काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा कोसीमा जलयात्रा फेरि सुरु शिर्षकमा समाचार छापिएको छ । कोसी, अरुण र दूधकोसी क्षेत्रको पर्यटनमा सघाउन भनेर गत वैशाखदेखि सुरु भएको जेटबोट जलयात्राले दसैं तिहारको पूर्वसन्ध्यामा यात्रु ओसार्न व्यस्त छ ।
वर्षाका बेला करिब ४ महिना रोकिएको कोसीमा जेटबोट जलयात्रा पर्वको अवसरमा फेरि सुरु भएको हो । दसैंमा मधेसबाट पहाड जाने र पहाडबाट मधेस झर्ने यात्रुका लागि जलयात्रा रोमाञ्चक मात्र नभएर घर पुग्ने दूरी र समय छोट्याउने माध्यम बनेको छ । सुनसरीको बराहक्षेत्रसँग भोजपुर, धनकुटाका दक्षिणी भेकका यात्रुको घर पुग्ने समय र दूरी छोट्याइदिएको भोजपुर घोडेटारका जयबहादुर कार्की बताउँछन् । बराहक्षेत्रको साविक महेन्द्रनगरस्थित चक्रघट्टीबाट घर हिँडेका बेला जेटबोटमा भेटिएका उनले भने, ‘जेटबोट नचल्दा घर पुग्न कम्तीमा एक दिन एक बिहान लाग्थ्यो । अहिले बिहानको खाना खान घर पुग्न पाएको छु ।’
त्यस्तै अचाक्ली महँगी शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ। माग र बिक्री बढ्ने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य वस्तुको मूल्य बढाएका छन्। अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतिशतले मूल्य बढेको सरोकारवाला बताउँछन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले १५ प्रतिशत मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेर ‘उपहार’ दिएको बताए । सरकारले यातायातको सिन्डिकेट तोडेको दाबी गरे पनि १० प्रतिशत भाडा वृद्धि भएको छ।
भुक्तभोगीका अनुसार ब्ल्याकमा समेत टिकट बिक्री भइरहेको छ । व्यापारी संगठित छन् भने सबै क्षेत्रमा मूल्य वृद्धि भएपछि उपभोक्ता निरीह बनेका छन् । बजार अनुगमनको जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, यातायात विभाग मौन छन्।
आपूर्ति र खाद्य प्रविधि विभागले बेलाबेला अनुगमन गरे पनि उपभोक्ताले अनुगमनको अनुभूति पाएका छैनन्।
व्यवसायीहरूले आपूर्ति विभागमा पठाएको विवरणअनुसार डेढ महिना अवधिमा बास्मती चामलमा प्रतिकिलो ५ रुपैयाँ बढेर १ सय २० रुपैयाँमा बिक्री भएको छ। आँटामा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । मैदामा ५ रुपैयाँ, सुजीमा १० रुपैयाँ, ताइचिन चिउरामा ५ रुपैयाँ बढेको समाचारमा उल्लेख छ।
नयाँ पत्रिका
अाजकाे नयाँ पत्रिकामा प्राकृतिक प्रकोपबाट ६ महिनामा १८८को मृत्यु शिर्षकमा विरेन्द्र ओलीको समाचार छापिएको छ । वैशाखयता ६ महिनामा प्राकृतिक प्रकोपबाट १ सय ८८ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् भने २ हजार ४ सय ५२ जना घाइते भएका छन् । पहिरोमा परेर सबैभन्दा धेरैको मृत्यु भएको छ । बाढीले बगाएको मृत्यु हुनेभन्दा चट्याङमा परेर ज्यान जानेको संख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृहको तथ्यांकअनुसार ६ महिनामा वर्षा, बाढीपहिरो, चट्याङ र भूक्षयजस्ता प्राकृतिक प्रकोपबाट ५ हजारभन्दा धेरै परिवार प्रभावित भएका छन् । २ अर्ब ४२ करोड १९ लाखबराबरको भौतिक क्षति भएको छ । बर्खा मौसममा भएको उक्त प्रकोपमा १ हजार १ सय ३३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २ सय ५६ पशुचौपाय मरेका छन् । यो सबै तथ्यांक वैशाखको सुरुदेखि १४ असोजसम्मको हो ।
राजधानी
–आजको राजधानीमा साना सवारीकाे बदमासी राेकिएन : ५० वटा सवारी कारबाहीमा शिर्षकमा कमला अर्यालको समाचार छापिएको छ ।
दशैंको मौका छोपी साना सवारीसाधनले गर्ने बदमासी अझै रोकिएको छैन। केहीअघि टिकट खोल्ने सहमति गरेका साना सवारीहरूले टिकट छैन भन्दै यात्रुसँग बढी भाडा लिने गरेको गुनासो बढ्न थालेको छ।
विशेषगरी, गौशाला तथा कोटेश्वरबाट बीपी राजमार्गमा चल्ने माइक्रोबस तथा सुमोलगायतका साना गाडीले सरकारले तोकेभन्दा पनि बढी भाडा लिएको पाइएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका प्रवक्ता गोकर्ण उपाध्याले भने, ‘साना सवारीले बढी भाडा लिएको गुनासो बढेको छ।’ सर्वसाधारणको गुनासोका आधारमा बढी भाडा लिएका ५० वटा साना सवारीलाई कारबाही गरिएको प्रवक्ता उपाध्यायले बताए। सरकारले हालै सार्वजनिक यातायातको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । तर, डिलक्स सुविधा भएका जुनसुकै यात्रुबाहक सवारीसाधनले पुरानो भाडादरमा २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै साना यातायातले यात्रुसँग बढी भाडा लिएकाले कारबाही गर्नुपरेको प्रवक्ता उपाध्याले बताए । अनुगमनका क्रममा गौशाला तथा कोटेश्वरबाट पूर्वका झापा, इलाम, धरानलगायतका विभिन्न स्थानमा जाने माइक्रोबसले सरकारले तोकेभन्दा २/३ सय रुपैयाँ बढी भाडा लिएको फेला परेको प्रवक्ता उपाध्याले बताए । ती सवारीलाई कसुर हेरी २ देखि ५ हजार रुपैयाँसम्म जरिमाना तथा रुट परमिट खारेज गर्न सक्ने व्यवस्था छ । उनका अनुसार साना गाडीको मनोमानी बढेकाले अनुगमनमा कडाई गरिएको समाचारमा उल्लेख छ ।
नागरिक
आजको नागरिकमा तिर्खा मेटाउन कर्णालीको पानी गोविन्द केसीको समाचार छापिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्। गाउँमा माध्यामिक तहको पढाइ नहुँदा उनी पढ्न राकम आएकी हुन्। विद्यालयमा खानेपानी अभाव भएका कारण उनले नजिकै रहेको कर्णालीको पानी पिउन थालिन्। मनले नमान्दानमान्दै पनि उनले बाध्य भएर खोलाको पानी पिउनु प(यो। त्यही पानीकै कारण उनी धेरैपटक बिरामी पनि भइन्। गाउँकै निमाविमा पढ्दा कहिल्यै खानेपानीको अभाव भएन। सफा, फिल्टरको पानी पिउथिन् उनी गाउँकै स्कुलमा पढ्दा। तर, मावि पढ्न राकम आएपछि कर्णालीको दूषित पानी पिउनपर्ने बाध्यता आइलाग्यो।
बोहरा प्रतिनिधिपात्र मात्र हुन्। जनज्योति मावि राकम पढ्ने खानेपानी लिन विद्यालय नजिकै रहेको कर्णाली नदीमा धाउँछन्। दिउँसो १ बजेको मध्यान्तर छुट्टीमा खोला किनारमा विद्यार्थीको लामन नै लाग्छ। ९ कक्षा अध्ययन गर्न राकम आएपछि नदीको प्रदूषित पानी पिउनुपर्ने बाध्यता सुरु भएको बोहराले बताइन्। ‘नदीको पानी खाएकै कारण म सुरूसुरूमा त सातैपिच्छे बिरामी हुन्थे,’ उनी भन्छिन्, ‘पेट दुख्ने, झाडापखालाजस्ता समस्या त अहिले सामान्य भइसके।’