Thursday, October 31, 2024

पत्रपत्रिकामा आज : चितुवाले मार्यो चितुवा, हरियो चियामा उठेन लगानी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा चितुवाले मार्यो चितुवा शिर्षकमा आश गुरुङको समाचार छापिएको छ । घलेगाउँका हर्कबहादुर घले मंगलबार दिउँसो बारीमा जाँदा मकैको बोट हल्लिरहेको देखे । नजिकै गएर हेर्दा कुनामा चितुवा छटपटाइरहेको रहेछ । उनको मुटुले ठाउँ छोड्यो । बिरालोको चालमा पछाडि सरे ।

डिलमा पुगेर वरपरका मान्छेसँग सहयोग मागे । एकछिनमै गाउँले जम्मा भए । हल्लीखल्ली भएपछि चितुवा दौडेर गाउँतर्फ छिर्‍यो । गाउँले पछिपछि दौडिए । चितुवा केशमान गुरुङको पिँढीमा पस्यो । ‘घरमै चितुवा छिरेपछि हामी डरायौं,’ केशमानले भने, ‘बूढाहरूले जिस्क्याउनु हुन्न भनेपछि घरपछाडि गएर करायौं । चितुवा निस्केर बगुम जाने बाटो हुँदै जंगलतर्फ पस्यो ।’

स्थानीयका अनुसार त्यसले निगाले चितुवा मारेर ल्याएको रहेछ । निगाले चितुवालाई लुछेर खाने क्रममा हर्कबहादुर बारीमा पुगेका थिए । ‘मकैको बोट हल्लिरहेको देखेपछि नजिक गएँ । चितुवा देखेपछि सातो उड्यो । बल्लबल्ल डिलसम्म आएर चिच्याएँ,’ उनले भने, ‘चितुवा जंगल पसेपछि हामी त्यही बाटो गयौं । त्यहाँ त्यसैले मारेको निगाले चितुवा रहेछ ।’ केही मासु खाइसकेको अवस्थामा निगाले चितुवा भेटिएको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङअन्तर्गत घलेगाउँ चेकपोस्टकी स्वास्थ्य सहायक ललिता गुरुङका अनुसार फलमासु खाइसकेको अवस्थामा निगाले चितुवा भेटिएको हो । जंगलबाटै मारेर मकैबारीमा ल्याएको हुन सक्ने उनले बताइन् । ‘एक्याप इलाका कार्यालयसँगको समन्वयमा स्थानीय भद्रभलादमीको रोहबरमा मुचुल्का गरी हामीले गाउँमै निगाले चितुवालाई गाढ्यौं,’ उनले भनिन् ।

घलेगाउँलगायत त्यहाँका साविक ८ गाविस एक्यापको संरक्षित क्षेत्रभित्र पर्छ । स्थानीयका अनुसार ठूला जंगली जनावरले सानालाई खाने गरे पनि चितुवालै चितुवा मारेको घटना नौलो भएको समाचारमा उल्लेख छ ।

त्यस्तै खोलाखोलै सडक सञ्चालन शिर्षकमा कृष्ण थापाको समाचार छापिएको छ । तीन दिनदेखि नुवाकोट–रसुवा पासाङल्हामु मार्ग त्रिशूली–बेत्रावती खण्डको गेर्खुटारमा खोलाबाटै यातायात सञ्चालन गरिएको छ । खोलाको पानी घटेपछि रोकिएका नुवाकोट–रसुवाका सवारी मंगलबार दिउँसोबाट आवतजावत भएका छन् ।

विदुर नगरपालिकाको सिम्बुटार र गेर्खुटार जोड्ने पक्की पुल शनिबार राति बाढीले बगाएपछि यातायात अवरुद्ध भएको थियो । चीन जोड्ने नाकासमेत भएकाले अन्तर्राष्ट्रिय यातायात सम्पर्क नै टुटेको छ । मंगलबारबाट खोलाको बहाव घटेकाले खोलाबाटै सवारी चलाइएको छ । २र३ दिनमा फर्किने गरी गोसाइँकुण्ड यात्रामा निस्केका काठमाडौंका कुमार तामाङले एक दिन बढी लागेको बताए । ‘छिट्टै फर्किने गरी गोसाइँकुण्ड गयौं,’ उनी भन्छन्, ‘सडक अवरोधले चार दिन लाग्यो ।’

पुल भत्केर खोलैखोला चलाउनु पर्दा बढी सास्ती भोग्नुपरेको चालक हीरा तामाङले बताए । पासाङल्हामु मार्गको त्रिशूली खण्डको गेर्खुटार, तिरतिरे भीर, रसुवातर्फको धुन्चेपारि त्रिशूली खोला छेउ, खोप्पाङभीर, लिङलिङ, टिमुरेसम्म ५र७ घण्टा जाम हुने गरेको छ । गेर्खुटारमा अझै यातायातका साधन खोलामा फस्दा स्काभेटरको सहायताले उतारेर पठाउने गरिएको छ । भत्केको पुलदेखि ५० मिटर माथि हयुमपाइप राखेर अस्थायी कल्भर्ट बनाउन थालिए पनि काम निकै सुस्त छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले सडक छिटो खुलाउने प्रयास नगरेको स्थानीयवासीले आरोप लगाएको समाचारमा छ ।

त्यस्तै मेलम्चीमा ३४ करोड लिटर थपिने शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।

गतवर्ष आयोजनाले दिएको एक वर्षको समयावधिभित्र परामर्शदाताले डीपीआर तयार गरी बुझाएको हो । ‘अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरिराखेका छन्,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, ‘डीपीआरका सुधार गर्नुपर्ने पक्ष समेटेर स्वीकृत गरिनेछ ।’ नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर छलफल भइरहेको उनले बताए । तीन महिनाभित्र अन्तर्राष्ट्रिय टेन्डर आह्वानमार्फत काम सुरु गरिने उनले जनाए । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माण सुरु भइसकेको पनि ठाकुरले बताए । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि रहेको समाचारमा उल्लेख छ।

नागरिक
–आजको नागरिकमा सिक्टा सिँचाइमा अनियमितता : ठेक्का लगाउन हतार, काम गराउन बेवास्ता शिर्षकमा रुद्र खड्काको समाचार छापिएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइका आयोजना प्रमुखहरूको ध्यान पुराना ठेक्का सम्झौतालाई अनुगमन र नियमन गर्नुभन्दा नयाँ ठेक्का सम्झौता गरी कमिसन असुल गर्नेतिर ध्यान जाँदा मूल नहर कमसल बनेको पाइएको छ।

आयोजनाका प्रमुखहरू नयाँ ठेक्का सम्झौतामा मात्र केन्द्रित हुँदा ठेकेदारले गर्ने काम गुणस्तरहीन भएको हो । निर्माण कार्यलाई गुणस्तरीय बनाउने मुख्य जिम्मेवारी पाएका प्रमुखहरूको कसिमन लोभले आयोजना अन्तिम चरणमा पुग्दै गर्दा अलपत्र पर्ने खतरा बढेको भन्दै स्थानीय चिन्तित छन्।

यसअघि नै निर्माण सम्पन्न भइसकेको काम गुणस्तरीय भए/नभएकोबारे ध्यान दिनु र ठेकेदारले गर्ने कामको अनुमगन, नियमन लागि आयोजना कार्यालय स्थापना गरिएको हुन्छ । तर, आयोजना प्रमुखहरू निर्माण कार्यलाई गुणस्तरीय बनाउनभन्दा पनि कसरी कमिसन असुल्न सकिन्छ भन्नेमै केन्द्रित रहे । यही उपक्रम पछिल्ला आयोजना प्रमुख रमेश बस्नेतले पनि दोह्रोर्याए।

परीक्षणको क्रममा मूल नहर भत्किएपछि ठेकेदारसँग मिलेमतोको आरोप लागेका बस्नेत दोस्रोपटक सिक्टाको प्रमुख भएलत्तै ९० करोड रुपैयाँको शाखा नहरको ठेक्का सम्झौता गरेका थिए । जब कि यतिखेर सिक्टामा शाखा नहर निर्माण भन्दा मूल नहरलाई कसरी गुणस्तरीय बनाउने भन्ने समस्या ठूलो हो । सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको पश्चिम खण्डको ४२ किलोमिटर मूल नहरमध्ये करिब आधाजति जीर्ण भइसकेको छ । किसानको खेतमा पानी नपुग्दै परीक्षणको क्रममा भत्किएको मूल नहरलाई कसरी मजबुत बनाउने भन्नेतिर ध्यान केन्द्रित गर्नुपर्ने बेला बस्नेत आयोजनाको ९० करोड बजेट टुक्राएर शाखा नहरका ठेक्का लगाउन केन्द्रित रहे।

सिँचाइ विभाग स्रोतका अनुसार बस्नेतले ९० करोड रुपैयाँलाई सात खण्डमा टुक्राएर ठेक्का लगाएका छन् । ठूला आयोजनाको ठेक्का सम्झौता विभागको तहबाट हुने प्रचलन रहँदै आए पनि उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च तहका व्यक्तिसँग सिधै साँठगाँठ गरी ठेक्का टुक्राएका थिए । कानुनले १० करोड रुपैयाँसम्मको ठेक्कामा आयोजना प्रमुखले निर्णय गर्न सक्ने व्यवस्था गरेकाले बस्नेतले सोही बाटो समातेको समाचारमा उल्लेख छ।

त्यस्तै हरियो चियामा उठेन लगानी शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ । देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।

इलाम, झापा, पाँचथर, धनकुटालगायत १४ जिल्लाका नौ हजार दुई सय ३६ किसान चियामा व्यावसायिक भएका छन् । तर, उनीहरूले उत्पादन गरेको हरियो चिया अहिले ठाउँअनुसार २० देखि ४४ रुपैयाँ प्रतिकिलोसम्ममा विक्री भइरहेको छ । अर्गानिक चिया उत्पादकले हरियो पत्तीमा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्म पाउने गरे पनि यो चियाको परिमाण नै कम छ । ठूलो संख्याका किसान र व्यवसायी आबद्ध रहेको ननअर्गानिक हरियो पत्तीबाट चाहिँ लगानी नै उठाउन नसकेको किसान बताउँछन्।

चियाको बिरुवा नर्सरी गरी रोपेर र टिप्नेसम्मको बनाउन बढी मेहनत लाग्छ । रोपेको तीन वर्षपछि मात्रै आम्दानी दिन थाल्ने भएकाले चियामा लगानी बढी हुन्छ । तर, मूल्य राम्रो भए चिया खेतीबाटै व्यावसायिक बन्न सकिने भएपनि मूल्य नै लगानीअनुसार पाउन नसकेको किसान बताउँछन् । ‘चियालाई रोप्नेदेखि पैसा लिनेबेलासम्मको बनाउन निकै मेहनत लाग्छ,’ किसान अमर सापकोटाले भने, ‘बेच्ने बेलामा भाउ आइदिँदैन, कारखानाले जति मूल्य दिन्छ, त्यसैमा चित्त बुझाउनुपरेको छ।’

किसानका अनुसार एक किलो हरियो चिया उत्पादन गर्न ४५ रुपैयाँजति खर्च हुन्छ । तर, आफूले पाउने मूल्य नै त्यति नभएको उनीहरू बताउँछन् । ‘चियाबाट फाइदाको कुरा त के गर्नु, लगानी उठाउनै धौ धौ छ,’ अर्का किसानको तोया रिजाल भन्छन्, ‘कम्तीमा प्रतिकिलो ५० रुपैयाँ नभई चियाबाट फाइदै नहुनेरहेछ ।’ किसानले हरियोपत्तीको न्यूनतम मूल्य तोक्न सरकारलाई यसअघि पनि पटक–पटक माग गरेका थिए । तर, अहिलेसम्म सरकारले सबै किसानका लागि हरियो पत्तीको समर्थन मूल्य तोक्न नसकेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा म्याद सकिएको ९ महिनापछि पुलको एउटा पिलर निर्माण शिर्षकमा केदार लाफाको समाचार छापिएको छ । खोटाङको साप्सुखोलामा निर्माणाधीन पक्की पुलको म्याद नाघेका नौ महिनापछि एउटा पिलरको आधा काम सकिएको छ । १८ महिनाभित्र निर्माण पूरा गर्ने गरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले ०७३ वैशाखमा पुल निर्माणको ठेक्का लिएको थियो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको सम्झौता अवधि सकिएको नौ महिनापछि एउटा पिलर निर्माणको काम सुरु भएको हो ।

पुल निर्माणको म्याद ०७४ साल कात्तिकमै सकिएको थियो । पुलको एउटा पिलरको आधा काम पूरा भएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । ‘म्याद सकिएको नौं महिनापछि बल्ल एउटा पिलर निर्माण भएको छ,’ उनले भने, ‘तापनि वर्षा लागेपछि पुलको अन्य काम अघि बढ्न सकेको छैन ।’

दिक्तेल–खोटाङबजार जोड्ने हरित सडकमा पर्ने पुलको ०७३ मंसिर २२ गते तत्कालीन सांसद विशाल भट्टराईले शिलान्यास गरेका थिए । पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले सात महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । पुल निर्माणको काम अलपत्र पारेको भन्दै सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको विरोध हुँदै आएको छ ।

तत्कालीन जिविस र प्राविधिक कार्यालयले खबरदारी नगर्दा ठेकेदारले पुल निर्माणको काममा ढिलाइ गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए । खोटाङको समृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार आवतजावतमा समस्या हुँदै आएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम ९(याप०ले ११ वर्ष लगाएर ०६९ दिक्तेल–खोटाङबजार ७४ किलोमिटर सडक निर्माण गरेको थियो ।

साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना हुन सकेको छैन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकलाई जोड्ने सो पुल जिल्लाकै महत्वपूर्ण आयोजना हो ।

नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दुई करोड ३० लाख ३६ हजार रुपैयाँ लागतमा पुल निर्माण पूरा गर्ने गरी ठेक्का लागेको हो । म्याद नाघेको नौ महिनापछि ठेकेदारले गएको जेठदेखि पुल निर्माणको काम थालेको हो । वर्षाको समयमा पनि पुलको कामलाई निरन्तरता दिइने ठेकेदार कम्पनीका प्रतिनिधि विराज आचार्यले बताए ।

पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम पनि समावेश गरेर गृहमन्त्रालय पठाएको छ । कालोसूचीमा गृहमन्त्रालयमा नाम सिफारिस भएपछि ठेकेदारलाई काम गर्न बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ ।

गोरखापत्र
–आजको गोरखापत्रमा भासियो काठमाडौँ–फाप्लु सडक, यातायात अवरुद्ध शिर्षकमा समाचार छापिएको छ । काठमाडौँ–फाप्लु सडक खण्डको छुल्यामू सडक खण्डमा सडक भासिँदा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामूमा सडक करिब दुई फिट भासिएपछि उक्त सडक हुँदै आवतजावत गर्ने यातायातका साधन ठप्प भएका हुन् ।

कुनाको ढलसहित सडकको तल तिरको भाग पूरै भासिदा सो सडकमा यातायात ठप्प भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिनुभयो । जिल्लाबाट काठमाडौँ छुट्ने जिप लगायतका साना सवारीले वैकल्पिक सडकका रूपमा छुल्यामूको माथिल्लो सडक प्रयोग गरेका छन् भने बस तथा अन्य ठूला ढुवानीका साधन पूर्णरूपमा बन्द छन् ।

सल्लेरी गार्मा सडक खण्डको पक्की सडक खण्ड अवरुद्ध भएकाले वैकल्पिक सडकका रूपमा माथिल्लो छुल्यामु सडक प्रयोग गर्न ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुले आग्रह गरेको छ । ठूला सवारी साधनलाई भने बजार क्षेत्रबाट आवागमनको अनुमति छैन । अवरुद्ध सडकको स्थलगत निरीक्षण गर्दै सोमबार नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पासहित सडक डिभिजन कार्यालय ओखलढुङ्गाका प्राविधिकको टोलीले सडक मर्मत कार्य एक हप्तामा सुरु हुने बताएको छ । मेयर शेर्पाले सडक चाँडोभन्दा चाँडो मर्मत गरी सञ्चालनमा ल्याउन आफूले सडक डिभिजन कार्यालयलाई अनुरोध गरिसकेकाले छिटै मर्मत गरिसक्ने बताउनुभयो ।

मोटरसाइकल तथा जिप जस्ता साना सवारी साधनका लागि गार्माको माथिल्लो सडक वैकल्पिक सडक भए पनि ठूला सवारी साधन भने केही समयका लागि बन्द हुने मेयर शेर्पाको भनाइ छ । यसैबीच साल्मे सडक खण्डको सिस्नेरी भीरमा प्रत्येक राति पर्ने वर्षाका कारण दिनहुँजसो पहिरो जान थालेपछि बिहान स्काभेटरको सहायताले सडक खुलाउने काम भइरहेको बताइएको छ ।

अघिल्ला वर्षमा पनि धेरै लगानी गरेर बनाइएको पहिरो मर्मतले यस वर्ष फेरि दुःख दिन थालेपछि बिहानको यात्रा प्रभावित बनेको छ । राति पर्ने पानीले लेदो सहितको पहिरो सडकमा खसेपछि बिहान आवतजावतमा समस्या हुनेगरेको यातायात व्यवसायी बताउँछन् । त्यस पहिरोको दिगो समाधान गर्न ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ रहेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार