Thursday, October 24, 2024

यार्सा संकलन शुरु,विद्यालय बन्द

बझाङ – सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन । तर यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द छन् ।
यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।
उनले भने, ‘यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।’
यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए ।

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको जानकार बताउँछन् । यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार