Wednesday, December 24, 2025

शीतलहर बढेसँगै सतर्कता अपनाउन अपिल

९ पुस, काठमाडौँ।

तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले सबै निकायलाई अपिल गरेको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै न्यानो लत्ताकपडा र उपकरणलगायत सामग्री तयारी अवस्थामा राख्न र आवश्यक परेको खण्डमा तत्कालै वितरणको व्यवस्था मिलाउन तथा त्यसो गर्न नसकिएमा सम्बन्धित निकायसँगको समन्वयमा दाउराको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

साथै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचनाअनुरूप आवश्यक कदम चाल्न, शीतलहरबाट बच्न सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनिएको छ ।

प्राधिकरणले जोखिमपूर्ण संकटापन्न समुदायलाई आवश्यक परेको खण्डमा न्यानो हुनेगरी सार्वजनिक भवन, मठमन्दिर, घर इत्यादिमा राख्ने व्यवस्था मिलाउनसमेत भनेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार