काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा दशैँमा सिसडोल ल्याण्डफिल बन्द शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ । दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। उनले भने– ‘यो वर्ष पाँच दिनसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुनेछैन।’ लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको कामपाले फोहोर सुचारु हुन थालेपछि दशैं मनाउने वहानामा पाँच दिन फोहोर व्यवस्थापन नगर्ने भएको हो।
विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिए। उनले भने– ‘स्थानीयबासीको आग्रह र कर्मचारीको बिदा व्यवस्थापन गर्न फोहोर रोक्न लागेका हौं।’ स्थानीयले दशैंमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए।
कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न अपिल गरेको छ। ‘दशैंको समयमा कर्मचारीलाई समस्या पर्ने भएकाले घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं।’ –विभाग प्रमुख कुँवरले बताए। तर कामपाले केही कर्मचारीको सहयोगमा बाटोमा रहेका फोहोर संकलन गर्ने जनाएको समाचारमा उल्लेख छ।
नागरिक
–आजको नागरिकमा सडकले सहज दशैँ शिर्षकमा डिबी बुढाको समाचार छापिएको छ । तिला गाउँपालिका–९ का मोहन बोहोरा दसैंको किनमेल गर्न नजिकैको सिनानगर बजारमा पुगे । दसैंलाई चाहिने चामल, तेल र मसला लिएर घर फर्के।
विगतभन्दा अचेल किनमेलका लागि धेरै सहज भएको उनले सुनाए। ‘कुनै बेला दसैंमा अक्षता गर्ने चामल पाउन मुस्किल हुन्थ्यो। अहिले जताजतै चामल तथा अन्य सामान पाइन्छ। हामीलाई सडकले दसैंमा हुने दुःख बिर्साइदियो,’ उनले भने। केही वर्षअघि दसैंमा चाहिने सामान किन्न एक साताको समय लगाएर दैलेखको चुप्रा बजारसम्म पुग्नु परेको स्मरण गर्दै उनले भने, ‘अहिले आँगनमै सबै बस्तुको जोहो गर्न पाउँदा धेरै सुविस्ता भएको छ।’
आठ वर्षअघि खाद्य संस्थानमा पाच् केजी चामल लिन आउँदा निकै सास्ती पाएको चन्दननाथकी हिमाली सुनारले सुनाइन् । उनले भनिन्, ‘दसैं तिहारका लागि एक महिनाअघि लाइन लाग्दासमेत पाँच केजी चामल पाइन्नथ्यो तर सडक बनेपछि सबै सामान घर आँगनमै पाइन थालेको छ।’ पहुँच नहुनेले सेतो चामलको गेडा देख्नै मुस्किल पर्ने अवस्थाको अन्त्य भएको छ । दशक अघिदेखिको पीडा सुनाउँदै उनले भनिन्, ‘सडकले जोडिँदा बल्ल दसैंको अनुभूति गर्न पाएका छौें। अहिले सडकले आयआर्जनका क्रियाकलापमा पनि सहजता ल्याएको छ।’
यहाँका स्थानीयले सेतो चामल प्रयोग गर्नेले उच्च ओहोदामा रहेको अनुभव गर्थे, सुक्खा रोटी र सेतो नुन लटपटाएर खानेले हेपिएको ठान्थे । ‘अहिले सडकले काम दिएको छ, कामले दाम। दामले मामको जोहो भएको छ । सबै जुम्लावासीको दसैं राम्रै हुने भएको छ’, उनले भनिन्।
चन्दननाथ २ की विष्णुमाया महताराले विगतमा लाइनमा बस्नु परेको, रातिदेखि नै घरदेखि हिँड्नु परेको र पहुँचवालालाई भित्रैबाट बोलाएर चामल वितरण गरेको र आफूहरु निरीह भएर हेरिराखेको घटना भुलिसकेको बताउँछिन्। सडकले दसैंमा हुने पहुँचवालाको हालीमुहाली र पहुचविहीनको मौनता दुवैको अन्त्य गरेको बताएको समाचारमा उल्लेख छ।
त्यस्तै सिक्टा सिँचाइ छानबिन प्रतिवेदन : कर्मचारी र ठेकेदारलाई उन्मुक्ति शिर्षकमा बालकृष्ण ज्ञवालीको समाचार छापिएको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरबाही भएको यथार्थ जान्दाजान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ।
मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिञ्चाइ मन्त्रालयका उच्च अधिकारीहरूले आयोजनाको ठेक्का लगाउने काम गरेका थिए। यस्तै नहर निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीको काम पनि गुणस्तरयुक्त देखिएको छैन।
कान्तिपुर
–आजको कान्तिपुरमा भारतले नयाँ हवाई रुट थप्न मानेन शिर्षकमा सुरज कुँवरको समाचार छापिएको छ। नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन् ।
‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्राविधिकको वार्ताबाट टुंगिएन ।’ उनका अनुसार नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन नसकिने जनाएको छ ।
प्राविधिक तहको उक्त एकदिने बैठक बिहीबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो । ‘ढोका बन्दै भइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालमा पछिल्लो पटक बढ्दो हवाई चापमा उनीहरू पनि सघाउन चाहन्छन् । तर यस पटक टुंग्याउन सकिएन ।’
त्यस्तै रैथाने प्रजाति जोगाउने रहर शिर्षकमा भीम घिमिरेको समाचार छापिएको छ । लगानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ । व्यावसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे जातमा बल गर्नुस् । अन्नबाली, तरकारी र माछा होस् वा पशुपक्षीपालन । जे गर्नुस् सिफारिसकर्ता छिटो फाइदा दिने विकासे जातै सुझाउँछन् ।
पोखरामा डाँडानाक नजिकै भित्री बाटोका राजेन्द्र अधिकारीको सल्लाह भने अलि फरक छ । उनी भन्छन्, ‘विकासे होइन लोकल पाल्नुपर्छ । तरिका पुर्याए लोकलबाट पनि मनग्गे फाइदा लिन सकिन्छ ।’ उनको कुखुरा फार्म गएर हेर्नेले विकासे कुखुरापालनको सोच बनाएका छन् भने पनि थालिहाल्नुअघि अवश्य सोच्छन् । ‘ब्रोइलर जतासुकै पाइन्छ तर लोकलको स्वाद जिब्रोमा बसेकाहरूले सकेसम्म गाउँघरमा पालेकै कुखुरा खोज्छन्,’ उनी भन्छन्, ‘लोकल धेरैले व्यावसायिक तरिकाले पाल्दैनन् । पाले घाटा लाग्ने कुरै छैन ।’ अध्ययनका हिसाबले अधिकारी स्वास्थ्यकर्मी हुन् । लामो समयदेखि विकासे कार्यकर्ताका रूपमा गैरसरकारी संस्थामार्फत खानेपानी र सिँचाइका परियोजनाहरूमा काम गरिरहेका उनले देशका विभिन्न जिल्ला पुगेर भूगोलपिच्छे कुखुराका फरक–फरक रैथाने प्रजाति देखेका छन् । ‘मेरो अध्ययनको विषय कुखुरा होइन तर योबारे बुझ्न रहर लागेदेखि तरिका पुर्याए फाइदा हुने नै देखेको छु,’ उनी भन्छन्, ‘हामीले अहिले गाउँघरमा पाल्ने गिरिराजजस्ता केही जात इन्डियाले विकसित गरेपछि भित्रिएको छ । खोज्दै गए हाम्रा आफ्नै रैथाने प्रजाति पनि कमका छैनन् ।’