Thursday, October 24, 2024

सगरमाथा आरोहरण शुरु

काठमाडौं –यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ ।
आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी दिए ।
सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतवार दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।
अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले वताए ।
“धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन, भोलिबाट धमाधम आरोहरणमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,”उनले भने ।

आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठले जानकारी दिए ।
सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार