Wednesday, September 3, 2025

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै

१६ भदौ, कञ्चनपुर ।
कञ्चनपुरसहित देशभर आजदेखि सप्ताहव्यापी १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

नेपाल पक्षी संरक्षण संघ (बीसीएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार संघसंस्थाको सहकार्यमा १६ देखि २२ भदौसम्म यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाइँदै छ । यस अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने गरिने छन् ।

बीसीएनका चराविज्ञ हिरूलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पक्षी संरक्षण संघ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एसोसिएसनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको छ ।

यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकहरुको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए । सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजाति गिद्ध रहेका उनले बताए ।

गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । मरेका तथा सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलन नदिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले कुचीकार भनिएको चराविज्ञ चौधरी बताउँछन् ।

उनका अनुसार गिद्ध आफैं सिकार नगरी केवल सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछन् । तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ ।

किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने, तथा आधुनिक कृषि उपकरणको प्रयोगका कारण पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ । साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरी आदिले गिद्धको बाँसस्थान नष्ट भइरहेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेन र फ्लुनिक्सिन जस्ता औषधि गिद्धको मृत्युका कारण बनेका छन् । नेपालमा पाइने गिद्धमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनद्वारा ‘अति सङ्कटापन्न’ श्रेणीमा राखिएका छन् भने गोब्रे गिद्ध ‘दुर्लभ’ अवस्थामा छ ।

यस्तै, राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा पाहुनाका रूपमा नेपाल आउने गर्दछन् । हिमाली गिद्ध नेपालको रैथाने भए पनि मुख्यतः जाडो महिनामा तराईमा देखिने गरिएको छ । गिद्ध संरक्षण दिवस पहिलोपटक अफ्रिकामा सन् २००५ देखि ‘राष्ट्रिय सचेतना दिवस’ का रूपमा मनाइँदै आएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस’ को रूपमा मनाउन थालिएको हो ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार