युवाहरूलाई वातावरणमा जोड्न जोड

३ वैशाख, काठमाडौँ।

वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा योगदान पु-याएका विज्ञ तथा पेशाकर्मीहरूको सम्मानमा ‘इन्भाएरोमेन्ट प्रोफेसनल डे’ मनाइएको छ ।

यस अवसरमा ‘नेपाल प्रभाव मूल्यांकन संघ’ (एनएआइए)ले वातावरण क्षेत्रमा आवद्ध सरोकारवालाहरूबीच ज्ञान तथा कार्यअनुभव आदान–प्रदान गर्दै भावी रणनीतिबारे छलफल गरेको छ । नयाँ पुस्तालाई वातावरण संरक्षणप्रति आकर्षित गर्दै र यस क्षेत्रमा संलग्न गराउनु कार्यक्रमको अर्को उद्देश्य हो ।

कार्यक्रमका सहभागीहरूले युवाहरूलाई वातावरणीय चुनौतीहरूबारे सचेत गराउँदै उनीहरूलाई व्यवहारिक तथा अनुसन्धानमुखी काममा प्रेरित गर्नुपर्नेमा जोड दिए । वातावरण संरक्षणका क्षेत्रमा कार्यरत पेशागत विज्ञहरूको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल एसोसिएसन फर इम्प्याक्ट एसेसमेन्ट’ (आइएआइए) को पहलमा विश्वभर हरेक वर्षको १५ अप्रिलमा यस्तो दिवस मनाउने गरिन्छ।

एनएआइए आइएआइएको नेपाल च्याप्टर हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसचिव अनुपराज उपाध्यायले वातावरणीय क्षेत्रको दिगो विकासका लागि युवाहरूको सक्रिय भूमिका अनिवार्य रहेको उल्लेख गरे । साथै उनले दिगो विकासका अवधारणालाई व्यवहारमा उतार्न युवामैत्री योजना तथा कार्यक्रमहरू आवश्यक रहेको चर्चा गरे ।

त्यसैगरी एनएआइएका अध्यक्ष मिलन दाहालले वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरू अझ प्रभावकारी र युवामैत्री हुनुपर्नेमा जोड दिए । भावी पुस्तालाई ध्यानमा राखेर दिगो विकासका क्रियाकलाप हुनुपर्ने बताउँदै संस्थाका सचिव नवराज पोखरेलले युवामुखी कार्यक्रमहरू पूर्ण रूपमा वातावरणमैत्री हुनुपर्ने चर्चा गरे ।

कार्यक्रममा पाटन क्याम्पसका सह–प्राध्यापक डा. नारायण गैरेले अनुसन्धान र अध्ययन क्षेत्रमा युवाहरूको सक्रियता बढाउन सरकार, विश्वविद्यालय तथा अन्य सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार वातावरणीय समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन र प्रमाणमा आधारित नीति निर्माण अपरिहार्य छ ।

वातावरण क्षेत्रमा क्रियाशिल वैज्ञानिक, इञ्जिनियर, योजनाकारहरू र यो क्षेत्रका अन्य सरोकारवालाहरूको पहल र एनएआइएको अग्रसरतामा नेपालमा ४ वर्षयता यस्तो दिवस मनाउन थालिएको हो । दिवसको सन्दर्भमा सरोकारवालाहरूले वातावरणीय नीति र सामुदायिक स्वास्थ्यको भूमिकालाई पनि प्राथमिकतामा राख्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार