Tuesday, December 24, 2024

पत्रपत्रिकामा आज : ठूलो पानी परे पालको बास, भारतले नदी फर्काउँदा नेपालतर्फ डुबान

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

कान्तिपुर
– आजको कान्तिपुरमा ठूलो पानी परे पालको बास शिर्षकमा राजेन्द्र मानन्धरको समाचार छापिएको छ। बाउबाजेको पालादेखिको समस्या कालिञ्चोक सुन्द्रावती मेहेलेमा अहिले पनि उस्तै छ । वर्षा लागेपछि बढी त्रास हुन्छ, पानी पर्न छाडेपछि पहिरोको कुरै चल्दैन । यसपाला अधिक पानी परेकाले त्यहाँका एक सय १४ घरपरिवार समस्यामा छन् । कहिले आफ्नै घर, कहिले छिमेकीको घर त कहिले पालको ओत लिएर पहिरोबाट हुन सक्ने खतरा टार्ने प्रयास गर्दै छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ठाउँका पहिरोपीडितहरू ठूलो पानी पर्दा पालमा बस्न जाने र अरू बेला घरमै बसिरहेको बताए । सुन्द्रावती मेहेलेका पहिरोपीडितहरू बसाइँ सर्ने विकल्प नभएकाले पुर्खाैँदेखि पहिरोको खतरा भएको ठाउँमै बस्दै आएका हुन् ।

बस्ती स्थानान्तरणको उपाय नभएकाले पहिरोको संकट टार्न बर्सेनि त्यहाँ भूमेपूजा हुन्छ । सिमान्कृत थामीको सबैभन्दा ठूलो देवता भूमेको यस वर्ष पनि पूजा गरिएको अगुवा मानबहादुर थामीले बताए ।

यस वर्ष पनि पटक–पटक आएको भीषण वर्षाले त्यहाँका घरहरू र चौपायलाई क्षति पुर्‍याएको छ। स्थानीय गणेश थामीका अनुसार राति ११ बजे पूर्वसूचनाको आवाज तीन पटक सुनिएपछि पहिरो आइहाल्यो । हावाहुरी, वर्षा र हुस्सुले पूर्वसूचना दिँदा पनि भाग्न सकेनन् । कतिपयले पूर्वसूचना बजेकै थाहा नपाएको गुनासो गरेको समाचारमा उल्लेख छ।

त्यस्तै चाँगुनारायण क्षेत्रका सय घर जोखिममा शिर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ। चाँगुनारायण नगरपालिका–४ का विभिन्न स्थानमा जमिन फाटेर चिरैचिरा परेको छ । हलचाप, कुइँकेल गाउँ, नवाङगाललगायत क्षेत्रमा परेका चिराका कारण कम्तीमा एक सय घर जोखिममा परेका छन् ।

भूकम्पमा चर्किएको चाँगुनारायण क्षेत्र भासिंदा पहिरोको जोखिम समेत बढेको स्थानीय बताउँछन् । कतिपय स्थानमा पहिरो गएको स्थानीय रामेश्वर श्रेष्ठ बताउँछन् ।

विश्वसम्पदा सूचीको चाँगुनारायण मन्दिरको उत्तरतर्फ मनोहरा किनार (साँखु क्षेत्र), पश्चिमको हलचाप र दक्षिणतर्फको शंखदह पोखरी वरिपरिको क्षेत्रमा चिरा परेको हो । चाँगुनारायण परिसरको उत्तर, दक्षिण र पश्चिम क्षेत्रबाट पहिरो जाने तथा भ्वाङ पर्ने क्रम बढै गएकाले मन्दिर भासिने जोखिम बढेको चाँगुनारायण नगरपालिका–४ का वडासदस्य दिनेश खनालले बताए । ‘केही वर्षदेखि शंखदहवरिपरि भ्वाङ पर्दै गएको छ,’ उनले भने । केही वर्षदेखि यस क्षेत्रमा भ्वाङ पर्ने, धाँजा फाट्ने समस्याका कारण शंखदहको पानी समेत सुकेको छ । ‘केही वर्षअघिसम्म हामी शंखदह (पोखरी) मा पौडी खेल्थ्यौं,’ वडासदस्य खनालले भने, ‘अहिले पोखरी सुकिसकेको छ ।’

चाँगुनारायण नगरका अधिकांश क्षेत्र बालुवाका ढिस्को भएकाले त्यसलाई व्यवस्थापन र संरक्षण गर्न नसक्दा भासिने जोखिम बढेको स्थानीयको भनाई छ । ‘२०४९/०५० देखि नै जथाभावी बालुवा निकाल्न थालिएपछि जमिन चर्किन थाल्यो,’ रामेश्वर श्रेष्ठले भने, ‘बालुवा निकाल्नुअघि भासिने/पहिरो खस्ने समस्या थिएन ।’ साविक जिल्ला विकास समितिको स्वीकृतिमा बालुवा निकाल्ने नाममा सुरक्षाका उपाय अबलम्बन नगर्दा बस्ती भासिने जोखिम बढेको उनको भनाइ छ । ‘यस क्षेत्रमा ढुंगा थोरै छन्,’ स्थानीय सानु श्रेष्ठले भने, ‘कमलो माटो र बालुवाको ढिस्को बगेकाले जताततै भ्वाङ पर्न थालेको छ ।’ भूगर्वविद् डा। सुबोध ढकालले बालुवा रहेको क्षेत्र खदिलो नहुने तथा जथाभावी बालुवा उत्खनन गरिँदा थप जोखिम उत्पन्न हुने बताए । उनले यसप्रकारको जोखिमको अध्ययन र नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्नुपर्ने औल्याए । चाँगुनारायण मन्दिर संरक्षण तथा नगरको जोखिमयुक्त क्षेत्र बचाउन भूगोलकै अध्ययन गर्नुपर्ने स्थानीयको समेत माग छ । ‘सम्बन्धित निकायले जतिसक्दो छिटो अध्ययन थालिनुपर्छ,’ वडाध्यक्ष बुद्धिलाल महर्जनले भने, ‘वर्षौंदेखि चाँगुनारायण पहिरोको जोखिममा छ ।’

अन्नपूर्ण पोस्ट
–अन्नपूर्णमा बस्ती नै पहिरोको जोखिममा शिर्षकमा भीमकुमार बाँस्कोटाको समाचार छापिएको छ । अविरल वर्षाका कारण धाजा फाटेर जमिन लच्किँदा पाँचथरको याङवरक गाउँपालिकामा १७ घर जोखिममा परेका छन् । याङवरक–३ ओयामको बगुवाका घर जोखिममा परेका हुन् ।

पानी पर्न र जमिन बग्ने क्रम पनि नरोकिएकाले जोखिम बढेको स्थानीयको भनाई छ। जोखिममा रहेका १७ घरका सदस्यलाई सुरक्षित स्थानमा सरिएको वडाध्यक्ष मवीन्द्र योङ्याले जानकारी दिए । पीडितहरू आफन्त र छरछिमेकका घरमा शरण लिएर बसेका छन् । करिब एक सातायता अविरल वर्षाका कारण बस्ती पहिरोको उच्च जोखिममा परेको समाचारमा उल्लेख छ ।

त्यस्तै भारतले नदी फर्काउँदा नेपालतर्फ डुबान शिर्षकमा समाचार छापिएको छ। भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका तीनवटा वडाका सयौं घर डुबानमा परेका छन्।

कंकालिनी नगरपालिका ७, ८ र १२ का करिब एक सय २५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। डीएसपी भावेश रिमालका अनुसार हनुमाननगरबाट बरही नहर जोड्ने बाँधका कारण मुखिया टोल र मुसहरी टोलमा बसोबास गर्ने एक सय २५ घरधुरी डुबानमा परेका हुन्।

राति करिब नौ बजे पसेको पानीले कोसी बाँध भन्दा तल रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका हटिया, बस्ती तथा लिल्जा ठाकुर प्राथमिक विद्यालय डुबानामा परेका हुन्।

बाँध निर्माण भइसकेपछि सोमबार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीले आफूखुसी पानी पश्चिमतर्फ फर्काएकाले सामान्य वर्षामै पानी गाउँ पसेको स्थानीयको आरोप छ।

भारत सरकारको कोसी योजनाले यसवर्ष कोसी ब्यारेज भन्दा तल कोसीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएको हो। कोसी योजनाका अधिकारीले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका हुन्। भारतीय कोसी योजनाका अधिकारी र भारतीय ठेकेदारले आफूखुशी कोसीको बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि हनुमाननगर र तिलाठी कोइलाडीका बस्ती जोखिममा परेका छन्।

नागरिक
–आजको नागरिकमा यातायातमा सिन्डिकेट खारेज हुने शिर्षकमा समाचार छापिएको छ । सर्वोच्च अदालतको आदेशले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहजता पुगेको छ।

न्यायाधीशद्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सिन्डिकेटविरुद्ध अदालत पुगेका व्यापारीको निवेदनमा अन्तरिम आदेश नदिएका कारण सरकारलाई निर्णय कार्यान्वयनमा सहज बनेको हो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोेच्च महासंघका तर्फबाट शम्भुप्रसाद अधिकारीले भदौ ४ मा सरकारको निर्णयविरुद्ध निवेदन दर्ता गरेका थिए । भदौ ६ मा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारलाई कारण माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश भएको थियो ।

मंगलबार दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश नदिने निर्णय गरेको हो । अन्तरिम आदेश जारी नगर्ने निर्णयसँगै यातायात क्षेत्रमा सरकारले सिन्डिकेट खारेजको निर्णय कार्यान्वयन हुने भएको हो । सरकारले यातायात व्यवसायीलाई कम्पनी वा फर्मका रूपमा यणतायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने गरी व्यवस्था गरेको थियो।

कम्पनीमा दर्ता नभएसम्म संस्था दर्ता ऐनअनुसार खारेज हुने, बैंक खातासमेत रोक्का राख्ने सरकारले निर्णय गरेको थियो। व्यवसायीले सरकारले सम्पत्ति, बैंक खाता रोक्का गर्न पाउने र आफूहरू ऐनअनुसार संस्था दर्ता गरिएको भन्दै सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेको समाचारमा उल्लेख छ ।

राजधानी
–अाजकाे राजधानीमा बाढीले ४५० घर डुबानमा शिर्षकमा एमके माझीको समाचार छापिएको छ। पहाडी क्षेत्रमा भएको भारी वर्षासँगै सप्तकोसी नदीको बाढी सोमबार बेलुका बस्तीमा पस्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका गरी ४५० घर डुबानमा परेको छ ।

पानीको उच्च बहावका कारण बाढी बस्तीमा पस्दा हनुमाननगर कंकालिनी नगरपालिकाको २, ५, ७, ११ र १२ वडाका गरी करिब ३८० र तिलाठी कोइलाडी गाउँपालिका–५ र ७ वडाका ७० गरी ४५० घर डुबानमा परेको हो । घर डुबानमा परेपछि पीडित परिवार नजिकैको पश्चिमी तटबन्ध तथा ब्लक भवनमा आश्रय लिइरहेका छन् । सुरक्षित ठाउँमा आएका कतिपय पीडितले सरसामान र पशुचौपाया जोगाइदिन आग्रह गरेका छन्।

बाढीले हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय, लिलजा ठाकुर प्राथमिक विद्यालयसहित सयौं संख्यामा घर डुबानमा पारे पनि मानवीय क्षति भने नभएको डीएसपी भवेश रिमालले जानकारी दिए । उनका अनुसार बाढीप्राभावित क्षेत्रमा राहत तथा उद्धार टोली परिचालन गरिएको छ । बाढीका कारण जोखिममा रहेका विद्यालय बन्द गरिएका छन् भने प्रहरीले सुरक्षित स्थानमा बस्न स्थानीयलाई अनुरोध गरेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार