काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा काष्ठमण्डपलाई थप पाँच करोड शिर्षकमा समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि शनिबार पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ । मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण समिति अध्यक्ष तथा सांसद राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् । २०७२ को भूकम्पले काष्ठमण्डप पूरै क्षतिग्रस्त हुन पुगेको थियो ।
महानगरले यसअघि समितिलाई ५० लाख रुपैयाँ दिइसकेको छ । काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले चालु वर्ष आठ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘काष्ठमण्डप पूर्णरूपमा महानगरपालिकाले बनाउनेछ,’ रकम हस्तान्तरण गर्दै मेयर शाक्यले भने । उनले चालु आवमा कम्तीमा एक तला निर्माण हुने दाबी पनि गरे । अहिले काठ र इँटा खरिद प्रक्रिया चलिरहेको छ ।
पुनर्निर्माणमा १८ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । महानगरले हनुमानढोका क्षेत्रको संवद्र्धनका लागि ‘हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम’ सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत महानगरले भूकम्पबाट आंशिक र पूर्ण क्षतिग्रस्त सम्पदा पुनर्निर्माण, जीर्णोद्धार र मर्मतसम्भार गरिरहेको समाचारमा उल्लेख छ ।
त्यस्तै मेलम्ची सुरुङ ढलान : १४ किमि सकियो शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ । मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए । ‘सुरुङभित्र धमाधम ढलान भइरहेको छ,’ उनले भने । ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिनेलगायत कानुनी प्रक्रिया पूरा गरिसकिएको उनले बताए । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्याल्थुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ ।
‘पहिले माथिबाट प्वाल पार्ने योजना थियो, अब सुरुङभित्रबाट प्वाल बनाइनेछ, यो नयाँ प्रविधि हो,’ उनले भने, ‘मेसिन ल्याइसकेका छौं ।’ हालको मेसिनबाट भेन्टिलेटर निर्माण गर्दा वनजंगलको क्षति नहुने उनले बताए । अम्बाथान हेडवक्र्समा समेत काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सम्पूर्ण आरसीसी ढलान गर्ने काम ८० प्रतिशत पूरा भइसकेको छ । ‘स–सानो काम छ, त्यो सूक्ष्म किसिमबाट भइरहेको छ,’ उनले भने ।
सरकारले असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको थियो तर ठेकेदारको लापरबाहीले गर्दा काममा ढिलाइ भएको प्रमुख कँडेलले बताए । ‘काम सम्पन्न हुन अब धेरै समय लाग्दैन,’ उनले भने, ‘यांग्री र लार्केबाट दैनिक १७र१७ करोड लिटर पानी ल्याउने आयोजना निर्माणका लागि डीपीआर पनि स्वीकृत हुने चरणमा छ ।’
नागरिक
–आजको नागरिकमा सिक्टा प्रतिवेदन मन्त्री पुनलाई शिर्षकमा समाचार छापिएको छ। सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा देखिएको अनियमितता छानबिन गर्न गठित समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ। आगामी आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ।
सिक्टामा अनियमितताबारे छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति गठन गरेको थियो। छानबिन समितिले आयोजना निर्माणमा व्यवस्थापकीय कमजोरी भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइको पश्चिम खण्डको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्केपछि निर्माणमा अनियमितताको शंका गरी मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले सिक्टाको स्थलगत अध्ययन गर्नुको साथै माटोको परीक्षण समेत गरेको छ। स्थानीयले सिक्टा सिँचाइको मूल नहर निर्माणमा कर्मचारी र ठेकेदारको मिलेमतोमा गुणस्तरहीन काम भएको बताइरहेका छन्। स्थानीयले सिक्टामा अनियमितता भएको दाबी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको समाचारमा उल्लेख छ।
त्यस्तै विपद व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन गरिने शिर्षकमा अर्को समाचार छापिएको छ । गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन गरिने बताएका छन् । विपद् व्यवस्थापनका लागि सरकारले छुट्टै प्राधिकरणको आवश्यकता महशुस गरेकाले नियमावली मस्यौदा तयार हुँदै गरेकाले केही समयपछि प्राधिकरण गठन हुने बताएका हुन् । प्रकोप न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा १८ लाखले काठमाडौँ छाडे शिर्षकमा अर्जुन पौडेलको समाचार छापिएको छ । दसैँ मनाउन घर जाने १८ लाखले काठमाडौं छाडिसकेका छन् । फूलपातीसम्म थप ५ लाखले उपत्यका छाड्ने अनुमान रहेको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।
रोजगारी, अध्ययन तथा व्यवसायका लागि देशभरबाट काठमाडौं आएर बस्ने ठूलो जनसंख्या दसैँका लागि आ–आफ्नो घर फर्किने गर्छ । पछिल्लो हप्तादेखि दिनहुँ डेढ लाखभन्दा बढीले उपत्यका छाड्ने गरेको प्रहरीले जनाएको छ । ‘शुक्रबार मात्रै १ लाख ५७ हजार बाहिरिएका छन्, फूलपातीसम्म थप ५ लाख बाहिरिने अनुमान गरेका छौँ,’ पन्तले भने ।
अहिले दैनिक साना–ठूला गरी दैनिक १८ हजार यात्रुबाहक सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेका छन् । ठूलो संख्यामा सवारीसाधनले यात्रु ओसार्दा पनि दसैँको चाप थेग्न मुस्किल परिरहेको छ । तर, दसैँमा घर जानेको सुविधाका लागि यातायात व्यवस्थापनमा प्रहरीले विशेष कार्यक्रम चलाइरहेको ट्राफिक प्रहरी प्रमुख पन्तले बताए ।
सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र छतमा यात्रु राख्न नदिन कडाइ गरेको उनको भनाइ छ । यस्तै, दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम चलाएको तथा यातायातका साधन चेकजाँचको व्यवस्था मिलाइएको समाचारमा उल्लेख छ ।