Tuesday, January 20, 2026

साउनयता चितवनमा ९ गैँडा मरे

२३ पुस, चितवन।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ९ वटा गैँडा मरेका छन् ।

निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र आसपासमा ती गैँडा मरेका हुन् । चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता ५ वटा भाले र ३ वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिंग पहिचान हुन नसकेको उनले जानकारी दिए ।

एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ । पछिल्लो पटक यही मंगलबार (२२ पुसमा) एउटा भाले गैँडा मरेको थियो । कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको मगरले बताए ।

‘यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो’, उनले भने । हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका छन् ।

मगरकाअनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् ।

यसैबिच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन निकुञ्जको सडकमा टायल बिछ्ययाउने काम सुरू गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरूप टायल बिछ्याउन थालिएको हो ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कतिको हुन्छ भन्ने परीक्षणस्वरूप काम सुरू गरिएको हो । नगरपालिकाको १० लाख रूपैयाँको लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको उनले जानकारी दिए ।

भुसालले भने, ‘सुरूवातमा परीक्षणस्वरूप कम क्षेत्रमा काम गर्न लागिएको हो । यो काम सफल भएमा पुनः अन्य क्षेत्रमा विस्तार गरिनेछ ।’ निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयमा सहमति भएर विभाग हुँदै पत्र आएपछि टायल बिछ्याउने काम सुरू गर्न अनुमति दिइएको हो ।

उनले भने, ‘सुरुमा ३४ मिटर परीक्षणस्वररूप काम गर्न दिइएको छ ।’ यो परीक्षण सफल भएमा निकुञ्जको सडकमा पर्ने देउरालीसम्म नगरपालिकाको बजेटबाट टायल राख्ने काम गर्ने भन्ने सहमति भएको उनले जानकारी दिए ।

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडकमध्ये अहिले ३४ मिटरमामा टायल बिछ्याइने र अन्य सडकलाई स्तरोन्नति गरिने बताए । उनले भने, ‘सुरूवाती समयमा परीक्षणस्वरूप थोरै क्षेत्रमा टायल बिछ्याउन लागिएको छ भने अन्य सडकलाई स्तरोन्नति गर्न सुरू गरिएको छ ।’

माडीका बासिन्दाले सो सडक कालोपत्र गर्न सरकारलाई दबाब दिँदै आएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति लिनुपर्ने भएपछि विकल्पका रूपमा टायल बिछ्याउने सहमतिअनुसार काम अघि बढाउन लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार