८ वैशाख, कञ्चनपुर।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरू गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना थालिएको हो ।
यसका लागि ३५ जना परिचालन गरिएको छ । निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना गरिँदैछ । गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको छ ।
गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिनेछ भने दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा ३ वटा हात्ती परिचालन गरिएको जनाइएको छ । फायरलाइनमा २ सवारीसाधन र ४ वटा मचानमा ३/३ जनाको प्राविधिक जनशक्ति खटाइएको छ ।
गणना बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म भइरहेको छ । गणना १२ वैशाखसम्म जारी रहने छ । गणनाका क्रमा बाह्रसिङ्गाको संख्या यकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्यांकन गरिने सूचना अधिकारी वाग्लेले बताए ।
निकुञ्जको मझगाउँ मुख्य कार्यालयदेखि करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिन्छ । करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिङ्गा पाइन्छन् । विसं २०८१ मा गरिएको गणनामा यहाँ २ हजार १ सय ८२ बाह्रसिङ्गा अभिलेख भएका थिए ।
निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार निकुञ्जमा बाह्रसिङ्गाको संख्या सन्तोषजनक छ । पछिल्ला वर्षहरूमा मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि बाह्रसिङ्गा देखिन थालेका छन् । ‘यो संरक्षणका हिसाबले सकारात्मक संकेत हो’, उनले भने, ’गणनालाई घाँसेमैदानमा मात्र सीमित नराखी बाह्रसिङ्गा पाइने सम्भावित अन्य क्षेत्रमा समेत विस्तार गरिएको छ ।’
बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका हो । पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको संख्यासमेत वृद्धि हुँदै गएको जनाइएको छ ।
रासस





