Tuesday, January 20, 2026

घट्यो काठमाडौँको तापक्रम

२१ पुस, काठमाडौँ।

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २ दिनमा काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज ३.५ डिग्रीमा झरेको छ । यही १९ पुसमा काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज विहान ९ बजेको तापक्रम ३.५ डिग्रीमा झरेको हो ।

हिजो यहाँको तापक्रम ४ डिग्री थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताइन् । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको उनले जानकारी दिइन् ।

पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकोमा आज थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही ८ पुसमा काठमाडौँको तापक्रम ४.९ रेकर्ड गरिएको थियो ।

१५ पुसमा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । १७ पुसमा तापक्रम घटेर ४.६ मा आएकोमा १९ पुसमा४.५ डिग्रीमा झरेको थियो ।

विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.३ डिग्री छ । १९ पुसमा जुम्लामा न्यूनतम तापक्रम माइनस ४.९ डिग्री थियो । २ दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डिग्रीमा झरेको छ । दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ ।

वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखलढुंगामा ४.९ बाट ४.३ मा झरेको छ ।
ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।

मौसम विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको बताउँदै यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँठाउँमा खोलाहरूमा समेत पानी जमेको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार