Wednesday, October 23, 2024

ताल संरक्षण योजना बनाउने निर्णय

काठमाडौं – संकटमा रहेका तालहरुको संरक्षण गर्न योजना बनाउने निर्णय सहित अन्तर्राष्ट्रिय ताल सम्मेलन सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न दुई दिने सम्मेलनले पाँच बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । राष्ट्रिय ताल संरक्षण विकास समितिको आयोजनामा भएको सम्मेलनका क्रममा ताल संरक्षणलाई सघाउने प्रविधीको विकास गर्ने योजना बनाउने घोषणापत्रमा उल्लेख छ ।

पाँचबुँदे घोषणापत्रमा ‘ताल तथा तालका स्रोतहरुको दिगो व्यवस्थापनको लागि अन्तराष्ट्रिय ताल वातावरण समिति मञ्चको सहकार्यमा एकिकृत ताल बेसिन ब्यवस्थापनको कार्यान्वयन गर्ने’ उल्लेख छ । ताल तथा स्रोतको बुद्धिमतापूर्ण प्रयोगको लागि प्रत्येक प्रदेशमा नमुना दिगो परियोजनाको विकास गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।

ताल तथा यसका स्रोतहरुको सुधारयुक्त ब्यवस्थापनका लागि सरकारी, गैरसरकारी, संघसंस्था, सामुदाय, समुदायहरुको सम्बन्ध स्थापित गर्न राष्ट्रिय सहयोगको सम्बन्धको सवलीकरण गर्ने र सम्पूर्ण पर्यावरणीय क्षेत्रहरुको प्रतिनिधित्वसहित तालहरुको जोखिम र इन्भेन्ट्री तयार गर्न विशेष परियोजनाको कार्यान्वयन गर्ने घोषणा गरिएको छ । घोषणापत्रको पाँचौ बुँदामा कार्यमुखी अनुसन्धानको लागि युवा अनुसन्धानकर्तालाई सहयोगको विशेष अनुदान योजना पनि छ ।

नेपाल, भारत, चीन, जापान, म्यानमार, बंगलादेश, श्रीलंका, लगायतका देशहरुको सहभागिता रहेको सम्मेलनमा ताल सम्बन्धि २१ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा ताल संरक्षणमा विभिन्न देशले चालेका कदम तथा समस्याहरुबारे छलफल भएको थियो ।

समापन समारोहमा बोल्दै प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पोखराको नौवटा ताल प्रदेशको समृद्धिसँग जोडिएको बताए । उनले ऐन कानुनको अभावमा राज्यशक्तिको कमजोरीको फाइदा उठाएर ताल अतिक्रमण गरिएको बताए ।

ब्यवस्थित नीति बनाएर ताल संरक्षण र ब्यवस्थापन गरी पर्यटनलाई आर्थिक गतिविधिसँग जोडेर अघि बढ्नु पर्छ,’ उनले भने , ‘अब घरआँगनमै सरकार भएकाबेला सिंहदरबारतिर औँला देखाएर उम्कीन मिल्दैन भन्दै समावेशी, समानुपातिक लोकतन्त्रबाट अब आफ्नो क्षेत्रको विकासमा आफैँ लाग्नु पर्ने छ । ’

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश कानुनमा ताल संरक्षण नीति निर्माण गरेर ताल संरक्षणमा जोड दिने बताए । अग्रजले संरक्षण गरिरहेका ताल तलैया हामी नयाँ पुस्ताबाट मासिदै गएको भन्दै अब बेलैमा सोचेर संरक्षणमा पहल गर्नुपर्ने वताए ।

राष्ट्रिय ताल संरक्षण विकास समितिका अध्यक्ष नानीकाजी थापाले दुई दिने अन्तर्रा्ष्ट्रिय ताल सम्मेलन उपलब्धि पूर्ण रहेको बताए । उनले घोषणा पत्रका बुँदालाई कार्यान्वयनमा जोड दिएर ताल संरक्षणको लागि पहल गरिने जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार