Thursday, October 24, 2024

लापर्वाही गर्ने ठेकेदारको विवरण संकलन गरिदैं

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सुची एक हप्ताभित्र पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले यस्तो सूची बनाउन निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनानुरुप आज मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई पठाएको परिपत्रमा भनिएको छ, ‘जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र तयार गरी मन्त्रालयमा सफ्ट कपीसहित पठाउने ।’ मन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी र ठेकेदारलाई समय सीमा दिएर काम सम्पन्न गर्न समय दिँदै सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्न निर्देशन दिएका थिए ।रासस

ताजा समाचार

सम्बन्धित समाचार