Sunday, December 21, 2025

कतार प्रस्थान गरे खगेन्द्रप्रसाद र रूद्रकली

२ पुस, काठमाडौँ।

नेपालले कतारलाई उपहार स्वरूव २ वटा हात्ती प्रदान गरेको छ ।

खगेन्द्रप्रसाद र रूद्रकली नाम दिइएका हात्ती आज साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् । कतार एयरवेजको विशेष कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइएको हो ।

खगेन्द्रप्रसाद (भाले हात्ती) ६ वर्षको र रूद्रकली ७ वर्षकी हुन् । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका यी हात्तीलाई निकुञ्ज प्रशासनले स्याहार सुसार गर्दै आएको थियो ।

दुवै हात्ती कतार पठाउन मंगलबार (१ पुसमा) चितवनबाट विशेष कन्टेनर तथा ट्रकमा राखेर भैरहवा लगिएको थियो । यी हात्ती चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रको ‘ज्वाइँ’ कहलिएको जंगली हात्ती ‘रोनाल्डो’का सन्तती हुन् ।

६ वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा त्यहाँका राष्ट्रध्यक्षले नेपालका हात्ती र बाजबारे चासो लिएका थिए । तर कोरोना संक्रमणपछि यो विषय ओझेल परेको थियो ।

२ वर्षअघि (११ र १२ वैशाख २०८१ मा) कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो । सोही अनुसार मान्छेसँग निकट भएका हात्ती कतार पठाउने गृहकार्यमा नेपाल जुटेको वन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

खगेन्द्रप्रसाद र रूद्रकली कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानाको प्रदर्शनीमा रहनेछन् । हात्तीको नियमित स्याहार र हेरचाहका लागि नेपालले २ जना माहुते र १ जना पशु चिकित्सक पनि कतार पठाएको छ ।

माहुते र चिकित्सक त्यहाँका कर्मचारी र पशुचिकित्सकलाई हात्तीको स्याहारसुसार गर्न अभ्यस्त बनाएर मात्रै फर्किने बताइएको छ । कतारमा बसुन्जेल नेपाली माहुते र चिकित्सकको तलब र अन्य सुविधा कतार सरकारले व्यहोर्ने छ ।


ताजा समाचार

सम्बन्धित समाचार