काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा अझै ८ तुइन बाँकी शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । झोलुङे पुल सञ्चालनमा आएसँगै उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । बिहान भरी कृषिकर्म गरेर आएकी सानटारकी ५५ वर्षीया लीलामाया थोकर नवनिर्मित झोलुङ पुलबाट पारीतर्फ जाँदै भनिन्, ‘अब वारीपारी गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर वर्षायाममा आउजाउ गर्न समस्या थियो ।’ गत वर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा बजारतर्फ जान लाग्दा घ्याङसिटारकी महिलाको खोलाले वगाएर मृत्यु भएको थियो । पुल अभावले बर्सनि १र२ जनाको ज्यान जान्थ्यो । ‘किसेडी खोलाको बोकेदहमा झोलुङे पुल वनेपछि खोलाले बगाएर अव यस क्षेत्रका वासिन्दाको ज्यान जादैन होला,’ स्थानीय लोकबहादुर घिसिङले भने, ‘यो झोलुङेपुल हाम्रा लागि मोटर हिँड्नेभन्दा महत्त्वपूर्ण भएको छ ।’
हेटौडा उपमहानगरपालिका १ र भीमफेदी गाउँपालिका १ को बीचमा पर्ने बोकेदहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको ‘स्वाप’ ले जिल्ला समन्वय समितिमार्फत पुल बनाएको हो । पुलको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानामगरले शुक्रबार उद्घाटन गरेकी थिइन् ।
पुल राडो नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । गाउँपालिका र उपमहानगर बीचको खोचमा निर्माण गरिएको पुलको १ किमि वरिपरि मोबाइल नेटवर्कले काम गर्दैन । पुलको उदघाटनमा सर्वसाधारणको उपस्थिति पनि उल्लेख्य थियो । पानीमा भिज्दै स्थानीय बालबालिका, महिला र वृद्धवृद्धा खुसी हुँदै एक–अर्कालाई समाउँदै पुल वारपार गरिरहेका थिए । पुल निर्माण गर्न भीमफेदी गाउँपालिकाले २ लाख ४० हजार, स्थानीय बासिन्दाले ८ लाखबराबर श्रमदान र स्वापले ३० लाख रुपैयाँ सहयोग गरेको निर्माण उपभोक्ता समिति सचिव रामेश्वर थिङले बताए । यो पुलबाट हेटौंडा १ का नकौली, घ्याङसिंहटार, ज्यामिरे, थरथरे र भीमफेदी गाउपालिका १, सानटारका गरी ७ सय १२ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । नवनिर्मित पुलको हेरालुका रूपमा सानटारकी एक महिलालाई राखिएको छ ।
त्यस्तै वाग्मतीमा र्याफ्टिङको लर्को शिर्षकमा अर्को समाचार छापिएको छ । सफाइ अभियानको २ सय ७६ औं साता पुगेको अवसरमा शनिबार वाग्मती नदीमा जलयात्रा मनाइएको छ । महोत्सवको भने यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ । ‘वाग्मती जलजात्रा–२०१८’ नाम दिइएको उत्सवमा वाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षणका रूपमा नदीमा र्याफ्टिङ गरिएको हो ।
थापाथली पुलबाट सुरु भएको जलजात्रा बल्खु हुँदै चोभार खण्डको सुन्दरीघाटसम्म गरिएको हो । १८ वटा र्याफ्टमा सय जनाभन्दा बढी र्याफ्टिङमा सवार थिए । कार्यक्रमको मुख्य अतिथि वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल थिए भने विशिष्ट अतिथिमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत थिए । त्यसैगरी प्रतिनिधिसभा सदस्य पम्फा भुसाल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्वअर्थसचिव किशोर थापा, स्थानीय जनप्रतिनिधि तथा सफाइ अभियानका अगुवा, सम्पदाप्रेमीलगायतको उपस्थिति थियो ।
बिहानैदेखि दर्केको वर्षाका कारण औपचारिक कार्यक्रम तोकिएको समयभन्दा ढिलो सुरु भएको थियो । मन्त्री बस्नेत तथा वरिष्ठ पत्रकार रिसाललगायतका अतिथिहरू कार्यक्रमस्थल छाता ओढेर पुगेका थिए । पञ्चकन्यालाई समेत धौधौ मञ्चमा उकालिएको थियो । नदी किनारको हिलोमा अतिथि मुस्किलले सम्हालिए । त्यसैगरी रिभर गाइडलाई र्याफ्टमा हावा भर्नसमेत मुस्किल परेको थियो ।
महाकाली, मार्दी, भोटेकोसी, दूधकोसी, मस्र्याङ्दी, पश्चिम सेती, बूढी गण्डकी, सुनकोसीलगायत १८ नदीबाट छुट्टाछुट्टै ल्याइएको पानीलाई अतिथिले तामाको भाँडामा मिसाएका थिए । उक्त पानीलाई वाग्मती नदीमा मिसाइएको थियो । ‘आगामी दिनमा वाग्मती नदीलाई तिर्खा लागेको बेला नदीका स्वच्छ पानीझैं सहज पिउन सकियोस् भन्ने विम्बस्वरूप यसो गरिएको हो,’ कार्यक्रमका सभाध्यक्ष मेघ आलेले बताए, ‘कमसेकम नेपालले बेलाबखत आयोजना गर्ने सार्क शिखर सम्मेलन, बिमस्टेक सम्मेलनका बेला हामीले अथितिलाई वाग्मतीमा नौका विहार गराउन सक्यौं भने गौरव गर्न सकिन्छ ।’ एकदिने वाग्मती जलयात्रा उत्सवको नेपाल नदी संरक्षण संस्था (एनआरसीटी) र फ्रेन्ड्स क्लब कुपण्डोलले संयुक्त रूपमा आयोजना गरेको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा १७ मेट्रिक टन फोहोर व्यवस्थापन शिर्षकमा समाचार छापिएको छ । भदौरे झरी र हिलोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार १७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २७६ औँ हप्तामा तिलगङ्गा आँखा अस्पताल अघिको नदीमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीलगायत ३१ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सामाजिक शिक्षा र उत्तरदायित्वको भावना जागृत गराउन सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज, कलेज ह्याण्डसमका सहभागी ४० जनाको सफाइमा सहभागिता थियो। अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टङ्क आचार्य, कलाकार मनोज गजुरेल लगायतले सफाइको नेतृत्व गर्नुभएको अधिकार सम्पन्न वाग्मती सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।
वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले सफाइमा जनप्रतिनिधिको सहभागिता जुटाउन थालेको छ । जसअनुसार आजको सफाइको संयोजन महानगरपालिका– ८ र ९ ले गरेको मञ्चका संयोजक उत्तम पुडासैनीले बताए।
सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समिति, तिलङ्गा महिला समूह, आलोकनगर सफाइ अभियानलगायत संस्थाको पनि सक्रियता थियो।
रुद्रमती सफाइको २३१ औं हप्तामा रातोपुल–सेतोपुल–रुद्रनगर–बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
यसैगरी मनोहरा सफाइको ७४ औँ हप्तामा बालकुमारीस्थित नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक फोहर व्यवस्थापन गरियो। सफाइमा महानगरपालिका–ं ३२ का अध्यक्ष नवराज पराजुलीले सफाइ सामग्रीसमेत हस्तान्तरण गरेको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए।
चक्रपथ सफाइको ७२ औँ हप्तामा ठूलो भर्याङबाट स्वयम्भूसम्म सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा तीनै सुरक्षा निकायलगायत अभियानकर्मी गरी १५० भन्दा बढीको सहभागिता रहेको संयोजक लोकबहादुर टण्डनले बताए। वर्षाद्का कारण सहभागीको सङ्ख्यामा कमी आएको थियो।
यसैगरी चक्रपथको दायाँबायाँ राखिएको कवाडी सामान महानगरपालिकाले उठाएर लगेको छ । कवाडी लिन आउने धनीलाई जरिवाना तिराएर फिर्ता गरिने र नआउनेको महानगरपालिकाले नै व्यवस्थापन गर्ने जनाइएको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा २० परिवारको उठिबास शिर्षकमा शंकरप्रसाद खनालको समाचार छापिएको छ । राप्ती सोनारी २ कचनापुरका भोला बुढाको ७ कठ्ठा जग्गा राप्ती नदीले कटान गरेको छ । धान फुल्ने बेलाको खेत नदीले कटान गरेको हो । राप्ती नदी कटान गाउँतिर पसेको छ । ‘मेरो खेत अहिले नदीको बीच भागमा पर्छ’ अन्नपूर्ण पोस्टसँग बुढाले भने, ‘अब मेरो घरबास नै छैन । ’ उनका छिमेकी छलबहादुर बुढाको पनि ८ कठ्ठा जग्गा राप्ती नदीले कटान गरेको छ । उनी भन्छन् ‘तीन वर्षअघि एक लाख रुपैयाँका दरले किनेको थिएँ । अहिले सानो टुक्रा पनि बचेको छैन्’
सोही गाउँकी बिजा बुढाथोकीको डेढ बिगाह जग्गामध्ये मुस्किलले दुई कठ्ठा बचेको हो । वर्ष भयो र नदीमा बाढी आयो भने यो पनि बाँकी रहन्न उनले दुखेसो पोखिन् । आधा जति त पोहोर सान नै कटान भएको थियो । बचेको यो वर्ष सबै सकिन्छ होला । के खाएर बाँँच्ने हो भन्ने चिन्ता बढेको छ ।
भोला, छलबहादुर र बिजा मात्र होइन राप्ती नदीको कटानबाट राप्ती सोनारी गाउँपालिका २ कचनापुरका मात्र २० परिवारको उठिबास भएको २ नम्बर वडा कार्यालयले जनाएको समाचारमा उल्लेख छ ।