Thursday, October 24, 2024

फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने

कठमाडौं– जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स (सोफेन) को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तीनै संस्थाका प्रमुखहरुले यसको जानकारी दिएका हुन् ।
कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले सम्मेलनबाट पारित संकल्पहरु नेपालको सन्दर्भमा निकै सान्दर्भिक भएको बताउँदै तिनको कार्यान्वयनको लागि स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनका चुनौति र सरल एवम् वैज्ञानिक उपायका बारेमा जानकारी दिने उद्देश्यले एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिने बताए ।
उनले सम्मेलनका संकल्प सहितका सन्देश तथा जल,वातावरण र जलवायु परिवर्तनका स्थानीय मुद्दाहरुको समाधानका लागि राष्ट्र व्यापी अभियान सञ्चालन गरिने पनि जानकारी दिए । अध्यक्ष साहका अनुसार यस अभियान अन्तरगत पहिलो चरणमा नगरपालिकाको नेतृत्व र सरसफाईको क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई जागरुक गरिनेछ ।

यसको लागि मानव मल—मूत्रीय फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक ज्ञान र अनुभवको आदानप्रदान,जनचेतना अभिबृद्धि तथा नीतिगत,संस्थागत,नियामक खाका सम्बन्धी जानकारी दिने र सरोकारवालाको राय पनि लिने उद्देश्यले ७ वटै प्रदेशका नगरपालिका प्रमुखहरु तथा संबन्धित उपभोक्ता समितिका अध्यक्ष एवम् सरोकार वालाहरुको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरिदैछ । नगरपालिकाका इञ्जिनियर÷प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुको ३ दिने मानव मल—मूत्रीय व्यवस्थापन एवम शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार