Wednesday, March 12, 2025

झापामा भेटियो बुंगे चरा, नेपालको नयाँ प्रजाति

२० फागुन, काठमाडौं
नेपालमा ‘पर्पल रम्प्ड सनबर्ड’ नामक नयाँ पक्षी अभिलेख भएको छ ।

झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘बैजनी बुंगे’ चरा भेटिएको हो । यही ७ फागुन र त्यसपछि विभिन्न मितिमा यो चराका भाले/पोथीसँगै देखिएका हुन् । झापाका वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले ७ फागुनमा, काठमाडौंका पक्षी अनुसन्धाताहरू सञ्जय था श्रेष्ठ, राजेन्द्र गुरूङ लगायतले पनि क्रमशः १५ र १७ फागुनमा यो चरा देखेका थिए ।

नेपालमा यसअघि देखिएका/भेटिएका बुंगे चराका प्रजातिहरूमध्ये ‘पर्पल रम्प्ड सनबर्ड’ नेपालका लागि पहिलो अभिलेख भएको नेपाल पक्षीविद् संघले जनाएको छ । संघको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुवेदीकाअनुसार मेचीनगरमा अभिलेख भएको सो पक्षीलाई नेपाली नाम ‘बैजनी बुंगे’ दिइएको छ ।

खरेलले सो चरा नेपालका लागि पहिलो हुन सक्ने ठहर गर्दै तस्बिर र अन्य तथ्यहरू पुष्टिका लागि कमिटिलाई पठाएका थिए । तथ्यहरू परीक्षण गर्दा ‘बैजनी बुंगे’ नेपालका लागि पक्षीहरूको सूचीमा नयाँ पुष्टि भएको सुवेदीले बताए । यससँगै नेपालमा अभिलेख भएका पक्षीहरूको आधिकारिक संख्या ८ सय ९८ पुगेको छ ।

‘बैजनी बुंगे’ भारत, बंगलादेश, श्रीलंका र म्यानमारको रैथाने हो । मुख्य आहरा फलफूल र फलफूलको रस भएकाले यो मानव वस्ती निकट विचरण गर्न रूचाउने स्वभावको हुन्छ ।

नेपालमा यसअघि ७ प्रजातिका बुंगे चराहरू पहिचान भएका थिए । प्याजीकाने बुंगेचरा, कालो बुंगे, कान्ति बुंगे, नेपाली बुंगेचरा, कालीकण्ठ, सिपराजा र लामपुच्छ्रे बुंगेचरासहित ७ प्रजाति अभिलेख भएकामा अब बुंगे चराहरूको सूचीमा ‘बैजनी बुंगे’ थपिएको अध्यक्ष सुवेदीले बताए ।

कोशी टप्पुमा पनि भेटियो
पक्षी अनुसन्धाताद्वय श्रेष्ठ र गुरूङले ‘बैजनी बुंगे’को अर्को जोडी आज विहान (२० फागुनमा) कोशी टप्पु वन्यजन्तु आरक्षमा भेटेका छन् ।

यससँगै नेपालमा यो पक्षीको दोस्रो अभिलेख कोशीमा भएको नेपाल पक्षी संरक्षण संघका पूर्व अध्यक्षसमेत रहेका गुरूङले बताए । आरक्ष कार्यालय परिसरसँगै एक जोडी भेटिएको बताउँदै उनले भने, ‘नेपालका लागि पर्पल रम्प्ड सनबर्डको पहिलो रेकर्ड मेचीनगरमा भयो यससँगै कोशी टप्पुमा नेपालका लागि दोस्रो र कोशीटप्पुका लागि पहिलो रेकर्ड पनि बनेको छ ।’

झापा र कोशी टप्पुमा भाले/पोथीसँगै भेटिएकाले यी जोडीहरूले नेपालमै वच्चा कोरल्न सक्ने गुरूङको ठहर छ । मेचीनगर र कोशी टप्पुमा घर करेसा आसपासमा जोडीसँगै देखिएकाले विचरणका लागि मानव वस्ती यो पक्षीलाई नौलो नभएको उनले बताए ।

कोशी टप्पु आगन्तुक र रैथाने पक्षीहरूको ‘राजधानी’ मानिन्छ । यहाँ यसअघि पाहुना र रैथानेसहित पक्षीका ५ सय ३५ प्रजाति अभिलेख छन् ।

ताजा समाचार

सम्बन्धित समाचार