१८ माघ, काठमाडौँ।
देशभरका वातावरण निरीक्षकको विवरण उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई पत्राचार गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको आग्रह अनुसार संघीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षककाबारेमा जानकारी उपलब्ध गराउन भनेको हो । मुलुकभर हाल वातावरण निरीक्षक संघ, प्रदेश र स्थानीय तहमा के–कति संख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको संख्या के–कति हो ? भन्ने जानकारी माग गरिएको संघीय वन मन्त्रालयले जनाएको छ ।
उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ/छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ । वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ ।
उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ/छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने संख्या के–कति हो लगायतका विवरण उपलबध गराइदिन संघीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो ।
रासस





