२७ चैत, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा गएका सेनाले गोली चलाउँदा वयस्क पोथी गैंडा मरेको छ ।
गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार (२६ चैतमा) सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाइएको गोलीबाट करिब २४ वर्षको गैँडा मरेको हो ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्ती जाने क्रममा एक्कासी वयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक सिपाहीलाई आक्रमण गरेको थियो ।
गैँडा धपाउन १४ राउन्ड हवाई फायर गरिएको थियो । तर नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप २ राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ ।





