काठमाडौँ – आजका पत्रिपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा निजगढ विमानस्थल निर्माण : २४ लाख रूख काट्न अनुमति माग शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन तथा वातावरण मन्त्रालयसँग रूख काट्न अनुमति मागेको छ ।
विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भई प्रारम्भिक काम सुरु भइसकेकाले पहिलो चरणको निर्माणका लागि रूख काट्ने प्रस्ताव अघि बढाइदिन पर्यटन मन्त्रालयले आग्रह गरेको हो । हवाई सुरक्षा तथा प्राधिकरण सुपरीक्षण महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले पहिलो चरणको निर्माणबारे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइनसकेकाले नक्सा (मोडल) सहित रूख काट्न अनुमति मागिएको बताए । विमानस्थलको कामलाई गति दिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि जोड दिएका छन् ।
कुनै आयोजना वा परियोजना क्षेत्रका रूख काट्ने प्रस्ताव वन मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस हुन्छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र रूख काट्ने प्रक्रिया अघि बढ्छ । पर्यटनले पहिलो चरणमा १३ किलोमिटर लम्बाइ र करिब साढे दुई किलोमिटर चौडाइ क्षेत्रको २ हजार ५ सय ५३।९७ हेक्टर जमिन प्रयोगमा आउने भएकाले त्यसभित्रका रूख काट्ने प्रक्रिया अघि बढाइदिन वनसँग आग्रह गरेको हो । निर्माण सम्पन्न हुँदा विमानस्थल ८ हजार ४५.७९ हेक्टर क्षेत्रमा फैलिनेछ । त्यसमध्ये ६७.४२ हेक्टर बसोबास क्षेत्र हो भने ९ हेक्टर निजी जग्गा हो । अरू सबै सरकारको स्वामित्वमा छ । १ हजार ९ सय हेक्टरमा विमानस्थलको आधारभूत संरचना निर्माण हुनेछन् । सहसचिव लामिछानेका अनुसार अहिले जग्गा अधिग्रहण गर्ने र मुआब्जा बाँड्ने काम चलिरहेको छ ।
पहिलो चरणमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को मापदण्डअनुसार रनवे, ट्याक्सी–वे, टर्मिनल भवन र एप्रोनलगायत आवश्यक परिवहन तथा सञ्चार सुविधायुक्त विमानस्थल निर्माण हुनेछ । पहिलो चरणको विमानस्थल सन् २०३० सम्म सम्पन्न गरी वार्षिक ९२ लाख यात्रुलाई सुविधा दिने लक्ष्य राखिएको छ । विमानस्थल सरकारकै लगानी वा अरू कुन ‘मोडालिटी’ मा बनाउने भन्ने टुंगो लागिसकेको छैन ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्यालय स्थापनाका लागि पूर्व–पश्चिम राजमार्गनजिक करिब २.२५ हेक्टर जमिनसमेत आवश्यक पर्ने देखिएकाले पहिलो चरणको निर्माण र साइट अफिस निर्माणका लागि रूख काट्नुपर्ने हुन्छ । ईआईए प्रतिवेदनअनुसार पहिलो चरणको निर्माणका लागि एक लाख ९५ हजार ५ ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना रूख (पोल आकारका) काट्नुपर्ने छ ।
विमानस्थल निर्माणक्रममा सानाठूला गरी साढे २४ लाखभन्दा बढी रूख काटिने छन् । काटिएको एक रूखबापत २५ बिरुवा रोप्नुपर्नेछ । त्यसरी हेर्दा ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा रोपेर हुर्काउन ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ । तर, त्यति धेरै जमिन कहाँ छ र कसरी रोपिन्छ भन्ने प्रतिवेदनमा उल्लेख नभएको समाचारमा उल्लेख छ ।
त्यस्तै चितुवाको छालासहित पक्राउ शिर्षकमासमाचार छापिएको छ । चितुवाको छालासहित भुसुने सुँगुरे सामुदायिक वनका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
५ फिट ९ इन्च लम्बाइ र २ फिट ६ इन्च चौडाइ भएको छालासहित वन अध्यक्ष ४८ वर्षीय नारद सुनुवार, वैत्यश्वर गाउँपालिका काब्रेका ३४ वर्षीय प्रदीप गजमेर र ३५ वर्षीय वेदबहादुर सुनुवार पक्राउ परेका हुन् ।
प्रदीप गजमेरले बोकिरहेको कालो र नीलो रङको झोलाभित्र बोरामा हालेको अवस्थामा प्रहरीले चितुवाको छाला बरामद गरेको थियो । छाला बिक्री गर्न हिंडेको सुराकीका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई बुधबार सार्वजनिक गर्यो । सामुदायिक वनभित्र पासो लगाएर चितुवा मारेको र बिक्रीका लागि बोकी हिंडेको खुलेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । आरोपीहरूलाई जिल्ला वन कार्यालयमा बुझाइनेछ ।
त्यसैगरी भेनेजुएलामा ७.३ को भूकम्प शिर्षकमा अन्तर्राष्ट्रिय समाचार छापिएको छ । भेनेजुएलाको उत्तर–पूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्नमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन ।
त्यस्तै, भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मंगलबार अपराह्न ५ः३१ मा गएको भूकम्पको केन्द्रबिन्दु यागरापारो सहरबाट १९ किलोमिटर दक्षिण–पूर्वमा भएको जनाइएको छ ।
भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् । शक्तिशालीको कम्पनपछि धेरै सडक र पर्खालमा चिरा परेका छन् । भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो ।
भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयका लागि बन्द गरिएको थियो । यूएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो । तर पछि सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भेनेजुएलाको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जनाएको छ ।
नागरिक
–आजको नागरिकमा सिक्टामा अनियमितता : नहर निर्माणमा कमजोरी : छानबिन टोली शिर्षकमा रुद्र खड्काको समाचार छापिएको छ । सरकारी छानबिन टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा कमीकमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन टोलीले सिक्टाको मूल नहरको स्थलगत अध्ययन सकेर काठमाडौं फर्केपछि कमीकमजोरी भेटिएको जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा गठित छानबिन टोलीले मूल नहर भत्कनुमा व्यवस्थापनको कमजोरीका साथै माटोको समस्या देखिएको जनाएको छ। ‘सिक्टामा देखिएको समस्याबारे सुझावसहित विस्तृत प्रतिवेदन तयार गर्दैछौं,’ इन्जिनियरसमेत रहेका सहसचिव तिवारीले भने, ‘आयोजना सम्पन्न नहुँदै मूल नहर बनाउने ठेकेदारको मर्मत र सुधार गर्ने अवधि पनि नवीकरण नगरेको भेटिएको छ।’ आयोजना सम्पन्न नभए पनि तत्कालीन प्रमुख रमेश बस्नेतले कालिकाको मूल नहर मर्मत र सुधार गर्ने अवधि नवीकरण गराएका छैनन्।
मूल नहर भत्कनुमा व्यवस्थापनको कमजोरीका साथै माटोको समस्या देखिएको सरकारी छानबिन टोलीको प्रारम्भिक निष्कर्ष छ।
सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सिक्टाको पश्चिम खण्डको ४२ किलोमिटर मूल नहर किसानको खेतमा पानी नपुग्दै पटकपटक भत्कने गरेको छ। मूल नहरको मर्मत र सुधार गर्ने अवधि थप नगरिएका कारण कालिकाले सिक्टामा आफ्नो दायित्व सकिएको दाबी गर्दै आएको छ। कानुनले जुनसुकै आयोजना सम्पन्न भएको एक वर्ष मर्मत र सुधारको दायित्व सम्बन्धित ठेकेदारको हुने व्यवस्था गरेको छ।
छानबिन समितिका संयोजक तिवारीले अहिलेकै अवस्थामा सिक्टाको मूल नहरबाट पानी चल्न नसक्ने बताए। ‘सिक्टाको मूल नहरबाट पानी चलाउन मजबुत तरिकाले पुनःनिर्माण आवश्यक छ,’ उनले भने। १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको उक्त आयोजनालाई थप बलियो बनाउने कामका लागि आवश्यक रकम ठेकेदार कम्पनीले बेहोर्नुपर्ने उनको भनाइ छ। ‘मर्मत र सुधारको दायित्व नवीकरण नभए पनि कालिकाले पूरै रकम लिइनसकेकाले बाँकी काम उसैले गर्नुपर्छ,’ तिवारीले भने। टोलीमा तिवारीसहित सिनियर डिभिजनल इन्जिनियरहरू योगेन्द्र मिश्र, कृष्ण बेल्वासे, दिनेश रजौरिया र विद्युत् प्राधिकरणका इन्जिनियर प्रकाशमान श्रेष्ठ थिए। टोलीले १५ दिनजतिमा विस्तृत प्रतिवेदन तयार पार्ने जनाएको छ।
मूल नहरको चार किलोमिटर खण्डको माटो निकै घुलनशील पाइएकाले छानबिन टोलीले थप परीक्षणका लागि माटो काठमाडौं ल्याएको छ । मूल नहरको कटिङ गरिएको स्थानभन्दा माटो भरिएको स्थानमा बढी समस्या देखिएको छ। माटो भर्दा ठेकेदार कम्पनीले राम्रोसँग कम्प्रेषण नगर्दा समस्या देखिएको हो कि भन्ने कतिपय प्राविधिकको आशंका छ। सर्वसाधारण भने मूल नहर निर्माणको क्रममा ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भएकाले पटकपटक भत्कने गरेको आरोप लगाएको समाचारमा उल्लेख छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा साढे तीन वर्षमा पनि बनेने भ्यू टावर शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ ।काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो ।
सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गर्नुभएको थियो । शिलन्यासको ६ महिनापछि २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । त्यसैलाई नै भ्यूटावरको अहिलेसम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छ भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।
यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भन्नुभयो –‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उहाँले काम थाल्ने मिति तोक्न सक्नुभएन । यसबारे सोध्दा व्यस्त छु भन्दै टेलिफोन राख्नुभयो ।
स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उहाँमाथि कमसल जग्गा धितो राखेर बैंकमार्फ ११ करोड ९० लाख लिएको आरोप छ ।
सम्झौता सकिएको एकवर्ष नाघ्दासम्म काठमाडौँँ महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठेकेदारकै लापारबाहीले भ्युटावरको काम सुरु नभएको बताउनुभयो । यसबारे थप बुझ्न खोज्दा उहाँले अहिलेसम्म नबन्नाको कारण ठेकेदारलाई नै सोध्नु भन्नुभयो ।
काठमाडौँमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भने यस विषयमा आफू जानकार रहेको बताउँदै निष्कर्षमा पुग्न मेयरसँग छलफल गर्नुपर्छ भन्नुभयो ।
‘सम्झौता कटेको विषयमा मेयरसँग एकचरणमा छलफल भइसकेको छ । अब अर्को चरण बसेर निचोड निकाल्नुपर्छ ।’
उक्त भ्यूटावर २३ रोपनी जग्गामा बन्ने बताइएको छ । उक्त कम्पनीलाई निर्माणपछि महानगरपालिकाले वार्षिक २ करोड ७० लाख भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको समाचारमा उल्लेख छ ।
त्यस्तै रातमा ट्रिपरको लर्को, ध्वनि प्रदूषण चर्को शिर्षकमा मोतीराम तिमल्सिनाको समाचार छापिएको छ । काठमाडौं उपत्यकामा राति ८ बजेपछि मात्रै ट्रिपर चलाउने निर्णय भएसँगै सडक दुर्घटना केही कम भएपनि अन्य प्रकारका समस्या निम्तिन थालेका छन् । उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट एकै पटक ५ हजार भन्दा धेरै ट्रिपरहरु राजधानी भित्रँदा रात्रीकालिन जनजिवन समेत प्रभावित बन्न थालेको छ।
केही दिन अघि भक्तपुरको मध्यपुर ठिमीमा साती साढे ११ बजे आसपासको समयमा ट्रिपरबाट ढुंगा झार्दै गर्दा बा २ ख ३०३७ नम्वरका ट्रिपर चालक श्याम तामाङलाई स्थानीयले हातपात गरे । मध्यरातमा ढुंगा झारेर निद्रा विगारेको भन्दै उनी माथि हातपात भएको थियो । तामाङले प्रहरीमा उजुरी दिएनन् । अन्यत्र पनि त्यस्ता उदाहरण दोहोरिन थालेका छन् । रातभर बाक्लो संख्यामा ट्रिपर गुड्न थालेपछि मूल सडक आसपासमा स्थानीय ध्वनी प्रदुषणले निन्द्रा विच्काउने गरेको बताउँछन् ।
बनेपाका स्थानीय मोहन जस्पाउ ट्रिपरका कारण घर सर्नु पर्ने अवस्था आएको बताउँदै भन्छन्–‘ट्रिपर चल्न थालेपछि बाटोमा सर्वसाधारणलाई बाटो काट्न समेत समस्या हुन्छ, अरु सवारी समेत गुडाउन गाह्रो छ ।’ उपत्यकामा साँगा, थानकोट, बालाजु बाईपास, सातदोबाटो, बल्खु, चाँपागाउँ, सुन्दरीजल, साँखु, भक्तपुर लगायतका क्षेत्रबाट राती ८ बजेपछि बाक्लो संख्यामा ट्रिपर भित्रिन्छन् । काभ्रेबाट मात्रै एकै सात ८ सयका हाराहारीमा ट्रिपर राजधानी प्रवेश गर्ने ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले बताए ।
काठमाडौं पुगेर सामान अनलोड गरेर फर्किने मालवहाक सवारी बाक्लै संख्यामा बाहिरिने गरेका उनले जानकारी दिए । रात्रीकालिन डिउटीले मालवहाक सवारी चालकका घर परिवारमा पारिवारिक विखण्डन समेत ल्याउन सक्ने चापागाँईको तर्क छ । दिनभर सामान खोज्न र लोड अनलोडमा जुट्नुपर्ने, अनि राती मात्रै काठमाडौं जान मिल्ने भएपछि घरपरिवारसँगको सामिप्यता समेत गुम्न सक्ने चालकहरु गुनासो गर्छन् । ‘हाम्रो समस्या काठमाडौंका ३ वटै प्रशासन कार्यालयलाई जानकारी गराएका छौ तर सुनुवाई भएको छैन’–काठमाडौं काभ्रे रुटमा ट्रिपर चलाउँदै आएका र हाल भक्तपुर बस्ने एक चालकले भने ।
सडक र अन्य पूर्वाधार विकाससँगै उपत्यकाका घर निर्माणका लागि आवश्यक सिमेन्ट गिटी, रोडा, बालुवा, ढुंगा, इँटा र अन्य निर्माण सामग्री ढुवानी गर्ने ट्रिपरलाई समय सिमा तोक्दा विभिन्न किसिमका जटिलता आउने व्यवसायीहरुको तर्क छ । बाग्मती ट्रिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले ब्यवसायीको माग बमोजिमको निर्माण समाग्री ढुवानी हुन नसकेको बताए ।
सरकारले उपत्यकामा दिउँसो टिपर चलाउन नदिने हो भने थप सवारी साधनको आवश्यकता पर्ने ब्यवसायीहरुले बताएका छन् । अहिले भएका सवारी साधन धेरै भएकाले सवारी चापका ट्राफिक समस्या बढिरहँदा थप सवारी बढेमा समस्या झनै जटिन बन्ने कुँवर बताउँछन् । ट्रिपर दुर्घटनामा धेरै मोटरसाईकल र स्कुटर मात्रै भएकाले दुर्घटना न्युनिकरण गर्न टिपर चालकसँगै मोटरसाईकल र स्कुटर चालकहरुलाई पनि सचेत गराउनुपर्ने व्यवसायीको तर्क रहेको समाचारमा उल्लेख छ ।