४ असार, काठमाडौँ ।
यसपटकको प्रि–मनसुनमा नेपालमा साढे ४ दशकयताकै धेरै वर्षा मापन भएको छ ।
प्रि–मनसुन अवधिमा नेपालमा औसतमा २ सय २६.३ मिलिमिटर पानी पर्ने जल तथा मौसम विज्ञान विभागको अभिलेख छ । यसपटक औसत भन्दा १ सय ४५.५ प्रतिशत अर्थात् ३ सय ३९.७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
मौसमविद्हरू अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि–मनसुन अवधिका रूपमा बुझ्ने गर्छन् ।
विभागले सन् १९८१ देखि १ सय २६ वटा वर्षामापन केन्द्रको तथ्यांकलाई आधार मानेर मनसुन अघिको वर्षाको मात्रा विश्लेषण गर्दै आएको छ । यसअघि प्रि–मनसुनमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् १९९० मा परेको विभागले जनाएको छ ।
यसपटक प्रि–मनसुनले सन् १९९० को रेकर्ड तोडेको छ । नेपालमा प्रि–मनसुनको विश्लेषण आरम्भ भएयता यसपटक सबैभन्दा धेरै पानी परेको विभागको विश्लेषण छ ।
यसअघि सन् २०२१, २०२०, २००० र १९९० मा पनि प्रि–मनसुनमा ३ सय १५ मिलिमिटरभन्दा धेरै पानी परेको विभागको अभिलेख छ ।





