Friday, November 1, 2024

विषाक्त पुतलीको बिगबिगी

काठमाडौँ – रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ। ‘पुतली छुनुहुन्न, आँखामा झुस पर्यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला।

पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ। यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ।

ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र सो प्रजाती नेपालका लागि ठूलै चुनौती बन्न थालेको विज्ञहरु बताउँछन् । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा.भैया खनाल बताउछन्। आँखा संक्रमण गराउने ग्याजलिना मोथ नै भएको पुष्टी उनले ८ वर्षअघि नैं गरेका थिए।

‘पोथी पुतलीले मात्रै फूल पार्ने र उक्त फूल रौमैं अड्किने बताउँदै उनी नेपाल भन्छन–‘त्यस्तो रौं आँखामा परेमा जटिल संक्रमण गराउँछ, शरिरका अन्य भागमा समेत संक्रमण हुनसक्छ ।’

डा.खनालका अनुसार फूललाई शत्रुबाट बचाउन सो पुतलीले शरिरबाट केमिकल समेत फाल्छ । उक्त केमिकलले गर्दा शत्रुले फूललाई हमला गर्न सक्दैन ।

वर्षाद्मा यस्तो विषालु पुतलीका कारण आँखा संक्रमितको संख्या बढ्दो क्रममा रहेको बताइएको छ । काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता विरामीको संख्या वर्षेनी बढ्ने तिलगंगा आँखा अस्पतालकी सह–प्राध्यापक डा.अनु मानन्धर बताउँछिन्।

पुतली संक्रमित विरामीको संख्या बढ्न थालेपछि ग्याजलिनाका रौंमा रहेका हानिकारक रसायनका विस्तृत पक्ष केलाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘रौंको विषात्त पक्ष के हो भन्ने कुरा पत्ता लगाउने अध्ययन गर्ने तयारी भइरहेको छ’–मानन्धर भन्छन् ।

उनका अनुसार गत वर्ष ग्याजलिना संक्रमित ४० भन्दा बढी विरामी तिलगंगा पुगेका थिए। सेवाग्राहीले विस्तृत समस्या बताएपछि उपचारका क्रममा आँखामा व्याक्टेरिया देखिएको र त्यसको मुख्य कारक ग्याजलिना भएको पुष्टी भएको थियो। संक्रमणबारे प्रष्टाउँदै उनी थप्छन्–‘त्यसको रौं परेको ४८ घन्टाभित्रै उपचार भएमा राम्रो हुन्छ, उपचार ढिला भएमा दृष्टि गुम्न सक्छ।’

अन्यत्रको तुलनामा गत वर्ष पोखरा र आसपासका सेवाग्राही यस्तो समस्या लिएर तिलगंगा आएका थिए भने विगतमा सिन्धुपाल्चोक, सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लाबाट आएको प्रतिष्ठानको तथ्यांक छ। करिव ४० वर्षअघि पोखराको एक विद्यालयका विद्यार्थीमा एकैसाथ आँखाको समस्या देखिएपछि नेत्र विशेषज्ञहरुले पुतलीबारे चासो बढाएका थिए।

पुतलीविज्ञ डा।खनालका अनुसार तराई बाहेक नेपालका मध्य पहाडी भेगमा ग्याजेलिनाको चहल–पहल पाइएको छ। ३ हजार भन्दा बढी निसाचर पुतलीमध्ये यो प्रजाती आँखाका लागि जोखिम बनेको छ। खासगरी मर्करी, सीएफएल चिम र ट्यूवलाइट जस्ता चम्किलो सेतो बत्तीको उज्यालोमा यस्तो पुतली झुम्मिने भएकाले घरभित्रै रौंको संक्रमण बढ्न सक्ने उनको भनाइ छ।

‘अरु पनि विषालु हुन सक्छन्, अन्य प्रजातीबारे विस्तृत अध्ययन हुन बाँकी छ, खनाल थप्छन्–‘अन्यभन्दा ग्याजलिना बढी विषाक्त भएको पुष्टी भएको छ।’
उनका अनुसार भारतको उत्तरपूर्वी भेगका मध्य पहाडी क्षेत्रमा पनि यस्तो पुतलीले संक्रमण गराइरहेको भए पनि समाधानको पहल पहिल्याउने अध्ययन हुन सकेको छैन । नेपाल समाचारपत्रबाट

ताजा समाचार

सम्बन्धित समाचार