काठमाडौँ – दशैँ र तिहार जस्ता प्रमुख चाडपर्वहरूमा मासुको माग अत्याधिक बढी हुन्छ । चाडपर्वमा मासु खाने चलन पछिल्ला वर्षहरूमा बढ्दै गएको छ।
चाडपर्वका लागि आवश्यक पर्ने मासुको माग नेपाल मै उत्पादन भएका खसीबोकाले मात्रै धान्न नसके पछि भारतबाट बर्सेनि ठूलो परिमाणमा खसीबोका आयात हुँदै आएको छ।
दशैँको चहल पहल शुरु भएसँगै पश्चिम नेपालको नेपालगञ्ज नाका हुँदै खसी बोका भित्रिने क्रम पनि बढ्दै गएको छ।
नेपालगञ्जका व्यापारीहरूले भारतको नानपारा, काल्पी, हरदुई लगायतका खसी बजारबाट खसी बोका आयात गरी नेपालगञ्ज भित्राउँछन । भारतबाट भित्राइएका खसीबोकाहरूलाई पशु क्वारेन्टाईन चेक पोष्ट नेपालगञ्जको बिश्राम क्षेत्र ( होल्डिङ एरिया ) चेक जाँच तथा एक दिन बिश्राम गराइन्छ।
चेक जाँचका क्रममा स्वस्थ पाइएपछि पानी तथा दानाहरू खुबाएर ट्रकमा लोड गरेर राजधानी लगायतका अन्य शहरहरूमा पठाइन्छ।
नेपालगञ्जबाट राजधानी तथा अन्य शहरमा खसीबोका पठाउनका लागि ट्रकमा लोड गर्दा कुट्दै पिट्दै कोचाकोच गरेर लोड गरिन्छ । ट्रकको पछिल्लो भागलाई दुई वटा भागमा बाडेर खसीबोकालाई कोचाकोच गरेर राखिन्छ।
खसीबोका व्यवसायीहरूका अनुसार एउटा ट्रकमा १ सय ९५ देखि २ सय ६० वटा सम्म खसीबोका लोड गरिन्छ।
दशैँ तिहार जस्ता नेपालीका प्रमुख चाड पर्वको बेला भारतबाट नेपालगन्ज नाका हरेक हप्ता करिब २ हजार सम्म खसीबोका नेपाल भित्रने गर्छन।
पछिल्ला वर्षहरूमा भारतबाट नेपालगन्ज नाका हुदै भित्रिने खसी बोकाको परिमाणमा वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०७३÷०७४ मा नेपालगन्ज नाका हुँदै २ लाख १० हजार ८ सय ७६ खसीबाोका आयात भएकोमा गत आर्थिक वर्ष २०७४÷०७५मा २ लाख १८ हजार ४ सय १६ वटा खसी बोका भित्रिएका छन्।
गत आर्थिक वर्षको साउन भदौ र असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोजको तेस्रो साता सम्मको तथ्याङ्क अनुसार यो वर्ष करिब ६५ प्रतिशतले खसी बोकाको आयातमा कमी आएको पशु स्बाबारेन्टाइन चेक पोष्ट नेपालगन्जले जनाएको छ।
नेपालगञ्जबाट राजधानी लैजादा सडकको अवस्था खराब भएका कारण धेरै ठाउँमा जाममा पर्ने, बन्द हडताल धेरै हुने गरेका कारण बाटैमा धेरै समय रोकिएर बस्नु पर्ने, बाटोमा गाडी बिग्रने जस्ता समस्याका धेरै आउन थाले पछि व्यवसायीहरूले भारतबाट आयात गर्ने नाका नै फेर्न थालेका छन।
बिगतका वर्षहरूमा नेपालगञ्ज नाका हुँदै नेपाल भित्रने खसीबोका यो वर्ष कृष्णनगर नाका हुँदै भित्रिएका कारण नेपालगन्ज नाका हुँदै भित्रिनेको संख्यामा कमी आएको हो।
भन्सार विभागले यसै वर्षदेखि खसीबोका आयातमा भन्सार शुल्क दोब्बर वृद्धि गरेर प्रति गोटा ६ सय पुराएका कारण पनि खसीबोकाको आयातमा केही कमी आएको खसी व्यवसायी रिजबान अहमद कुरैसीले बताए।