Monday, January 12, 2026

चितवनमा आगन्तुक जलपक्षी गणना सकियो

२८ पुस, चितवन।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ ।

यही २४, २५ र २६ पुसमा (जनवरी ८, ९ र १० तारिख) मा जलपक्षी गणना गरिएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपाल पक्षीविद् संघ वाग्मती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि गणना गरिएको हो ।

नदीहरूमा ताल तलैयामा चरा गणना गरिएको हो । गणनाका लागि ७० चराविज्ञ सहभागी भएका थिए । उनीहरूले अहिले जलपक्षीका प्रजाति छुट्याउने काम गरिरहेको विडारीले बताए । उनले भने, ‘अहिले अध्ययनको काम चलिरहेको छ, एक दुई दिनमा नतिजा आउँछ ।’

लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुंगे खोला, कसरा पुलहुँदै राप्ती नदीमा चरा गणना गरिएको छ । नरायणी नदी, माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरिएको हो ।

वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भंगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमासमेत गणना गरिएको छ । वर्ड एजुकेसन सोसाइटी, पक्षीविद् संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्ने गरिएको विडारीले जानकारी दिए ।

उनका अनुसार पैदल, डुंगा र गाडीबाट चरा गणना गरिएको हो । बाइनाकुलार क्यामेरा, जिपीएस, साउण्ड रेकडर लगायतको प्रयोग गरी चराको गणना गरिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । अध्यक्ष विडारीका अनुसार देशभर ९ सय ४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६ सय ६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै हो ।

नेपालमा जलपक्षी ठूलो संख्यामा चीनबाट आउने गर्दछन् । मंगोलिया, रूसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने विडारी जानकारी दिए । चिसो छल्नका लागि चरा यहाँ आउने गरेका उनले बताए । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार