारेमा अध्ययन गरिरहेको छ।

केन्द्रले रैथाने जातका धानमा पाइने राम्रा गुणहरूलाई धानका उन्नत जातमा क्रसिङ गरी रोग सहन सक्ने र बढी उत्पादन हुने जातहरू विकास गर्ने लक्ष्य राखेको छ।

नयाँ जातको धान तयार गरी त्यसलाई किसानको खेतबारीसम्म पुर्याउनका लागि करिब १५ वर्ष सम्म अध्ययन अनुसन्धान गरी त्यसका विभिन्न मापदण्ड पुरा गर्नुपर्छ।

नेपालका रैथाने जातका धानका गुण भएको, उत्पादन धेरै हुने, कम पानी लाग्ने र छिटो पाक्ने धानका नयाँ जात विकसित गर्नका लागि कृषि वैज्ञानिकहरूले निरन्तर प्रयास गरिरहेको धान बालीमा काम गर्दै आएका कृषि वैज्ञानिक चौधरीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार