Saturday, July 27, 2024

स्वतन्त्र सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

९ जेठ, (भनिमण्डल) ललितपुर

वर्तमान सरकार रेडियो सगरमाथाजस्ता स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनाको लागि सदैब प्रतिबद्द रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामाना सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन् ।

दक्षिण एसियाकै पहिलो स्वतन्त्र, सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफ.एम १ सय २ थोप्लो ४ मेगाहर्जको २८औँ स्थापना दिवसको जानकारी पाउँदा आफूलाई खुसी लागेको उनले बताए । रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले रेडियो सगरमाथाले सूचना सम्प्रेषणका क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहेको चर्चा गरेका छन् । शुभकामना सन्देशमा उनले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामुलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको प्रवर्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरेका छन् ।

त्यसैगरि प्रधानमन्त्री प्रचण्डले मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनको समाधानका उपाय समेत जनतासम्म पुर्याउन रेडियो सगरमाथाको भूमिका अझ सशक्त हुने अपेक्षा गरेको समेत जारी शुभकामना सन्देसमार्फत व्यक्त गरेका छन् । रेडियो सगरमाथाले आज जेठ ९ गते आफ्नो २८औँ स्थापना दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार