काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
आजको कान्तिपुरमा कोसीले ७२ घण्टादेखि डुबानस् मोदीसँग नेपालमै समस्या राख्न माग शिर्षकमा अवधेशकुमार झाको समाचार छापिएको छ । सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ । भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो ।
बहाव परिवर्तनले ल्याउन सक्ने समस्याबारे यसअघि नै स्थानीय तह हुँदै केन्द्रमा समेत पत्राचार भयो । तर, भारतीय पक्षसँग समस्या समाधानको पहल हुन सकेन । पछिल्लो ७२ घण्टादेखि हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ नम्बर वडा तथा तिलाठी कोइलाडी गाउँपालिकाको ४ नम्बर वडाका गरी ५ सयभन्दा बढी घरबाट कोसी नदी बगिरहेको छ ।
स्थानीय अगुवा यो समस्या बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपाल रहेका बेला नेपाल पक्षले उठाउनुपर्ने सुझाउँछन् ।
‘भारतीय पक्षले च्यानल खन्दा यति ठूलो समस्या देखिएको छ । नेपालका प्रधानमन्त्रीले मोदीलाई यही बेला यसबारे कुरा राखे समस्या तत्काल हट्न सक्छ,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भनेको समाचारमा उल्लेख छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा अनुमानकै भरमा वातावरणमैत्री शिर्षकमा छेटु शेर्पाको समाचार छापिएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण परीक्षण नगरी अनुमानका आधारमा वातावरणमैत्री भएके प्रमाणित गर्ने गरेको छ । आयातित सबै सवारीसाधनलाई विभागले हचुवाका भरमा वातावरणमैत्री प्रमाणपत्र दिई बिक्री वितरण गर्न अनुमति दिने गरेको हो ।
सरकारले युरो थ्री मापदण्डको सवारीसाधनलाई मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । विभागले अनुमानकै भरमा प्रदूषणरहीत प्रमाणित गरी सञ्चालन अनुमति दिँदा वायु प्रदूषण बढेको छ ।
नयाँ सवारीसाधनले एक किलोमिटर गुड्दा नाइट्रोजन अक्साइड, कार्बन मनोअक्साइड, सल्फर अक्साइड, हाइड्रोकार्बनको मात्रा कति फ्याँक्छ र युरो थ्री भए नभएको परीक्षण गर्नुपर्छ । विभागले आयातकर्ता, निर्माण कम्पनी र उत्पत्ति प्रमाणपत्रलाई मापदण्ड पूरा भएको मानेर वातावरणमैत्री प्रमाणपत्र दिइरहेको यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय टेकुका प्रमुख सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले बताएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा ग्यास र पेट्रोल पाइपलाइनमा भारतले सघाउने शिर्षकमा दिलिप खड्काको समाचार छापिएको छ । खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रो पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।
बैठकमा सहभागी निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार निर्माणधीन मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने ग्यास(एलपिजी) र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिबद्धता भारतले जनाएको हो ।
हवाई इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन(आइओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको समाचारमा उल्लेख छ ।