१८ माघ, काठमाडौँ।
वरिष्ठ पक्षीविद् डा. हेमसागर बराल ‘त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम–गंगा पक्षी अनुसन्धान तथा संरक्षण सम्मान’बाट सम्मानित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालयको आयोजना र कपन–बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सह–आयोजनामा आयोजित कार्यक्रममा वन्यजन्तुविद् समेत रहेका बराल सम्मानित भएका हुन् ।
वरिष्ठ चित्रकार, चराविद् तथा कवि हेम पौड्यालको दोस्रो स्मृति दिवसको अवसरमा आइतबार (१८ माघमा) बराललाई नगद २५ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।
संग्रहालयका प्रमुख डा. ईशान गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के.के. कर्माचार्य (प्रमुख अतिथि), त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनाल, वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वर्गीय पौड्यालकी पत्नी एवं वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौड्यालले आफ्ना श्रीमान् पौड्यालद्वारा सिर्जित २० वटा चराका तैलीय चित्रहरू संग्रहालय प्रमुख गौतमलाई हस्तान्तरण गरिन् । यसका लागि संग्रहालयले पौड्याललाई कदरपत्र प्रदान गरेको छ ।
पुरस्कार र संरक्षण कार्यलाई निरन्तरता दिन पौड्याल परिवारको तर्फबाट गंगा कर्माचार्य पौड्यालले संग्रहालयमा ५ लाख रूपैयाँको अक्षयकोष समेत स्थापना गरेकी छन् ।





