Thursday, October 24, 2024

देशभर वर्षासँगै हावाहुरी, अझै केही दिन मौसम बदली हुने

काठमाडौं– आइतबार राति देशभर अविरल वर्षासँगै आएको हावाहुरीका कारण विभिन्न जिल्लाको जनजीवन कष्टकर वनेको छ ।

हावाहुरीका कारण कैलाली गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको मृत्यु भएको छ ।

इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए ।

आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ ।

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापले वर्षाका कारण मन्थली डुबानमा परेको बताएको छ । मन्थली नगरपालिका १ रणजोर खोलामा आएको बाढीले बगाएका १५ जनालाई स्थानीय र प्रहरीले उद्धार गरेको छ ।

पहिरोकै कारण मन्थली जोड्ने सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको प्रहरीले बताएको छ ।

काभ्रेको रोसी गाँउपालिकास्थित माम्ती खोलामा पनि बाढी आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरीे अविरल वर्षाका कारण पाल्पाको तिनाउ गाउँपालिका हेट्बक्समा पहिरो जाँदा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका ८ मा रुख ढलेर सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बाँके र बर्दियाको विभिन्न भाग डुबानमा परेको प्रहरीले जनाएको छ । हावाहुरी तथा डुबानले गरेको क्षतीको एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर आठ घरमा क्षति

वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।

चट्याङले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको छ ।

केही दिनमा मौसम सुधार हुने

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले मौसममा सुधार हुना अझ केही दिन लाग्ने बताएका छन् ।

उनले आज पनि छिनछिनमा घाम लाग्ने र पानी पर्ने क्रम जारी रहने बताएका छन् । ‘छिन् छिन्मा पानी पर्ने घाम लाग्ने क्रम यो हप्ता जारी रहन्छ,’उनले भने ‘पूर्ण घाम लाग्दैन । मौसम बदली रहन्छ ।’

उनले तराईको मौसममा केही सुधार भएपनि पहाडी क्षेत्रमा भने मौसम बदली हुने बताएका छन् । ‘तराई क्षेत्रमा मौसम सुधार हुन्छ तर पहाडी भेगमा भने मौसम बदली रहन्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार