वन पैदावारको उपयोगमा जोड

२९ चैत, काठमाडौँ।

वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकी छिन् ।

साथै, उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएकी छिन् । वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन् ।

मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन् ।

उनले भनिन्, ‘नेपाल जैविक विविधतामा धनी राष्ट्र हो । विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्वपूर्ण स्थानमा छ । तर अझै पनि कच्चा पदार्थका रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ ।’

मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताइन् ।

देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पु¥याउनुपर्ने बताइन् ।

बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक संकेत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ थियो ।



रासस

ताजा समाचार

सम्बन्धित समाचार