७ वैशाख, चितवन।
राप्ती नदीमा घडियाल गोहीका १७ वटा गुँड भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले गत १ चैतदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरू गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार २ जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा संकलन गरिन्छ ।
उनका अनुसार अण्डा संकलनको काम यही १० वैशाखदेखि सुरू गरिने छ । ‘अहिले गुँड पहिचानको काम सकिएको छ । अब हामीले कुन कुन गुँडबाट अण्डा निकाल्ने भन्ने छलफल गरेर अण्डा संकलन गर्छौं’, थापामगरले भने ।
गुँडमा रहेका अण्डा संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरू गरिने उनले जानकारी दिए । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको हो । निकुञ्जको प्रजनन केन्द्रमा गोहीको अण्डाबाट चल्ला निकालिए पछि ती चल्ला हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ ।
रासस





