Thursday, October 31, 2024

पत्रपत्रिकामा आज : ग्यास छाडी गोबरतिर, नियम मिचेर क्रसर संचालन

काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न समाचार छापिएको छ।

कान्तिपुर
– आजको कान्तिपुरमा पहिले हात्ती सयर अहिले सिटी रिक्सा शिर्षकमा विनोद भण्डारीको समाचा छापिएको छ। राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।

समयक्रमले उनलाई हात्तीबाट ‘सिटी रिक्सा’ मा पुर्‍याएको छ । अचेल दुई सन्तानको हातमुख जोड्न रंगेलीका कच्ची सडकमा उनी दिनभर सिटी रिक्सा कुदाउँछिन् । उनको बासचाहिँ पतिको परिवार जमिनदार हुँदा २०२५ सालमा बनाइएको हालको रंगेली ६ मा पर्ने पुरानो विशाल घरमै छ ।

२०४९ वैशाख २५ गते विवाह गरेकी राजकुमारी दुई सातापछि घरमा भएको बहादुर नामको हात्तीमा चढेर दर्वेशास्थित माइत गएकी थिइन् । त्यसबेला उनले आफ्ना नन्दहरू ममता, गीता र वसन्तीलाई पनि सँगै लगेकी थिइन् । दुई दिनपछि हात्तीमै फर्केको उनले सुनाइन् ।

त्यसै साल फागुनमा उनको जेठो छोरा भवेशको जन्म भयो । उनलाई पनि पहिलोपटक हात्तीमै राखेर मामा घर लिएर गएको राजकुमारी सम्झन्छिन् । पछि हात्ती पाल्न समस्या भएपछि ससुरा खेमराजले २०५३ सालमा भारत सीतामढीका एक व्यक्तिलाई साढे तीन लाखमा बेचेको उनले बताइन् ।

वैवाहिक जीवनको सुरुवातमा साँच्चिकै ‘राजकुमारी’ झैं सुविधाभोग गरेकी उनले दुई वर्षअघि परिवारको गुजारा चलाउन सिटी रिक्सा चलाउन थालेकी हुन् । पति शिवराज साथ छाडेर अन्यत्र बस्दै आएको समाचारमा उल्लेख छ ।

त्यस्तै सडक विस्तार रोकियो शिर्षकमा अर्को समाचार छापिएको छ। सडक विस्तारका क्रममा पर्खाल लगाउन खनेको खाल्डो मध्यपुर थिमि नगरपालिकाले पुरेपछि पेप्सीकोला–सानोठिमी–सल्लाघारी सडक विस्तार कार्य रोकिएको छ । मध्यपुर थिमि मनोहरा पुलदेखि पूर्वतर्फ खसाङखुसुङ खोलासम्मको करिब साढे ४ किलोमिटरको विवादित सडक विस्तार गर्न समन्वय नगरेको भन्दै नगरपालिकाले बिहीबार पर्खाल लगाउन खनेको खाल्डो पुरेको हो । सडक विस्तारको क्रममा बुधबार स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

नागरिक
आजको नागरिकमा ग्यास छाडी गोबरतिर शिर्षकमा दीपेश केसीको समाचार छापिएको छ । यता ग्यास उडेको उड्यै, उता प्रधानमन्त्री केपी शर्मा ओली गोबरग्यासको पाइप खोल्दै ! विराटनगरमा गोबरग्यासबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण गर्ने कृष्ण गौसेवा सदनले तयार गरेको वितरण प्रणाली उद्घाटन गरिएको चर्चा चुलिँदा काठमाडौं उपत्यकामा भेटिएका प्राकृतिक ग्यासका खानीको बेवास्ता भइरहेको छ।

उपत्यकाका टेकु, इमाडोल, सातदोबाटो र लुभुमा भेटिएका प्राकृतिक ग्यासको उत्पादन र वितरणको हल्ला चलाइए पनि काममा कुनै प्रगति भएको छैन। टेकुस्थित प्राकृतिक ग्यास केन्द्रमा पाइप जडान गरी निश्चित स्थानमा सुरक्षा घेरा बनाइएको छ। त्यहाँ ग्यास चुहावट भइरहेको छ।

नागरिककर्मी टेकुस्थित पचली भैरवपछाडि पुग्दा ग्यास खानीमा पाइप जडान गरिएको स्थानमा चुहावट स्पष्ट देखिन्थ्यो। ग्यास चुहावट भएको जमिनको सतहमा पानी बगिरहेको छ। उक्त स्थानमा पर्खालले घेरी सुरक्षाकर्मीको व्यवस्था गरिएकोबाहेक कोही भेटिएनन्। झाडीले छोप्दै गरेको ग्यासको पुरानो ठूलो ट्यांकी खियाले खाएको र नयाँ ट्यांकी जडान गरे पनि त्यसको उचित जगेर्ना गरिएको छैन। इमाडोलमा पनि ग्यास चुहावट भइरहको छ भने सातदोबाटो र लुभुको अवस्था उस्तै छ।

नाकाबन्दीका बेला लुभु र सातदोबाटोमा स्थानीयले ग्यास खानीबाट चुहावट गराएर खाना बनाएको भेटिएपछि खानी तथा भूगर्भ विभागको कर्मचारी पुगेर बन्द गराएका थिए। त्यसपछि, मन्त्रीसहितको टोली अवलोकन गरी चर्चा चलाउनेबाहेक ग्यास उत्पादन र वितरणका लागि काम हुन सकेन। आफ्नै स्रोतको सदुपयोग त परै जाओस् सुरक्षा पनि गर्न नसक्दा ग्यास पाइपलाइन काठमाडौं उपत्यकावासीका लागि गफ बन्दै गएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार ग्यास उत्पादन र वितरणका लागि आवश्यक काम गर्न पर्याप्त बजेट विनियोजन गरिएको छैन । ड्रिलिङ गर्न ५० लाख बजेट विनियोजन भएबमोजिम काममा कुनै प्रगति भएको छैन । ग्यास उत्पादन र वितरण त परै जाओस् खानी भएको स्थानको सुरक्षा र जगेर्नासमेत उचित नभएको खानी तथा भूगर्भ विभागका कर्मचारी स्वीकार्छन्।

जथाभाबी घर तथा भवन निर्माण, डिप बोरिङ, इनार खन्ने प्रवृत्तिका कारण ग्यास उत्पादन र वितरणको सम्भावना उपत्यकाभित्र घट्दै गएको छ। कुनै बेला घरघरमा ग्यास पाइपलाइनको हल्ला गरेर केही काम गर्न खोजिएको देखाए पनि वास्तविकतामा कुनै प्रगति नभएको ग्यास खानी भएका स्थानको अवस्थाबाट बुझ्न सकिन्छ।

सातदोबाटो, इमालोड र लुभुको ग्यास खानीको पछिल्लो अवस्थाबारे विभागका उच्च अधिकारीसमेत जानकार छैनन् । टेकुमा केही काम गर्न खोजे पनि परिणाम उन्मुख देखिँदैन। यसबाट ग्यास उत्पादन र वितरणमा जिम्मेवार निकायको पूरै बेवास्ता देखिन्छ। पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ पुसमा ओलीले घरघरमा ग्यास पाइपलाइनको नारा दिएपछि तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे ग्यास खानीमा पुगेर मिडियामा छाएका थिए। हल्लामात्र गर्ने तर परिणाम दिने गरी काम नगर्ने प्रवृत्तिले देशमा भएका ग्यास र खनिजको सदुपयोग हुन सकेको छैन।

मंगलबार विराटनगर पुगी प्रधानमन्त्री ओलीले गोबरग्यासको पाइपलाइन उद्घाटन गर्दा उनको सपना साकार भएको भन्दै चर्चा भएको थियो। सरकारी निकायको उदासीनताका कारण ग्यास खेर गइरहेको समाचारमा उल्लेख छ।

त्यसैगरी नियम मिचेर क्रसर संचालन शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । मापदण्ड नपुगेर नवीकरण नभएका ६ वटा क्रसर उद्योग जिल्लाको विभिन्न स्थानमा गैरकानुनी रूपमा सञ्चालित भएको पाइएको छ। यी क्रसर उद्योगलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय र उद्योग मन्त्रालयसँग निर्देशन मागेका छन्।

जिल्लामा गैरकानुनी तरिकाले सञ्चालित क्रसर उद्योगबारे समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जेठ महिनामा दुई सदस्यीय अनुगमन समिति गठन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिएका थिए। लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईको संयोजकत्वमा घरेलु तथा सना उद्योग कार्यालय लहानका निमित्त प्रमुख लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ।

प्रतिवेदनमा धनगढीमाई नगरपालिका पर्ने साविक अयोध्यानगर–८ स्थित सन्नी क्रसर उद्योगको नवीकरण म्याद सकिएको तीन वर्ष भइसके पनि उद्योग सञ्चालनमै रहेको पाइएको उल्लेख छ। सो उद्योगको ०७१र०७२ असार मसान्तसम्म मात्र नवीकरण म्याद थियो। अनुगमनको क्रममा नवीकरण नभएको पाइएको सो क्रसर उद्योग सञ्चालकलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित घरेलु कार्यालयमा आउन पत्र काटिए पनि हालसम्म सम्पर्कमा नआएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, लहान नगरपालिकाको साविक वस्तिपुर–९ मा सञ्चालित जयकाली ढुंगा क्रसर उद्योगको नवीकरण म्याद पनि ०७२÷०७३ असार मसान्तमै समाप्त भइसकेको छ। यद्यपि सो क्रसर उद्योग हालसम्म सञ्चालनमै छ । मिर्चैया नगरपालिकाको चन्द्रउदयपुर–८ मा रहेको शिवम् क्रसर उद्योगको पनि नवीकरण म्याद ०७२र०७३ असार मसान्तमै सकिएको हो। तर पनि सो क्रसर उद्योग निर्वाध रूपमा चलिरहेकै छ। लहान नगरपालिकाको वस्तिपुर–९ मै रहेको हिमाल क्रसिंग उद्योगको नवीकरण म्याद ०७४/०७५ असार मसान्तमै सकिएको हो । म्याद सकिएको सो क्रसर उद्योगले पनि हालसम्म नवीकरण गरेको छैन । कर्जन्हा नगरपालिकाको बडहारामाल–४ स्थित जानकी क्रसर उद्योगको नवीकरण म्याद ०७२/०७३ असार मसान्तमा सकिएको भए पनि उद्योग हाल पनि सञ्चालनमै रहेको छ।

‘यी क्रसर उद्योगहरुको हकमा कारबाहीका लागि गृह मन्त्रालय र उद्योग मन्त्रालयमा पत्र लेखी निर्देशन माग गरेको छु,’ प्रजिअ पण्डितले भने, ‘विभागीय अड्डा प्रमुखसहितको अनुगमन टोलीले दिएको प्रतिवेदन साथमा राखी कारबाहीका लागि मन्त्रालयसँग निर्देशन माग गरेको छु।’ मन्त्रालयबाट निर्देशन आउनेबित्तिकै गैरकानुनी रुपमा सञ्चालित क्रसरमाथि कारबाही सुरु हुने उनले बताए। गैरकानुनी क्रसरमाथिको कारबहीमा किन ढिलासुस्ती भएको हो भन्ने जिज्ञासामा उनले भने, ‘हामीले आलटाल गरेका होइनौं, निर्देशन आउनेबितिकै कारबाही थाल्छौं।’

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मीप्रसाद पौडेलले यी क्रसरहरुले नियमानुसार मापदण्ड पुगेको कागजात पेश गर्न नसक्दा नवीकरण हुन नसकेको बताए। खुला सीमानाका कारण अनुगमन र कारबाही गर्न असुरक्षित भएको बताउँदै उनले ज्यान जोखिममा पारेर कारबाही गर्न नसकिने बताएको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार