Thursday, November 7, 2024

टेकोमा अडिएको नुवाकोटको साततले दरबार

काठमाडौं–तीनवर्ष अगाडि चीन सरकारले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको नुवाकोटको ऐतिहासिक साततले दरबारको अहिलेसम्म निर्माण कार्य शुरु भएको छैन।

१२ वैशाख २०७२ को भूकम्पले क्षति पुर्याएको उक्त दरबारको २०१५ को अगष्टमा तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि चिनियाँ राजदूत यू होङले अवलोकन गरेका थिए। अवलोकनको क्रममा राजदूतले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म निर्माणको काम शुरु हुन सकेको छैन।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर दरबार पुनर्निर्माणका लागि पटक–पटक छलफल भएपनि औपचारिक रुपमा सम्झौता हुन सनेकेको बताउँछन्। ‘छलफलका क्रममा चीन सरकारले साततले दरबार पुनर्निर्माण गर्नेे प्रतिबद्धता जनाएको हो तर अहिलेसम्म औपचारिक सम्झौता भएको छैन,’ कुँवरले भने, ‘चाँडै नै सम्झौता हुने भनिएको छ। सम्झौता पश्चात निर्माणको काम शुरु हुनेछ।’

पुनर्निर्माणको अभावमा कुनै समय बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो लाग्ने नुवाकोट दरबार संग्रहालय यति बेला बिरानो बन्दै गएको छ। इतिहासको साक्षी नुवाकोटको साततले दरबार अहिले टेकोको भरमा अडिएको छ।

भूकम्पले क्षतविक्षत बनाएको ऐतिहासिक यो दरबार मर्मतसम्भार तथा पुनर्निर्माणको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको नुवाकोटको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फूँयाल बताउँछन्।

१८१९ माललितपुरबाट वास्तुकलाका प्रख्यात कालिगढ झिकाएर निर्माण गरिएको यो दरबारको अहिले अस्तित्व संकटमा परेको छ।

भूकम्प गएको ४ वर्ष हुनलाग्दा समेत दरबारले संरक्षण पाएको छैन। एक त भूकम्पले थङथिलो बनाएको त्यसमाथि बर्खाको पानी यो दुबैको भार खेप्दै आइरहेको दरबारले अहिले आफूलाई टेकोको भरमा उभ्याइरहेको छ।

२ सय ५६ वर्ष पूरानो यो दरबार पृथ्वीनारायण शाहले मल्ल राजाहरूको घमण्ड तोड्न मन्दिर शैलीको नौ तले दरबार बनाउन लगाएको इतिहासकारहरू बताउँछन्। शुरुमानौ तलाको यो दरबार १९९० सालको भूकम्ले दुई तला भत्काएपछि सात तलामा झरेको थियो।

मल्लकालीन समयमा मल्ल राजाहरूले पाँचतला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने स्थिति बाँधे पनि पृथ्वीनारायणले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएको बताइन्छ।

बास्तुकलाको नमूना मानिएको नुवाकोट दरबारको संरचना, बन्दीलाई थुन्ने कालकोठरी, आँखीझ्याललगायत आकर्षणको केन्द्र थिए।

यो दरबारको छेवैमा रहेको रङ्गमहल, गारदभवन, नारायण मन्दिरको पनि अवस्था नाजुक छ। ऐतिहासिक महत्वकांक्षी सम्पदा पुनर्निर्माणको अभावमा आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार