२२ मंसिर, काठमाडौँ।
कालीकण्ठ सारस (ब्ल्याक नेक्ड क्रेन) ले नेपालमा पहिलो पटक बच्चा कोरलेको पाइएको छ ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यकामा यो पक्षीले बच्चा हुर्काउँदै गरेको तथ्य पुष्टि भएको हो । नेपाल पक्षी संरक्षण संघ (बीसीएन)को टोलीले लिमी उपत्यकाको निङ खोला छेउको समथर ठाउँमा हालै कालीकण्ठ सारसले बचेरासँगै भेटेको हो ।
बीसीएनका गिद्ध संरक्षण अघिकृत अंकितविलास जोशी र सिनियर रिसर्च अफिसर किरण गोसाईले माउँसगै एउटा बच्चा भेटेका हुन् । उनीहरूले ४ हजार ५ सय मिटर उचाइमा टेन्ट टाँगेर सो क्षेत्रका जिवजन्तुको अवलोकन गरेका थिए ।
४ दिनसम्म त्यही रहँदा २ दिनसम्म कालीकण्ठ सारसको जोडी बचेरासँगै भेटिएको टोलीले जनाएको छ । हिमाली क्षेत्रमा सारसले बच्चा हुर्काएको यो पहिलो आधिकारिक अभिलेख हो ।
यो प्रजातिको सारसको ठूलो संख्या तिब्बत, भारतको लद्दाख र भुटानमा पाइन्छ । हुम्लामा सन् २०१३ देखि कालीकण्ठ सारस देखिन थालेका हुन् । सो क्षेत्रमा वयस्क कालीकण्ठ देखिएको १२ वर्षपछि बच्चा हुर्काएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।
पानी, धाप र खोला छेउमा गुँड बनाएर ओथारो बस्ने कालीकण्ठले २ वटासम्म अण्ठा दिन्छ । भाले पोथीले बच्चा हुर्काउँछन् । नेपालमा यो पक्षी गृष्म आगन्तुकको सूचीमा छ ।
विश्वमा सारसका १५ प्रजाति अभिलेख भएका छन् । भारतमा ५ र नेपालमा ४ प्रजाति पाइन्छन् । नेपालमा पाइने क्रेनमा क¥याङ कुरूङ, लक्ष्मण, कालीकण्ठ र सारस अभिलेख भएका छन् । कालीकण्ठ भने फिरन्ते आगन्तुक हुन् ।





