Thursday, November 7, 2024

उच्च वायु प्रदूषणको चपेटामा लुम्बिनी

लुम्बिनी– विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी उच्च वायु प्रदूषणको चपेटामा परेको छ। वातावरण विभाग र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) को तथ्यांक अनुसार लुम्बिनीले दुई वर्षयता उच्च वायु प्रदूषण खेपिरहेको छ।

रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका, गुरवनियामा बस्ने सिता खनालको घर अगाडि र पछाडि नै छड र सिमेन्ट कारखाना छ। वर्षाैदेखि सञ्चालनमा रहेका यी उद्योगबाट निस्कने धुलोधुवाँ सहेर उनी लगायत धेरै स्थानीय बसिरहेका छन्।

खनालले आफूहरू प्रदूषणका कारण सधैं बिरामी पर्ने गरेको बताइन्। उनले भनिन्, ‘एक पटक लागेको रूघाखोकी सञ्चो नै हुँदैन। सधैंभर प्रदूषणले असर पारिरहेको छ।’

यस क्षेत्रमा प्रदूषणको कारण सीता जस्ता धेरै स्थानीयले यस्तो समस्या भोग्दै आएका छन्। तर, उनीहरूको समस्याको सुनुवाइ गर्ने सबै निकाय मौन छन्।

उनले स्थानीय सरकारले उच्च प्रदूषण रोक्न कुनै पहल नगरेको उनले आरोप लगाइन्। उनी भन्छिन्, ‘गाउँपालिकाको अध्यक्षले आजसम्म प्रदूषणको बारेमा बोल्नु समेत भएको छैन।’

भैरहवा लुम्बिनी सडकखण्डको दायाँबायाँ रहेका ३ दर्जन बढी उद्योगका लागि चाहिने सामान भारतबाट सयौं गाडीमा दैनिक ल्याइन्छ। त्यही गाडीको धुलो अनि धुवाँले पनि प्रदूषण बढिहरेको छ। सिमेन्ट कारखानाको लागि चाहिने चुन तथा खरानी आदि गाडीले धूलाे उडाउँदै ल्याउँछ । साथै चुन र खरानी पनि त्यतिकै मात्रामा उड्छ ।

स्थानीयका अनुसार उद्योगबाट दिउँसोभन्दा राति कालो धुवाँ निस्कने गरेको छ। पहिला ८ घण्टा चल्ने उद्योग १२ घण्टा हुँदै अहिले १८ घण्टासम्म चल्ने गरेको छ।

लुम्बिनीमा प्रदूषणको कण २.५ पार्टिकुलर म्याटरमा गणना गर्दा १ सय ५५ मिलिग्राम घनमिटर रहेको छ। २.५ मा मापन गर्दा नेपालको स्तर अनुसार ४० लाई सामान्य मानिन्छ। यो तथ्यांक अनुसार लुम्बिनीमा स्वास फेर्नु पनि खतरनाक भएको विज्ञको भनाइ छ।

कपालको रौंभन्दा पनि सानो रौंलाई पिएम भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार २.५ पिएम कण भएमा यसले मानव स्वास्थ्यमा क्यान्सर, निमोनिया, स्ट्रोक जस्ता भयानक रोग निम्त्याउँन सक्छ। संगठनका अनुसार वायु प्रदूषणको कारण नेपालमा ३० हजार मानिसको मृत्यु हुने गरेको छ।

भैरहवा लुम्बिनी सडकका दुईतर्फ रहेका ३५ भन्दा बढी विभिन्न सिमेन्ट, छड, कागज, इँटा, खाद्य कलकारखानाबाट निस्कने धुलोधुवाँले लुम्बिनी क्षेत्रलाई नै प्रदूषित बनाइरहेको छ।

यस क्षेत्रको प्रदूषणले स्थानीयमा गम्भीर स्वास्थ्य समस्या मात्र निम्त्याएको छैन् यसले पर्यटन उद्योगलाई समेत नकारात्मक असर गरिरहेको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले विश्वमा परिचित एवं गौतम बुद्धको जन्मस्थल लुम्बिनी उच्च वायु प्रदूषणको चपेटामा पर्दा यसले पर्यटन क्षेत्रलाई पनि उत्तिकै असर गरेको पर्यटक गाइड वीरेन्द्र नाथ पाण्डे बताउँछन्। ‘हामी धुलोमा समेत बस्न अभ्यस्त भइसकेका छौं। तर, दम, रुघाखोकी लगायत रोगले च्याप्छ,’ उनी भन्छन्, ‘बाह्य पर्यटकलाई त लुम्बिनीमा टिक्नै गाह्रो छ। यसले दीर्घकालिन रुपमा पर्यटन क्षेत्रमा समस्या देखिन सक्छ।’ उनले बाटोको दायाँबायाँ वृक्षरोपण गरेर हरियाली बनाउनुपर्ने र उद्योगलाई अन्यन्त्र सारेर पर्यटकीय नगरीलाई वातावरणमैत्री बनाउन आग्रह पनि गरे।

उद्योगबाट निस्केका धुवाँधुलोले स्थानीय बासिन्दा, बोटविरुवा, बस्तुभाउमा समस्या त निम्तिएको छ। साथै उद्योगबाट निस्केका फोहोर सिधै खोलानालामा मिसाउँदा यहाँका नदी पनि प्रदूषित हुँदै गएकोमा स्थानीयवासी चिन्तित छन्।
खोलामा माछा मारेर गुजारा गर्ने स्यामलाल मुन्सीले भने, ‘पुरै पानी कचडाले भरिएको छ। सबै फोहोर छ। माछा एउटै भेटिँदैन।’

स्थानीय समाजसेवी लालप्रसाद लोडले केही उद्योगले सिधै खोलामा पानी मिसाएको बताए। ‘जसकारण खोलामा प्रदूषण बढेको छ। पानी पनि धमिलोे कालो बनेको छ,’ उनले भने।

भैरहवा लुम्बिनी क्षेत्रमा रहेको उद्योगमा धेरै स्थानीयले रोजगारी पाएका छन्। यसकारण उनीहरूले प्रदूषणको खुलेर विरोध गर्न सकेका छैननु। स्थानीय उद्योग नै बन्द गर्ने भन्दा पनि प्रदूषण न्यूनीकरणमा उद्योगले ध्यान पुर्याउनुपर्नेमा जोड दिन्छन्।

देश आत्मनिर्भर हुन उद्योगको ठूलो भूमिका रहन्छ। तर, विकास गर्दै गर्दा वातावरणीय पक्षलाई विषेश ध्यान नदिए यसले धेरै पक्षको विनाश पनि गर्छ। लुम्बिनी क्षेत्र यसको उदाहरण बनेको छ।

लुम्बिनी क्षेत्रमा विसं २०५५साल देखि उद्योग स्थापना क्रम सुरु भएको थियो। लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढाबाट मात्र उद्योग खोल्न पाउने नियम विपरित साढे १२ किलोमिटरमा नै उद्योग सञ्चालनमा छन्।

औद्योगिक व्यवसाय ऐन २०७३ को नियमावली अनुसार उद्योगले वातावरणीय असरको निराकरण गर्नुपर्ने हुन्छ। विगत २० वर्षदेखिका पुराना र बन्दै गरेका नयाँ उद्योगले वातावरणीय प्रभावलाई कम गर्न पहल गरेको दाबी गरेपनि त्यो व्यवहारमा लागु भएको देखिँदैन।
भैरहवादेखि लुम्बिनीसम्म जाने राजमार्गको दुवैतिर सिमेन्ट कारखानाका श्रृङ्खला देख्न सकिन्छ।

लुम्बिनी क्षेत्रमा रहेका उद्योग
सिमेन्ट उद्योग                                        बिजनेस हाउस                        व्यक्ति
१ अर्घाखाँची सिमेन्ट उद्योग                        सिद्धार्थ ग्रुप                       जगदीश अग्रवाल
२) जगदम्बा सिमेन्ट उद्योग                        सौरभ ग्रुप                         बिष्णु न्यौपाने
३) ब्रिज सिमेन्ट उद्योग                             कैडिया अर्गनाईजेशन             हिरालाल कैडिया
४) सिद्धार्थ सिमेन्ट उद्योग                          सिद्धार्थ ग्रुप                       सिद्धार्थ ग्रुप
५) अग्नि सिमेन्ट उद्योग                           एपेक्स ग्रुप
६) गोयन्का सिमेन्ट उद्योग                        गोयन्का ग्रुप
७) रिलायन्स सिमेन्ट उद्योग                       रिलायन्स ग्रुप                     तोदी तथा चेनवाला अग्रवाल समूह
८) सुप्रिम सिमेन्ट उद्योग                           मुरारका अर्गनाईजेशन            पशुपति मुरारका
९) नेपाल अम्बुजा सिमेन्ट उद्योग
१०) पाठक सिमेन्ट उद्योग प्रा.लि.                पाठक ईन्डष्ट्रीज प्रा. लि.         बाबूराम पाठक
११) विशाल सिमेन्ट उद्योग                       विशाल सिमेन्ट ईन्डष्ट्रीज         श्यामलाल वैद्य
१२) अम्बे सिमेन्ट उद्योग                         अम्बे सिमेन्ट ईन्डष्ट्रीज          शोभाखर न्यौपाने

भैरहवा देखि लुम्बिनीसम्म सडकको दुबै तिर रहेका यी सिमेन्टहरूले दैनिक लगभग एक लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमान गरिएको छ। देशको कुल सिमेन्ट उत्पादनका ४० प्रतिशत भन्दा बढी सिमेन्ट यी उद्योगहरूले उत्पादन गरिरहेका छन।
थप उद्योग
क) जगदम्बा ग्रुप–
१) जगदम्बा धागो मिल
२) जगदम्बा सिन्थेटिक – सिन्थेटिक बोरा मिल
ख ) गोयन्का ग्रुप –गोयन्का स्टिल्स प्रा.लि.
ग ) अम्बे ग्रुप    –अम्बे स्टिल्स प्रा.लि.
घ ) रिलायन्स ग्रुप –रिलायन्स पेपर मिल
ङ ) सिद्धार्थ ग्रुप    –सिद्धार्थ फ्लावर मिल

लुम्बिनी क्षेत्रमा सञ्चालित सिमेन्ट उद्याेग । तस्बिर : विद्या राजपूत

भैरहवा रुपन्देही सडक छेउछाउ र लुम्बिनी वरिपरि इँटा उद्योगको संख्या पनि उल्लेख्य छ। यी इँटा उद्योग प्रदूषणको अर्को कारक हुन्। विशेषगरी कोइला प्रयोग र इँटाका चिम्नीबाट निस्किने धुवाँको मुस्लोले वायु प्रदूषण बढाइरहेको छ।
लुम्बिनी वरिपरि लगभग ३१ वटा इँटा उद्योग रहेको तथ्यांक व्यवसायीहरूबाट पाइएको छ।

लुम्बिनीका चारैतिर खोलिएका र खुल्दै गरेका प्रदूषण फैलाउने उद्योेगहरू लुम्बिनीको दीर्घकालीन भविष्य र यसको वातावण संरक्षणमा डर लाग्दो चुनौतीको रुपमा उभिन पुगेको छ।

यसै सेरोफेरोमा नेपाल वातावरण पत्रकार समूहले गत असोज ११ गते लुम्बिनीमा औद्योगिक प्रदूषण विषयमा सरोकारवालासँग सञ्चार बहस आयोजना गरेको थियो। ‘सञ्चार बहसः लुम्बिनीमा औद्योगिक प्रदूषण’ विषयक उक्त बहसमा प्रदेश नम्बर पाँचमा रहेको स्थानीय सरकार, प्रदेश सरकार, संचारकर्मी तथा स्थानीय उपस्थित थिए।

अनुसन्धानकर्ता भिकु विवेकानन्दले लुम्बिनीमा रहेका विभिन्न उद्योगले निकाल्ने विभिन्न कणले धेरै प्रदूषण गरिरहेको बताए। लामो समयदेखि लुम्बिनीको बारेमा अध्ययन गरिरहेका विवेकानन्दले उद्योगका लागि आउने सवारी साधनले सडक जाम गराउने र धुवाँ धुलो पनि उत्तिकै फालिरहेको बताए। उनले लुम्बिनीदेखि उद्योगहरू धेरै टाढा नभएको बताउँदै ५ किलोमिटरको हवाइ दूरीमा रहेका उद्योगहरूले पुरै वायुमण्डल नै प्रदूषित बनाएको जानकारी दिए।

नेपाल वातावरण पत्रकार समूहले अायाेजना गरेकाे सञ्चार बहसका सहभागीहरू

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले २.५ पिएमको असरले सिधै मानिसको फोक्सोमा हानी पुर्याउने बताए । उनले भने, ‘२.५ को कणले स्ट्रोक, मुटुरोग, क्यान्सर र फोड्रिक निमोनिया निम्त्याउँछ।’ २.५ कणले सबैभन्दा बढी संसारभरि बालबालिका प्रभावित भएको उनले बताए।

विश्व स्वास्थ्य संगठनको तथ्यांक प्रस्तुत गर्दै ढकालले नेपालमा झण्डै ३० हजार मानिसहरू वायु प्रदुषणको कारण मर्ने जानकारी दिए । उनले भने, ‘नेपालमा भूकम्पमा मरेको भन्दा ४ गुणा मानिसहरू प्रत्येक वर्ष हावा प्रदुषणको कारणले मर्ने गर्छन् । यो विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनको तथ्यांक हो।’

त्रिभुवन विश्वविद्यालय प्राध्यापक जितु गिरीले भने बहसमा अरुको भन्दा फरक बिचार राखे। उनले कार्यक्रममा प्रस्तुत भएका तथ्यांकमाथि नै शंका व्यक्त गरेका थिए। उनले लुम्बिनी डेभलेपमेन्ट ट्रस्ट, नगरपालिकाका मेयरलाई स्मार्ट सिटीको कम्पोनेन्ट के हो ? भनी प्रश्न गरे।

समूहका सदस्य निमेष रेग्मीले हामी आफू चैं सफा हुनुपर्ने तर हाम्रो शहर चाहीँ सफा गर्नु नपर्ने सोचाइले आम नेपाली ग्रसित भएको बताए । उनले विकाश र औद्योगीकरणसँग जोडिएको बताउँदै देशले एकदम ठूलो फड्को मार्नु पर्ने जिकिर गरे। उनले भने, ‘विकाश राम्राको लागि हो तर विकाश गर्दा कसरी कम भन्दा कम वातावरणीय क्षतिमा गर्न सकिन्छ भन्ने सोच्नु पर्छ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी विकाश कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच सहकार्य हुन आवश्यक भएको बताए। उनले भने, ‘लुम्बिनीमा प्रदूषण रोक्न केही योजना बनाएर अगाडि बढ्दै छौं।’

यसैगरी लुम्बिनी क्षेत्र विकाश कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले उद्योगको प्रदूषण रोक्ने अधिकार आफूसँग नभएको बताए । उनले भने, ‘हामीले स्थापना हुन लागेको उद्योग र त्यो उद्योग कोषको कार्यालयबाट कति मिटरको दूरीमा छ । त्यो बताइदिने मात्रै हो।’ भट्टराईले भने, ‘त्यो बाहेक त्यो उद्योगले धुवाँ फाल्छ फाल्दैन, त्यो कम गर्नुपर्छ पर्दैन त्यो हाम्रो काम होइन । हामीलाई त्यो अधिकार दिएको छैन।’

बहसमा नेपाल वातावरण पत्रकार समूहका सदस्य नारायण सापकोटाले लुम्बिनीमा ४२ वटा मन्दिरहरू भएको र यहाँको फोहरलाई कसरी व्यवस्थापन गर्ने भनेर प्रश्न गरेका थिए । उनले भने, ‘यो डम्पिङ्ग साइटको पनि व्यवस्था गर्नुपर्छ । यहाँ धेरै समस्याहरू छन् तर यो समस्यालाई पहाड बनाउन हुँदैन । ’उनले समस्यालाई कसरी समाधान र निराकरण गर्ने, लुम्बिनीलाई पर्यटकीय रुपमा कसरी आर्कषित गर्ने भन्नेमा विषेश जोड दिनुपर्ने बताए।

प्रदेश पाँचका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीमा रहेका उद्योगबाट निस्केका प्रदूषण रोक्न धेरै कानुनहरू भएपनि त्यो कार्यान्वयनमा नआएको बताए। उनले यो कार्यान्वयन गर्न अझै कानुन नपुगेको बताउँदै त्यसमा आफूले काम गरिरहेको बताए।

मन्त्री गिरीले भने, ‘मुलुुक अब औद्योगीकरणतर्फ गएन भने सधैं व्यपार घाटामा जानेछ। उद्योगको विकाश हामीले गर्ने हो। मापदण्ड अनुसार उद्योग चलाउन पर्यो।’

उनले उद्योगीहरूसँग बसेर यस विषयमा कुरा गरियो भने यो समस्या छिट्टै समाधान हुने बताए। उनले भने, ‘उद्योगपति सँग बसेर सल्लाह गछौं। यो कानुनको मापदण्ड पुरा गरे उद्योग चलाउन आग्रह गर्छौं।’

ताजा समाचार

सम्बन्धित समाचार