२ माघ, मुस्ताङ।
जिल्लाको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन् ।
आज बिहान (२ माघमा) भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । परियारको परम्परागत खोरको कच्ची ढोकाको बार तोडेर हिउँचितुवा पसी भेडामाथि आक्रमण गरेको एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
उनका अनुसार यसबाट परियारलाई करिब ५ लाख रूपैयाँको नोक्सान भएको अनुमान छ । यसअघि गत मंसिर २६ गते पनि हिउँचितुवाले आक्रमण गर्दा परियारका १९ वटा च्याङ्ग्रा मरेका थिए । त्यसबाट उनलाई करिब ६ लाख रूपैयाँको नोक्सान भएको थियो ।
२ सय बढी भेडाच्याङ्ग्रा पालन गरेका परियारले उक्त घटनापछि च्याङ्ग्राको बथानबाट भेडाको बथान छुट्याएर अन्यन्त्र स्थानान्तरण गरिएको जानकारी दिए । सारिएको गोठमा पनि कमजोर पूर्वाधार भएकाले हिउँचितुवा खोरमा पसेर पशुधनमाथि क्षति पुर्याएको कार्यालय प्रमुख गुप्ताले बताए ।
घटनापछि एक्यापका कर्मचारी घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गर्न तथा क्षतिको विवरण संकलन गर्न घटनास्थल पुगेका छन् । परियारको खोरमा हिउँचितुवा वा चितुवाले आक्रमण गरेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । करिब ३५ दिनको फरकमा परियारका ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन् ।
एक्याप कार्यालयले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षतिपूर्तिको राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । मुस्ताङमा हिउँचितुवासहित अन्य वन्यजन्तु तथा भुस्याहा कुकुरको जोखिमले पशुपालन गरी बसेका किसानले दुःख पाउँदै आएका छन् ।
पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकाले पशुपालकले सुरक्षित खोर सुधारतर्फ ध्यान दिनुपर्नेमा एक्यापले जोड दिएको छ । पछिल्लो समय हिउँचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय पशुपालन व्यवसाय संकटमा पर्दै गएको एक्यापका प्रमुख गुप्ताले बताए । हिउँचितुवा र मानवबीचको सहअस्तित्व निर्माण हुनेगरी दिगो र सुरक्षित संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्च लेकमा घाँसको अभाव हुँदा आहारा प्रजाति बस्तीतर्फ झर्ने र आहारको खोजीमा मानिस तथा घरपालुवा पशुमाथि हिउँचितुवाबाट आक्रमण हुने गरेको एक्यापले जनाएको छ ।
रासस





