३ पुस, काठमाडौँ।
आज (३ पुस) देखि राष्ट्रिय बाघ गणना सुरू भएको छ ।
बाघ गणनाका लागि १ सय ५० जना गणक कार्यक्षेत्रमा खटिएका छन् । चितवन निकुञ्जको त्रिवेणी, अमलटारी, कसरा, बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् ।
गणकहरूलाई यही १ र २ पुसमा तालिम दिइएको थियो । पहिलो चरणमा यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिनेछ । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखिएका छन् । चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न थालिएको हो ।
औसतमा २ वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना आरम्भ भएको हो । थापामगरले भने, ‘९ सय ५८ वटा ग्रिड बनाइने छ । एउटा भागमा दुई साता क्यामरा राखिनेछ ।’ करिब ३ महिनासम्म जारी रहने बाघ गणना क्रमशः बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि हुनेछ ।
बाघ ओहोर/दोहोर गर्ने सम्भावित मार्ग र क्षेत्र पहिचान गरेर स्वचालित क्यामेरा जडान गरिन्छ । यस्ता क्यामेरामा कैद भएका तस्बिर र बाघको शरीरमा भएका पाटाका आधारमा संख्या यकिन गरिने सूचना अधिकारी थापामगरले बताए ।
नेपालमा हरेक ४/४ वर्षमा बाघ गणना हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुने यस्तो गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल, नेपाली सेना र अन्य संरक्षण साझेदार संघ/संस्था सहभागी हुने गर्छन् ।
यसअघि (सन् २०२२)को गणनामा नेपालमा ३ सय ५५ वटा वयस्क बाघ पहिचान भएका थिए । त्यसबेला चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा वयस्क बाघ भेटिएका थिए ।





