हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

१८ पुस, झापा।

जंगली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाका विभिन्न स्थानमा बिहीबार एकै दिन ३ वटा घरसहित लाखौँ रूपैयाँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

कमल गाउँपालिका– ३ बगाने टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका–७ डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित टंक बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातको समयमा घरभित्र पसेका ३ वटा हात्तीले कमल–३ का गणेश बस्नेतको मूलघर आंशिक रूपमा र भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । हात्तीले बस्नेतको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडावर्तन, फर्निचरसहित एक लाख रूपैयाँ बराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भद्रपुरका भट्टराईको घर र भान्साघर भत्काउँदा २२ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिर्तामोडका बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा ४५ हजार रूपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा रहेको ८ क्विन्टल धान र १ क्विन्टल चामल हात्तीले खाइदिएको थियो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार