३ पुस, काठमाडौँ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य–सचिवमा डा. नरेश सुवेदी दोहोरिएका छन् ।
निवर्तमान वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उनलाई सदस्य–सचिव नियुक्त गरेका हुन् । ठकुरी कोषका अध्यक्ष छन् । अध्यक्षले सदस्य–सचिव नियुक्त गर्ने प्रावधान छ ।
यसअघिको सरकारबाट बाहिरिए पनि पूर्वमन्त्री ठकुरी कोषका वहालवाला अध्यक्ष छन् । सदस्य–सचिवको कार्यकाल ५ वर्षको हो । कोषका वरिष्ठ कार्यक्रम निर्देशक सुवेदी डेढ वर्षअघि सदस्य–सचिव नियुक्त भएका थिए ।
उनको कार्यकाल हिजो (२ पुस) सम्म थियो ।
तत्कालीन सदस्य–सचिव शरदचन्द्र अधिकारीको नियुक्ती विवादमा तानिएपछि उनले राजीनामा दिएका थिए । रिक्त पदमा यसअघिका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले डा. सुवेदीलाई सदस्य–सचिव नियुक्त गरेका थिए ।
गैंडा विज्ञ सुवेदीले गैंडा, हिउँ चितुवा, हात्ती र बाघजस्ता ठूला जिवजन्तुको संरक्षण तथा अनुसन्धानका लागि नीतिगत तहमा कार्य गरेको अनुभव छ । उनी विभिन्न समयमा चितवन राष्ट्रिय निकुञ्ज, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अतिरिक्त अन्य संरक्षित क्षेत्रका वन्यजन्तुको विचरण क्षेत्रको स्थलगत अध्ययन अनुसन्धानमा खटेका थिए ।
कोषले सदर चिडियाखाना, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन सम्हाल्दै आएको छ । त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरूमा कोष अन्तर्गतका विभिन्न संरक्षण कार्यक्रम छन् ।





