Thursday, October 16, 2025

मंसिरमा बाघ र गैँडा गणना हुने

११ भदौ, चितवन ।
गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक ४–४ वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मंसिरमा बाघ गणना सुरू गरिँदै छ ।

करिब ३ महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक गैँडा गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । एक महिना लाग्ने गैँडा गणना चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ ।

बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले १८ लाख रकम विनियोजन गरेको छ यसका लागि १ करोड ५० लाख रूपैयाँभन्दा बढी खर्च हुने गर्छ ।

फायल तस्बिर

गैँडा गणना गर्न २ करोड रूपैयाँ बढी खर्च लाग्नेमा हालसम्म १८ लाख रूपैयाँ विनियोजन भएको छ । बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

सो गणनामा चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ ।

बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा संख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने गर्दछन् ।

गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ भेटिएका थिए ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७ सय ५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको संख्या घटेर करिव १ सय को हाराहारीमा झरेको थियो ।

नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

नेपालमा सन् १९५० मा ८ सय, सन् १९५५ मा ४ सय, सन् १९६० मा ३ सय, सन् १९६५ मा १ सय, सन् १९७० मा १ सय ८, सन् १९७५ मा १ सय ४७, सन् १९८० मा ३ सय १०, सन् १९८५ मा ३ सय १०,सन् १९९० मा ३ सय ५८, सन् १९९५ मा ४ सय ६६ वटा गैँडाको तथ्यांक छ ।

त्यसैगरी सन् २००० मा ६ सय १२, सन् २००५ मा ४ सय ९, सन् २०१० मा ४ सय ३५ र सन् २०१५ मा ६ सय ४५ र सन् २०२१ मा ७ सय ५२ गैँडा फेला परेका थिए ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार